नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन मिति नजिकिँदैछ । यसपटक ६ असारमा नयाँ नेतृत्वका लागि एन्फा चुनाव हुन लागेको हो । चुनावी मैदानमा अघिल्लोपटक एउटै प्यानलबाट जितेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ छन् । शेर्पा वर्तमान एन्फा अध्यक्ष र नेम्वाङ वरिष्ठ उपाध्यक्ष हुन् । अघिल्लोपटक मिलेर चुनाव जितेका शेर्पा र नेम्वाङबीचको भिडन्त रोचक हुने अनुमान छ । शेर्पा लगातार दोस्रोपटक चुनाव जित्दै एन्फाको नेतृत्व लिन चाहन्छन् । नेम्वाङ पनि अध्यक्ष जित्न पूरा तयारीका साथ लागेका छन् । दुवैजना लामो समयदेखि नेपाली फुबटलको समस्यासँग नजिक छन् । तर, उनीहरूमाथि पहिलो कार्यकालमा आफ्नो एजेण्डाअनुरूप काम गर्न नसकेको आरोप लाग्छ । यसैबीच, चुनाव केन्द्रित रहेर फेरि एन्फा अध्यक्षमा दोहोरिन खोजेका शेर्पासँगफरकधारकर्मी लोकेश धामीले कुराकानी गरेका छन् :
दोस्रो कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ, किन दोहोरिन चाहनुभयाे?
हामीले सुरुवात गरेका धेरै काम बाँकी छन् । ती कामलाई पूरा गर्न, गरेका कामलाई निरन्तरता र स्थायित्व दिनका लागि नै दोहोरिन चाहेको हो । फुटबललाई आर्थिकरूपमा सबलीकरण गर्ने, व्यावसायिकतातर्फ उन्मुख गराउने हाम्रो अभियान छ । त्यसलाई मूर्तरूप दिन, पूर्वाधार निर्माणका लागि धेरै पोजेक्टहरू बनिरहेका छन् । ती प्रोजेक्टलाई पूरा गर्ने, युथ, ग्रास रुट प्रोग्रामलाई थप व्यवस्थित गर्ने प्लान छ । साथै, यी कार्यक्रमलाई निरन्तरता दिनका लागि योजना बनाउन, फुटबल क्लब, जिल्लाहरूलाई आर्थिकरूपमा सबल बनाउन, बाँकी रहेका ट्रेनिङ सेन्टरहरूको निर्माण पूरा गर्न, अखिल नेपाल फुटबल संघको हरेक कामलाई डिजिटलाइज्ड गर्नेलगायत काम पूरा गर्न पुनः एन्फामा आउन खोजेको हो ।
आफ्नो पहिलो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ?
कोभिडको जतिसुकै प्रभाव परे पनि हामीले राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितालाई निरन्तरता दिने काम गर्यौं । हामी निर्वाचित हुनुभन्दा अगाडि लिगहरू सञ्चालन भएका थिएनन् । जब हामी आयौं त्यसपछि ‘ए’, ‘बी’, ‘सी’ डिभिजन लिगको आयोजना गर्यौं । अहिले धेरै खेलाडी उत्पादन हुनुको कारण पनि लिगहरू सञ्चालन हुनु नै हो । आउने दिनहरूमा लिगलाई व्यवस्थित, एन्फा क्यालेन्डरलाई चुस्तदुरुस्त बनाउने, क्यालेन्डर चेन्ज नहुने खालको कार्यक्रम बनाउने । सबै पक्षसँग सल्लाह गरेर दीर्घकालिन अपरेसन क्यालेन्डर पनि बनाउँछौं ।
तपाइँले पहिलो कार्यकालमा गरेका काम बुँदागत रूपमा भन्दा के–के हुन्?
पहिलो कार्यकाल धेरै उपलब्धिमूलक भएको महसुस गरेको छु । हामीले चार वर्षको अवधिमा महिला–पुरुष गरी ७० अन्तर्राष्ट्रिय खेलमा भाग लिन र आयोजना गर्न सफल भयौं । महिलामा चार अन्तर्राष्ट्रिय प्रतियोगितामा हाम्रो टोली उपविजेता बन्यो । पुरुषतर्फ साउथ एसियन गेममा गोल्ड मेडल जित्यौं । थ्री नेशन्सको च्याम्पियन भयौं । साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सफल पुग्यौं । यो पनि इतिहास रचेको अवस्था छ । हाम्रो टोली महिला ओलम्पिकको दोस्रो चरणमा पुग्न पनि सफल भयो । एएफसी यू–१९ को दोस्रो चरणमा पनि पुग्न सफल भयौं । यो पनि उपलब्धि नै हो । हाम्रै पालामा ग्रास रुट ग्रोथ मेम्बरसिप प्राप्त भयो । बी लाइसेन्स कोचिङ कोर्स गर्न पाउने मान्यता पाएका छौं यो पनि नेपालका लागि नयाँ इतिहास नै हो । पोखरामा ‘एक्सिलेन्ट सेन्टर’ बनाउने जुन प्रोजेक्ट छ त्यसको डीपीआर, इआइए सकाएर टेन्डरको प्रक्रियामा अगाडि बढिसकेको छ । त्यति मात्र होइन जिल्लाजिल्लामा ट्रेनिङ सेन्टर बनाउने कामहरू पनि सुचारु गर्नुपर्ने अवस्था छ । पहिलोपटक ‘ए’ डिभिजन फुटसलको खेल लाइभ देखायौँ । साथै, यो सालको लिगको खेलहरू फ्लड लाइटमा सञ्चालन पनि गर्न सफल भयौं । लिगको ९२ म्याचमा ७२ खेल त हामीले टेलिभिजनबाट लाइभ देखायौँ । यसरी हेर्दा चार वर्ष सफल भएको मानेका छौं ।
यिनै हुन् यसपालि चुनाव जित्ने आधार?
कामको मूल्यांकनको आधारमा जित्छु । साथीहरूले मैले गरेको काम नजिकबाट हेर्नु भएको छ । म नेपाली फुटबलका लागि कति आवश्यक मान्छे हुँ भनेर उहाँहरू सबैलाई थाह छ । क्षेत्रीयताको आधारमा, जातियताको आधारमा, आर्थिक कारणले भोट कसैलाई दिनुहुन्न । अनुभवी, उसको कार्यक्षमताको आधारमा नै भोट दिनुपर्छ । मलाई आशा छ साथीहरूले सही व्यक्तिलाई छान्नु हुनेछ ।
अघिल्लोपटक एउटै प्यानलबाट चुनाव लडेका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग यसपालि अध्यक्षका लागि भिड्दै हुनुहुन्छ, यो क्षणलाई कसरी लिनुहुन्छ?
यो विषयलाई म सामान्य ढंगले लिन्छु । किनभने हामी आइसकेपछि एन्फामा निर्वाचन भयो । यो पनि राम्रो कुरा हो । निर्वाचन हुनुपर्छ, डेमोक्रयाटिक एक्सरसाइज हुनुपर्छ, स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ, एजेण्डाका साथमा प्रतिस्पर्धा हुनुपर्छ । एजेण्डाका साथ प्रतिस्पर्धा नगर्दा मान्छेले पत्याउँदैनन् । यो अवस्थालाई फुटबलको ९० मिनेटको म्याचजस्तै लिनुपर्छ । अर्थात् सामान्य ढंगले लिनुपर्छ, जसले जित्छ उसले फुटबल संघ चलाउँछ ।
दोस्रोपटक पनि एन्फा अध्यक्षमा विजयी हुनु भएमा कुन–कुन विषयलाई प्राथमिकतामा राख्नुहुन्छ?
पहिलो कार्यकालमा गर्न बाँकी र भइरहेका कामलाई प्राथमिकता दिन्छु । साथै, अखिल नेपाल फुटबल संघको प्रशासनलाई चुस्तदुरुस्त, व्यावसायीकरण प्रशासनको रूपमा विकास गर्छौं । साथै, आर्थिक पारदर्शिताको विषयलाई पनि जोड दिनेछौँ । त्यस्तै, पूर्वाधारको कुरामा जिल्ला र क्लबको ट्रेनिङ सेन्टर, एक्सिलेन्स सेन्टर निर्माण गर्ने काम, लिगहरू सञ्चालन गर्ने कामलाई पनि उच्च प्राथमिकतामा राख्नेछौँ । १२ महिना नै नेपाली फुटबललाई व्यस्त बनाउने काम गछौं ।
एन्फामा राजनीति बढी भयो, त्यसको असर खेलाडीमै पर्यो भन्ने गुनासो छ । निर्वाचित भएमा त्यो गुनासो दोहोरिन नदिन के गर्नुहुन्छ?
एन्फा गतिशील संस्था हो । डेमोक्रयाटिक एक्सरसाइज भएको छ । हिजो कसैले बोल्दैनथ्यो आज सबैलाई बोल्ने बानी भएको छ । यो चाहिँ राम्रो कुरा हो । मान्छेलाई बोल्ने अधिकारबाट कुण्ठित गर्नु हुँदैन । खेलाडी, रेफ्री, प्रशिक्षक, क्लबदेखि लिएर सबैलाई नेपाली फुटबलको हितको विषयमा बोल्ने अधिकार छ बोल्नुपर्छ । नियतसंगत ढंगले समाधान गर्ने काममा हामी लाग्छौं । अधिनायकवादी शैलीमा मान्छेलाई बोल्ने अधिकारबाट चाहिँ बञ्चित गर्ने काम हामीबाट चाहिँ हुन्न ।
एसियन कप छनोट र चुनावपछि मुख्य प्रशिक्षक परिवर्तन गर्ने भन्ने कुरा पनि यो विषयलाई चाहिँ कसरी समाधान गर्नुहुन्छ?
प्रतिवेदनको आधारमा कार्यसमितिको बैठक बसेर व्यापक छलफल गर्छौं । अनि निश्कर्ष निकाल्छौँ । कार्यसमितिले जे निर्णय गर्छ, त्यही हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।