नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गर्दा नेकपा माओवादी केन्द्रलाई सबैभन्दा बढी फाइदा भएको निष्कर्ष निकालेको छ ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल संयोजक रहेको मूल्यांकन समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार माओवादीले ६९ पालिकाका प्रमुखमा जित कांग्रेससँगको गठबन्धनका कारण जित निकालेको हो । यसका लागि नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पनि भोटको सहयोग रहेको यो समितिले निष्कर्ष निकालेको छ ।
माओवादी केन्द्रले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा १ सय २१ पालिकामा प्रमुखमा जित हासिल गरेको छ ।
कांग्रेसको यो प्रतिवेदनलाई आधार मान्ने हो भने स्थानीय तह निर्वाचनमा गठबन्धन नभएको भए माओवादी केन्द्र ५२ पालिकामा मात्र सिमित हुने थियो ।
पाँच दलीय गठबन्धन भएका ३ सय २४ पालिकामध्ये ८१ पालिकाको प्रमुखमा माओवादीले उम्मेदवार उठाएको र ६९ पालिकामा जित हासिल गरेको यो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार कांग्रेसले २०९ पालिका प्रमुखमा गठबन्धन गर्दै उम्मेदवारी दिएको थियो । तर, कांग्रेसले १ सय २८ पालिकामा मात्र जित हासिल गरेको छ । जसपाले गठबन्धनका तर्फबाट ३ पालिका प्रमुखमा उम्मेदवारी दिए पनि २ पालिकामा मात्र उसले जित हासिल गरेको छ । जसपाका उम्मेदवार जनकपुर उपमहानगरपालिकामा पराजित भए । त्यहाँ कांग्रेसका बागी उम्मेदवार मनोज साह निर्वाचित भएका छन् ।
स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दै २७ ठाउँको पालिका प्रमुखमा उम्मेदवारी दिएको नेकपा एकीकृत समाजवादीले भने १३ स्थानमा मात्रै सफलता हासिल गरेको छ । जनमोर्चाले चाहिँ ४ स्थानमा पालिका प्रमुखमा उम्मेदवारी दिएको थियो, ती सबै स्थानमा जित निकालेको छ ।
उपप्रमुखमा पनि कांग्रेसले ८५ वटा जित निकाल्दा माओवादी केन्द्रले ७९ वटा जित निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यही प्रतिवेदनमा यो समितिले पार्टीलाई २२ बुँदे सुझाव पनि दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।