अस्तव्यस्त राजर्षि जनक विश्वविद्यालय : पेपर कन्ट्रयाक्ट शिक्षकको भरमा पठनपाठन, करार शिक्षक निजी क्याम्पस धाउँदै ठिक्क

करिब दुई दशक लामो प्रयासपछि राजर्षि जनक विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक संसदबाट पारित भएसँगै मधेस प्रदेशमा सो विश्वविद्यालय स्थापनाको बाटो खुलेको थियो । ०७४ असोज २६ गते संसदबाट सो विधेयक सर्वसम्मतिले पारित भएको थियो ।

राजर्षि जनक विश्वविद्यालयको स्थापनासँगै जनकपुरधाममा रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसलाई आधार क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता क्याम्पस र सप्तरीस्थित विन्देश्वरी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पसको रुपमा लिएर काम पनि अगाडि बढाइयो । 

तर, विश्वविद्यालय स्थापना भएदेखि नै त्यहाँको अवस्था अस्तव्यस्त रहेको छ । कहिले पेपर कन्ट्रयाक्टमा राखिएका उपप्राध्यापकको आन्दोलन त कहिले विद्यार्थीको आन्दोलनका कारण विश्वविद्यालय शिक्षाको नभई विवादको कृडास्थलको रुपमा परिणत हुँदै गएको छ ।

राजर्षि जनक विश्वविद्यालयको स्थापनाकालमा विशेष व्यवस्थासहित ५ जना शिक्षक करारमा नियुक्त गरिए पनि उनीहरु विश्वविद्यालयभन्दा पनि अन्य नीजि शैक्षिक संस्थामा बढी सक्रिय रहेको पाइएको छ ।


 
विश्वविद्यालयमा कार्यरत एक कर्मचारीले उनीहरु विनाअनुमति अन्यत्र खटेको र विश्वविद्यालयलाई मासिक तलब खाने भाँडोको रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
 
उनले भने, ‘पूरा समय विश्वविद्यालयलाई दिनुपर्ने भए पनि उनीहरु भिसी र रजिस्ट्रारको नजिकका मान्छेहरु भएकाले कसैले कारबाही गर्न सकेका छैनन् । यस विश्वविद्यालयको सम्पूर्ण कक्षा भार पेपर कोर्स कन्ट्रयाकट शिक्षकहरुले लिएका छन् ।’ 

यदि पेपर कन्ट्रयाक्ट शिक्षकहरु नभएको भए यस विश्वविद्यालयको पठनपाठन एक कदम पनि अगाडि बढ्न नसक्ने उनको दावी छ । 



परीक्षा, पाठयक्रम, भ्रमण, दैनिक क्रियाकलाप, सहजकर्ता आदि सबैको भूमिकामा पेपर कन्ट्रयाक्ट शिक्षक नै रहे पनि उनीहरुलाई करार तथा स्थायी शिक्षकले अर्कै नजरबाट हेरिरहेको पेपर कोर्स कन्ट्रयाक्ट शिक्षक संघका सभापति दिलीप यादवको दुःखेसो छ । कुनै अतिरिक्त भत्तासमेत नदिने गरेको उनको गुनासो छ । 

यो विश्वविद्यालय पेपर कोर्स कन्ट्रयाक्ट शिक्षककै भरमा चले पनि करार र स्थायीको बाहुल्य रहेको संकायमा दिन प्रतिदिन विद्यार्थीको संख्या घटिरहेको उनी सुनाउँछन् ।



कम शुल्कमा गुणस्तरीय शिक्षा दिने यस थलोमा शिक्षकहरुको सही किसिमबाट व्यवस्थापन गरी यस संस्थालाई मधेसकै सानको रुपमा विकास गर्नु जरुरी रहेको उनी बताउँछन् । 

राजर्षि जनक विश्वविद्यालयमा एलएलबी, बिबिए, बिसिए, बिएससीआइटी, बिएमएलटी, बिपिएच र एमबिएको पठनपाठन हुँदै आइरहेको छ ।

  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १८:४९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया