Mon, 21 Jan, 2019


के राजतन्त्र फर्किएला कि भन्ने आशङ्कामा छन् ओली–प्रचण्ड ?
फरकधार / पुस २६, २०७५

काठमाडौं– केही समययता नेपाल कम्युनिस्ट पार्टीका दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्तव्य तथा भाषणहरुमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउन थालेका छन् ।

केही दिनअघि बुटवलमा आयोजित एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित हुँदै प्रचण्डले भनेका थिए, ‘पूर्वशासकहरु कुनै न कुनै रुपले जनता उक्साएर कमजोर पार्छन् र आफूलाई सत्तासिन गराउन वा पुनस्र्थापना गर्न निरन्तर लागिरहन्छन् ।’

बिहिबार प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा एक कार्यक्रममा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्दै भनेका थिए, ‘पृथ्वीनारायण शाहसँगको साइनो भजाएर राजतन्त्र फर्किन्छ भन्ने नसोचे हुन्छ, राजतन्त्र पुनस्र्थापनाको सपना देख्ने प्रतिगामी हुन् ।’

राजसंस्थाको अन्त्य भएर नेपालमा गणतन्त्र आएको यतिका वर्ष भइसक्यो । तर, जब राजसंस्थासँग सम्बन्धित कुनै तिथिमिति आउँछन्, महत्वपूर्ण पदमा आसिन नेताहरु नै राजतन्त्रको प्रसङ्ग उठाउँछन् । 

‘यसको कारण एक त गणतन्त्र संस्थागत नहुनु हो र अर्को चाहिँ नेताहरुको मनमा भएको संशय अझै पनि अन्त्य नहुनु हो,’ नेपाल कम्युनिस्ट पार्टीनिकट एक राजनीतिक विश्लेषक भन्छन्, ‘पछिल्लो समय हाम्रा नेताहरुमा आफूहरुले राजतन्त्रमा हुँदा जस्तो काम गर्न नसकेको महसुस भएको पनि हुनसक्छ । तर, राजसंस्था फेरि फर्किने कुरा असम्भव हो, बगिसकेको खोला फेरि फर्किँदैन ।’

तर, पछिल्लो समय नेपालमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी बाहेक अन्य पार्टीमा पनि राजतन्त्रबारे बहस सुरु हुन थालेको छ । केही समयअघि सकिएको नेपाली कांग्रेसको महासमिति बैठकमा पनि अप्रत्यक्ष रुपमा राजसंस्थाको प्रसङ्गको चर्चा भयो । कांग्रेसमा डा. शशांक कोइरालाले हिन्दूराष्ट्र पुनस्र्थापना गर्नु पर्छ भन्ने बहस सुरु गर्नुको पछाडि राजतन्त्र फिर्ता गर्ने कि भन्ने विषयमा बहस सुरु गर्न थालेको अनुमान धेरैले गरेका छन् ।

अर्को पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि हिन्दूराष्ट्र पुनस्र्थापनालाई प्रमुख मुद्दा बनाएर कार्यक्रम गर्ने घोषणा गरिसकेको छ ।

नेपाल कम्युनिस्ट पार्टीमा माओवादी खेमाबाट आएका कतिपय नेताहरु विप्लव समूहभित्र एउटा पक्षले राजतन्त्रबारे बहस सुरु गरेको सूचना आफूहरुले पाएको भन्दै गाइँगुइँ कुरा गर्न थालेका छन् । ‘नेपालको सन्दर्भमा राजसंस्था नै पो ठिक हो कि भन्ने बहस विप्लव पार्टीमा पनि चल्न थालेको छ भन्ने मैले सुनेँ,’ नाम नलेख्न अनुरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीका एक नेताले भने, ‘यो आवश्यक बहस त होइन, तर अहिलेको सन्दर्भमा जताततै यही बहस चल्न थालेको देखेर अचम्ममा परेको छु ।’

यो विषयमा प्रचण्ड निकट एक नेता नेपालमा संघीयताको अन्त्य र राजतन्त्र फर्किने विषयमा बहस चलाउनु नेकपाभित्र पूर्वमाओवादी नेताहरुलाई नैतिक रुपमा कमजोर बनाउन खोज्ने षडयन्त्र पनि हुनसक्ने आशङ्का गर्छन् ।

‘यी दुवै एजेन्डा मूलतः हिजोका माओवादीका हुन्,’ उनले भने, ‘भोलि नेपालमा राजतन्त्र फर्कियो वा संघीयतालाई हामीले स्थापित बनाउन सकेनौँ भने हार माओवादीकै अजेन्डाको हुने, र क्षति सबै प्रचण्डलाई मात्रै हुने अनुमान हाम्रै पार्टी भित्र पनि भएका छन् ।’

‘यो बडो आश्चर्यको कुरा हो,’ उनले प्रचण्डले केही दिनअघि एउटा भेटमा देखाएको चासोबारे सम्झँदै भने, ‘अहिले हाम्रै पार्टीका शीर्ष नेता पनि राजा आए पनि हुने चाहिँ के हो र भन्ने खालका अभिव्यक्ति दिइरहेका छन्, उनीहरुलाई यसले पार्ने असर चाहिँ प्रचण्डलाई मात्र हो जस्तो लागेको छ ।’ यस्ता तर्क र अभिव्यक्तिले आफू आश्चर्यमा परेको प्रचण्डले बताएको ती नेताले उद्धृत गरे ।

त्यसो त प्रचण्डले कास्कीको सिक्लेसमा पुगेर पनि पूर्वराजा ज्ञानेन्द्रको प्रसङ्ग निकाल्दै भनेका थिए, ‘शासहरुलाई हामीले बिर्सेका छैनौँ, आजभोलि उनीहरु केका लागि होटलहोटलमा नाचदै हिँडेका हुन् ?’ यसको प्रत्युत्तर त उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एक कार्यक्रम मार्फत् दिएका थिए, ‘ज्ञानेन्द्र शाह नाच्दा गणतन्त्र हल्लियो !’

प्रचण्डको बारम्बार पूर्वराजाबारे आइरहेका यस्ता अभिव्यक्तिले नेपाल कम्युनिस्ट पार्टीभित्र बहस निम्त्याएको छ । तर, प्रचण्डले पार्टी एकतापछि आफूलाई राजनीतिको केन्द्रमा नै राख्ने दाउमा यस्ता अभिव्यक्ति दिएको हुनसक्ने अनुमान गर्नेहरु पनि छन् ।



यो पनि नछुटाउनुहोस्