एकीकृत समाजवादीका मन्त्रीहरुले प्रधानमन्त्रीलाई भने– चुनाव घोषणा गरौँ, मन्त्रिपरिषद् फेर्न पर्दैन

नेकपा एकीकृत समाजवादीका सरकारमा रहेका मन्त्रीहरुले आफूहरुलाई मन्त्री पदबाट हटाएर मन्त्रिपरिषद् पुनर्गठन नगर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । उनीहरुलाई पार्टीले हटाउने भन्दै केही दिनअघि नै फिर्ता बोलाइसकेको थियो । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीले यसअघि नै गरेको निर्णयअनुसार उनीहरुलाई फिर्ता बोलाइएको र यसलाई सामान्य प्रक्रियाका रुपमा लिनु पर्ने अडानमा कायम छन् । तर, उनी र उनको पार्टीले गरेको निर्णयलाई उनकै पार्टीका मन्त्रीहरुले अवज्ञा गरेका छन् ।

यसअघि मन्त्रीहरुलाई तत्काल फिर्ता गराउने विषयमा नेकपा एकीकृत समाजवादीका नेताहरुमा सहमति जुटेको थियो । तर, मन्त्रीहरुले नै यस विषयमा प्रधानमन्त्री देउवासँग गुनासो गरेपछि केही समयमा लागि यो रोकिएको हो । 

‘उहाँहरुलाई पार्टीले फिर्ता बोलाउने निर्णय गरे पनि उहाँहरुले राजीनामा दिनु भएन बरु प्रधानमन्त्रीलाई संसदबाट आगामि आर्थिक वर्षको बजेट पारित गरेपछि मात्र मन्त्रिपरिषद् हेरफेर गर्दा ठिक हुने सल्लाहसमेत दिनुभयो,’ नेपाली कांग्रेसमा प्रधानमन्त्री देउवासँग निकट एक नेताले फरकधारलाई बताए, ‘यसले गर्दा उहाँहरु फेरिने प्रक्रिया रोकिएको हो ।’

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई रिप्लेस गरेर सरकारमा सहभागी हुने भनिएका नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बुधबार मात्र पनि आफूहरुको सपथ ग्यारेन्टीका साथ बिहीबार हुने बताएका थिए । तर, बिहीबार पनि नेकपा एकीकृत समाजवादी पार्टीका नयाँ मन्त्रीहरुको सपथ हुन सकेन ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गठबन्धनको सरकार भए पनि नेकपा एकीकृत समाजवादीले चाहेपछि मन्त्रीहरु फेरिनुलाई सामान्य भएको बताएका थिए । कतिसम्म नेपालले सरकारमा सहभागी अर्को दल जनता समाजवादी पार्टीका कारण आफूहरुले परिवर्तन गरेका मन्त्रीहरु फेरिन नसकेको बताएका थिए ।



‘नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले नै आफूहरु अहिले नहट्ने अडान लिएपछि देउवा यस विषयबाट पछाडि हटेका हुन्,’ नेपाली कांग्रेसका ती नेताले फरकधारलाई भने, ‘उनीहरुले देउवालाई तत्काल प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणा गर्न दबाब दिइरहेका छन् ।’

प्रधानमन्त्री देउवा चाहिँ अमेरिका भ्रमणको गृहकार्यमा छन् । उनले बिहीबार दिउँसो सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बोलाएर अहिले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा समेत छलफल गरेका थिए । बिहीबार दिउँसो २ घन्टा भन्दा लामो बालुवाटारमा भएको छलफलमा यस विषयमा कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन ।



‘चुनाव घोषणा गर्दा यो सरकार कामचलाउ हुने र कामचलाउ सरकारमा मन्त्रिपरिषद् हेरफेर हुन नसक्ने तर्क समाजवादीका मन्त्रीहरुले गरेका छन्,’ कांग्रेसका ती नेताले भने, ‘विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ कोही पनि अहिले सरकारबाट बाहिरिने पक्षमा छैनन् ।’

उनीहरु सरकारबाट बाहिर जाने पक्षमा नभए पनि एकीकृत समाजवादीले भने आगामि आम निर्वाचनमा टिकट पाउने सम्भावना भएका नेताहरुलाई मन्त्रीमा पठाउने तयारी गरेको हो ।

‘एकीकृत समाजवादीका मन्त्रीहरु फेरिने भए माओवादी केन्द्रमा पनि यो विषयमा छलफल हुने भएकाले तत्काल यो हुने सम्भावना कम देखिन्छ,’ कांग्रेसका ती नेताले भने, ‘यसमा प्रधानमन्त्री देउवा पनि कन्भिन्स भएको बुझिएको छ ।’

अर्कोतिर, नेकपा एकीकृत समाजवादीका दुई नेता तथा मन्त्रीहरु प्रेम आले र किसान श्रेष्ठले अहिले आफूहरुलाई मन्त्रीबाट निकालेमा पार्टीबाट नै राजीनामा दिने र अर्को पार्टीमा जाने पनि चर्चा चलेको छ ।

‘नेकपा एकीकृत समाजवादीले उनीहरुलाई गुमाउन पक्कै चाहँदैन,’ एकीकृत समाजवादी पार्टीले निर्णय गरिसके पनि मन्त्रीहरु नफेरिनुको कारणबारे ती कांग्रेस नेताले भने, ‘अनि यसमा देउवा र प्रचण्ड पनि सकारात्मक देखिएका छैनन् ।’

  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १९:२२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया