संसदमा प्रेम सुवालले भने– गृह मन्त्रालयका हाकिम पत्नीहरू नै मिटर ब्याज असुलीमा संलग्न

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरू नै मिटर ब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको आरोप लगाए । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शिर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद सुवालले यस्तो आरोप लगाएका हुन् ।

उनले कतिपय पदाधिकारीहरूले स्वकीय सचिव र भान्सेसमेत आफन्त राखेर मिटर ब्याजीको रकम गोजीमा राखेको पनि विभिन्न समाचार माध्याममा आइरहेको भन्दै आपत्ति जनाए । सांसद सुवालले मिटर ब्याज नियन्त्रण गर्ने सरकारको बजेट वक्तव्यमा उल्लेख भएपनि कानुन हातमा लिन सक्नेहरू नै यसको नियन्त्रणमा बाधक देखिएको दाबी गरे ।

‘बजेट वक्तव्यमा मिटर ब्याज नियन्त्रण गर्ने उल्लेख छ । तर, गृह प्रशासनका हाकिमहरूका श्रीमती, आफन्त र सल्लाहकारहरू मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको कतिपय पदाधिकारीहरूले आफन्तहरूलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ । यस्ता गलत काम त कानुन हात लिन सक्नेहरूले गरेको देखियो नि,’ उनले भने । 
 
सांसद सुवालले मुलुकलाई ऋणमा डुबाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको पनि दोहोर्‍याए ।  





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १४:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया