झापामा एसियाली पर्यटन महोत्सव हुँदै

भद्रपुर- प्रदेश १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एसियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । 

माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भुटानलगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताए । 

नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै आयोजना हुने महोत्सवलाई मेचीनगर नगरपालिका, प्रदेश १ सरकार, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, इसिमोड, बाहुनडाँगी जेसिज, ग्रिन जेनेरेसन, ट्राभल्स संघ झापालगायतका संस्थाले सघाउने भएका छन् । 

महोत्सवमा ग्रामीण पर्यटनको विकासका लागि टुरिष्ट गाइडसम्बन्धी तालीम, गन्धर्व गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, लोकल परिकारहरुको स्टल विशेष आकर्षणको रूपमा रहने कार्कीको भनाइ छ । 

ग्रामीण पर्यटनको माहोल तयार पार्दै पर्यटनमार्फत समृद्धिको लक्ष्य पूरा गर्न महोत्सव कोशेढुङ्गा सावित हुने ट्राभल्स सङ्घ झापाका अध्यक्ष नीरबहादुर (नेत्र) कार्कीले बताए ।  

झापा मदिरा नियन्त्रित जिल्ला घोषणा हुँदै 

झापालाई आगामी माघ १ गतेदेखि मदिराको व्यवस्थित कारोबार गर्ने तथा अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ । 

आन्तरिक राजस्व कार्यालय चन्द्रगढीले बिहीबार पत्रकार सम्मेलन गरी मदिराकै कारण आपराधिक र घरेलु हिंसाका घटना बढेका कारण सो नियन्त्रणका लागि मदिरा नियन्त्रित जिल्ला घोषणा गरेर अभियान सञ्चालन गरिने जनाएको हो । 

अपराध नियन्त्रणका लागि असोज ७ गते नै झापाका १५ वटै स्थानीय तह, होटल व्यवसायी सङ्घ, वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय र विभिन्न संघसंस्थाले १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका थिए । 

माघ १ गतेदेखि १५ गतेसम्म स्थानीय तहका विभिन्न वडामा सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम गरिने, बहुसङ्ख्यक महिलालाई राखेर समिति गठन गरी अभियानलाई सफल बनाउन लागि पर्ने आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोधराज दाहालले बताए ।

अस्पताल, शैक्षिक संस्था तथा सार्वजनिक महत्वका स्थानको निश्चित दूरी (सय मिटर) भित्र मदिरा बिक्री वितरण गर्न रोक लगाउने कानूनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउने उनले बताए ।  





  • प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार ९:४४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया