logo-img

‘चार वर्षमा कर्माले धोका दिए, चुनाव जिते एकेडमी र मैदान निर्माणमा जोड दिनेछाैँ’ [अन्तर्वार्ता]

आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि मैदानमा दुई प्यानल छन् । यसपटक वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्यानलसहित चुनावी मैदानमा रहेका हुन् । अघिल्लोपटक एउटै समूहबाट चुनाव लडेका शेर्पा–नेम्बाङ यसपालि भने एकअर्काको कडा प्रतिस्पर्धी बनेका छन् । चुनावताका उनीहरूको सम्बन्ध सुमधुर थियो । तर, निर्वाचित भएपछि भने शेर्पा–नेम्बाङबीचको सम्बन्ध तित्ततापूर्ण रह्यो । पछिल्लो समय त उनीहरूबीचको विवाद सतहमै आएको थियो । अध्यक्षका प्रत्यासी कर्मा आफूले पछिल्लो चार वर्षमा ‘भयंकर राम्रो काम’ गरेको दाबी गर्छन् । आफूले सुरु गरेका बाँकी काम पूरा गर्न पनि फेरि दोहोरिन चाहेको उनको भनाइ छ । यता अर्का अध्यक्ष प्रत्यासी नेम्बाङ भने ‘कर्माले काम गर्नुको त के मिलेर जानसमेत नसकेको’ आरोप लगाउँछन् । नेपाली फुटबलमा धेरै समस्या रहेको र तीनको समाधान गर्न आफू योग्य रहेको उनी दाबी गर्छन् । प्रस्तुत छ तिनै एन्फा अध्यक्षका प्रत्यासी नेम्बाङसँग फरकधारकर्मी लोकेश धामीले गरेको कुराकानीको सम्पादित अंश :​

अघिल्लोपटक एउटै प्यानलबाट चुनाव जितेका अध्यक्षसँग भिड्दै हुनुहुन्छ, यो अवस्था किन आयो? 

जुन योजना, नारा र प्रतिबद्धताका साथ चुनाव लडेका थियौं ती सबै कागजमा मात्र सीमित भयो । व्यवहारमा परिवर्तन हुन नै सकेनौं । त्यसले गर्दा बोलीमा होइन व्यवहारमा परिवर्तन गर्नुपर्छ भनेर उहाँ (कर्मा) र हाम्रो टिम बनेर चुनाव लडिरहेका हौं । अघिल्लोपटक निर्वाचनमा जानुअघि उहाँसँग नेपाली फुटबलको विकास गर्ने सम्झौता भएको थियो । तर, त्यसमा उहाँले हामीलाई धोका दिनुभयो । उहाँले फुटबलको पक्षमा होइन, व्यक्तिगत, गुटगत र स्वार्थको पक्षमा काम गर्न थाल्नुभयो ।    

एन्फा अध्यक्षमा तपाइँले जित्ने आधार के–के हुन्? र, तपाइँको उम्मेदवारी किन? 



क्लब, जिल्ला, फुटबलप्रेमीहरूको सुभेच्छा, साथ दिनदिनै बढिरहेको छ । अहिलेसम्म नेपाली फुटबलमा मैले गरेको लगानी नेपाली फुटबलप्रेमीले राम्रोसँग बुझेका छन् । योगदान, क्षमताको कदर गर्दै नेतृत्वमा पुर्याउनेमा विश्वस्त छु ।  

कर्मा छिरिङ नेतृत्वको पछिल्लो चार वर्षलाई कसरी मूल्यांकन गर्नुहुन्छ? 



सामूहिक निर्णय हुनुपर्छ, पारदर्शिता हुनुपर्छ, अधिकार, बजेटको विकेन्द्रीकरणलगायत कुरा नारामा मात्र सीमित भए । उहाँको नेतृत्वमा खेल्ने कुरामा म सन्तुष्ट छु । तर, नीति निर्माण गर्ने कुरादेखि दैनिक काम कार्यसञ्चालन गर्ने कुराहरूमा चुक्यौं । जति गर्न सक्थ्यौं ती कुराहरू गर्न सकेनौं । सामूहिक नेतृत्वमा र पारदर्शितामा फेल नै भयौं ।   

तपाइँ पनि त वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो, आफूले चाहिँ के–के काम गर्नुभयो? 



मलाई सदस्य संस्थाको संयोजकको जिम्मेवारी दिनुभएको थियो । सदस्य संस्थाको जिम्मेवारी त दिनुभयो तर मलाई नै थाह नदिइ सहसंयोजकहरू बनाइदिनुभयो । समिति विस्तार गर्छुभन्दा उहाँले मान्नुभएन । उल्टाे मलाई नै जानकारी नदिइ उहाँ (कर्मा) ले सहसंयोजक राख्नुभयो । अनि पछि त मलाई नै विधानविपरीत हटाइदिनुभयो । मैले जिम्मेवारी पाएको भनेको पाँचौं महिला साफको संयोजकको हो । जुन विराटनगरमा भएको थियो । काठमाडौंदेखि बाहिर पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिन्छ भनेर हामीले प्रमाणित गर्यौं । साथै, त्यहाँबाट राम्रो सन्देश पनि दिन सक्यौं ।  

अनि अर्को कुरा जबजब विधान, नियमावलीविपरीत कामहरू हुन थाले त्यतिखेर मैले जहिले पनि खबरदारी गरिरहेँ । खबरदारीले पनि नमान्दाखेरि मैले थुप्रै ‘नोट अफ डिसेन्ट’ लेखेको छु । मेरो भूमिका जहिले पनि संस्था र नेपाली फुटबलको हकहितमै रह्यो । यसपालि पनि हामी सुशासन, पारदर्शिता कायम गर्ने उद्देश्यका साथ चुनावमा छौं । साथै, विभिन्न समितिहरू छन्, ती समितिलाई अधिकार दिएर काम गर्दाखेरि सामूहिक नेतृत्व हुन्छ । त्यस्तै, ग्रासरुट वडवडामा लैजानुपर्छ, अहिलेसम्म ग्रासरुट व्यस्थित हुन सकेको छैन । त्यसका लागि हामीले विशेष काम गर्छौँ । साथै, गाउँपालिका, नगरपालिका, प्रदेश सरकार, जिल्ला, क्लबसँग मिलेर युथ एकेडेमी सञ्चालन गर्छौं । हाम्रो कार्यकालभरि कम्तीमा महिला–पुरुषगरी ५० वटा युथ एकेडमी सञ्चालन गर्ने योजना बनाएका छौँ । साथै, काठमाडौंमा क्लबहरूलाई अभ्यास गराउनका लागि मैदान छैन, खेल्ने मैदान छैन । हाम्रो कार्यकालमा कम्तिमा चारवटा कृतिम घाँसे मैदानहरू हामीले निर्माण गर्ने सोच बनाएका छौँ । क्लब, जिल्लाहरूलाई आर्थिक, प्रशासनिकरूपमा कसरी बलियो बनाउन सकिन्छ भनेर ध्यान दिन्छौं । नेपाली फुटबलाई थप व्यावसायिकतातिर लैजानुपर्छ भनेर हाम्रो सोच छ । 

आफ्नो जितप्रति कत्तिको आशावादी हुनुहुन्छ?
 
म मात्र होइन, हाम्रो सम्पूर्ण टिम नै निर्वाचित हुने कुरामा विश्वस्त छौं । हाम्रो समूहले लामो समयदेखि फुटबललाई नजिकबाट चिनेको/बुझेको छ । हामी सबै नेपाली फुटबललाई योगदान दिने व्यक्ति छौं । सबैको सामूहिक लक्ष्य नेपालको फुटबल विकास गर्नुहुनेछ । अहिले देखिएका समस्यालाई समाधान गर्दै नेपाली फुटबलाई नयाँ उचाइमा पुर्याउन हाम्रो टिमले योजनाबद्ध काम गर्नेछ । स्वार्थभन्दा माथि उठेर काम गर्ने टिम भएकाले हामीले जित हासिल गर्नेमा ढुक्क छौं । नेपाली फुटबललाई इमान्दार व्यक्तिको खाँचो छ, त्यो योग्यतामा हामीमा छ । बोली/व्यवहारमा हामी एक छौं । भित्र एउटा बाहिर अर्को कुरा गर्ने बानी हामीमा छैन ।  

अध्यक्षमा निर्वाचित भएमा तत्काल नै कुन–कुन कामलाई प्राथमिकतामा राख्नुहुन्छ? 

हामी निर्वाचित भएपछि अस्ति आएको खेलाडी र प्रशिक्षकको प्रतिवेदनको कार्यान्वयन हुन्छ । अनि स्वेतपत्र जारी गर्ने योजनामा छौं । चार वर्षसम्म राम्रा/नराम्रो कुरा के भए भन्नेकुराहरू, संस्थाको अहिलेको अवस्था कस्तो छलगायत कुराहरू नेपाली फुटबलप्रेमीलाई देखाउनुपर्छ । त्यसपछाडि हामी  योजनाबद्ध ढंगले अगाडि बढ्नेछाैँ । 

यो पनि– [अन्तर्वार्ता] ‘चार वर्षमा धेरै काम गरेको छु, अब खेलाडीलाई १२ महिना नै व्यस्त बनाउनेछौं’

  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया