दमौली- तनहुँमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका-४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नम्बरको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ठक्कर दिने बस र बाबु प्रहरी नियन्त्रणमा छन् ।
वृद्ध मृतावस्थामा फेला
तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा बिहीबार राति एक वृद्ध मृतवस्थामा फेला परेका छन् । हरियाली कृषक समूह भवनको पेटीमा अन्दाजी ६०-६५ वर्षीय टेकबहादुर विक मृतावस्थामा फेला परेका हुन् ।
धादिङ घर बताउने विक विगत एक सातादेखि डुम्रे बजार आसपास मागी खाई हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरार प्रतिवादी पक्राउ
तनहुँ अदालतबाट कैद तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । घरमा आगो लगाएको मुद्दामा तनहुँ शुक्लागण्डकी नगरपालिका-९ का ५० वर्षीय आइत भन्ने ठगबहादुर कमर जोगी पाँच वर्षपछि पक्राउ परी बिहीबार कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।
सो अभियोगमा जिल्ला अदालतले जोगीलाई पाँच वर्ष कैद फैसला गरेको थियो । विसं २०७० मा सोही वडाका इन्द्रप्रसाद वाग्लेको घरमा आगो लगाएको अभियोगमा जोगी फरार रहेका थिए । तनहुँ प्रहरीले पछिल्लो समयमा अदालतबाट कैद तोकिएका फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान नै सञ्चालन गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।