लहान- हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।
विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा सबैजनालाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।
पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरी दुई लाख ६० हजार राजस्व असुली गरेको प्रमुख यादवले बताए । सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समानसमेत बरामद गरिएको छ ।
डेढ लाखको अवैध समान बरामद
प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करिब डेढ लाख बराबरको अवैध समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा चोरीपैठारी गरिरहेको अवस्थामा अवैध तुलसी ७५ प्याकेट र ब्ल्याक चुरोट ७५ प्याकेटलगायत ९५ हजार मूल्य बराबरको समान बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी औरहीबाट खटिएको टोलीले पाइन्ट, सर्टको कपडा, धोतीलगायतका करिब ४५ हजार मूल्यबराबरको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।