बर्दिबासस्थित जनहित नन्दलाल माध्यमिक विद्यालयमा शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । झण्डै एक हजार विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा १७ जना शिक्षकले मात्र अध्यापन गराइरहेका छन् ।
एउटै कक्षमा ७० जनाभन्दा बढी विद्यार्थी राखेर अध्यापन गराउन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउँछन् ।नियमानुसार १ हजार विद्यार्थीलाई पठनपाठन गराउन न्यूनतम २७ जना शिक्षकको आवश्यकता पर्छ । यसरी हेर्दा थप १० जना शिक्षकको अभाव छ ।
प्राविधिक धारको कक्षासमेत सुरुवात गरेको यस विद्यालयमा झण्डै ११ जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।
बर्दिबास मात्र नभई छिमेकी जिल्ला र पालिकाको समेत यो विद्यालयमा आकर्षक बढेको छ । भर्नाको समयमा शिक्षकको अभाव रहेकै कारण धेरै विद्यार्थीलाई भर्ना लिन नसकिएको प्रधानाध्यापक घिमिरेले बताए ।
बर्दिबास–६ स्थित चौलिखामा रहेको यस विद्यालयमा विद्यार्थी संख्या अधिक बन्दा भवनको समेत अभाव बन्दै गएको छ । विद्यालयको जग्गा भए पनि भवन बनाउन बजेटको अभाव छ ।
शिक्षकको अभावबारे नगरलाई पनि थाहा छ । तर, पर्याप्त शिक्षक पठाउन सकेको छैन । अघिल्लो वर्ष स्थानीय सरकारले ६२ जना शिक्षक नगरबाट नै नियुक्त गरे पनि अझै बर्दिबासका ५२ वटा सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ ।
जिल्लामा अहिले ३३१ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा १ लाख १९ हजार १ सय २६ विद्यार्थी अध्ययनरत छन् ।
शिक्षा विकास समन्वय एकाइ महोत्तरीका प्रमुख भरतबाबु सुवेदीका अनुसार जिल्लाभर ३ हजार ८ सय ४० शिक्षकको आवश्यक छ । तर, जिल्लामा अहिले १ हजार ५ सय २७ शिक्षक मात्र छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।