Sun, 26 May, 2019


पृथ्वीनारायणकाे सालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण
फरकधार / पुस २७, २०७५

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् । राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित समारोहमा सरिक भई उनको सालिकमा माला अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिन् । 

सो अवसरमा नेपाली सेनाको ब्यान्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि शाहप्रति श्रद्धाञ्जली अर्पण गरे । 

श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुगेका थिए ।  

यसअघि ठकुरी सेवा समाज, ग्रेटर नेपाल, गुन्युचोलो राष्ट्रिय सचेतना अभियान नेपाललगायत संघसंस्थाको बाजागाजासहितको र्यालीले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेको थियो । र्यालीमा सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा होस् भन्नेलगायत प्लेकार्ड बोकेका थिए ।  


यो पनि नछुटाउनुहोस्