इतिहासमाथि औँलो ठड्याउने एउटा चित्र

उपत्यकाको कीर्तिपुर क्षेत्र यस्तो स्थान हो, जहाँ अनगिन्ती कहानी लुकेर बसेका छन् । कतिपय कहानी लिखित होलान् त कतिपय अलिखित । कति सत्य होलान्, कति मिथ मात्रै । पृथ्वी नारण शाहले कीर्तिपुर विजय गरेको अढाई शताब्दीपछि पनि कीर्तिपुरसँग जोडिएका विभिन्न कहानी बाहिरिने क्रम जारी छ ।

कीर्तिपुरसँगै जोडिने एउटा नाम हो, पृथ्वीनारायण शाह । शाहले कीर्तिपुर विजय गर्दाका विभिन्न किंवदन्ती अझै पनि प्रचलित छन् । पृथ्वीनारायण शाह भन्नेबित्तिकै मस्तिष्कमा प्रायः एक औँला उठाएको, एकताका प्रतीक बुझाउने सालिक, प्रतिमा, चित्र विम्बित हुन्छ । अधिकांश नेपालीको बुझाइ छ– पृथ्वीनारायण शाह एकताका पर्यायवाची हुन् । 

चित्रकार सुप्रिया मानन्धरले पनि सधैँ पृथ्वीनारायण शाहको तारिफ मात्र सुनिन् । घरदेखि शिक्षालयसम्म उनको गुणगान मात्र गाइन्थ्यो । तर, किन ? थाहा थिएन । 
कीर्तिपुरस्थित बाघभैरव मन्दिरमा शाहले कीर्तिपुर आक्रमणमा प्रयोग गरेका हतियार झुन्ड्याइएका छन् । तर, तीनपटक कीर्तिपुर आक्रमण गरेका शाहले कीर्तिपुरवासीमाथि गरेका अमानवीय व्यवहार पनि कालक्रमसँगै बाहिरिएका छन् ।

कीर्तिपुरका लागि शाह जति सत्य हुन्, त्यति नै मिथ पनि । पाठ्यपुस्तकमा शाहको गुणगान र विजयगाथा पढेकी मानन्धरले कतै सुनिन्– ‘पृथ्वीनारायण शाहले कीर्तिपुरवासीको नाक, कान र ओठ काटिदिएका थिए ।’

बढ्दै गएको राजनीतिक चेतले उनको मनमा प्रश्न उब्जायो– ‘यस्तो अमानवीय कृत्य गर्ने मान्छेले कसरी एकीकरण गर्यो ?’ यही प्रश्नले उनलाई पृथ्वीनारायणको बारेमा लुकाइएका यथार्थ खोतल्न बाध्य तुल्यायो ।

उनले थाहा पाइन्, इतिहास सन्तुलित छैन । एकपक्षीय ऐतिहासिक विचारले उनमा वितृष्णा पैदा गरेको थियो । लुप्त इतिहास कसरी बाहिर निकाल्ने र कसरी बहस चलाउने भनेर उनलाई छट्पटी हुन थाल्यो । आफैँ शाहवंशीय इतिहास उजागर गर्ने प्रयासमा जुटिन् ।



यता, शाहबारे पाठ्यपुस्तकमा लेखिएका पठनसामग्रीमा एकीकरण शब्द र व्याख्या कसरी आयो ? सत्तापक्षका गुणगान सिकाउनुको पछाडि के उद्देश्य हुन सक्छ ? शाहसँग जोडिएका अमानवीय कहानी किन बाहिर आउँदैनन् ? यस्तै प्रश्न इतिहास उत्खननमा सहयोगी बने ।

                                                                                                  ०००



चित्रमा पृथ्वीनारायण शाहजस्ता देखिने एक व्यक्ति नेपथ्यको राजगद्धिमा आसीन छन् । युद्ध त्रासमा केही मानिस भागाभाग गरिरहेछन् । नाक र ओठ काटिएका केही वयष्क पुरुष विलाप गरिरहेका छन् । र, एक बालिकालाई जर्बजस्त शाहवंशबारे पाठ पढाइएको छ । जहाँ लेखिएको छ– ‘ग्रेट लिडर एन्ड सिम्बोल अफ युनिटी’ अर्थात्, महान् नेता र एकताका प्रतीक । 

चित्रका माध्यमबाट उनले शाहवंशको बर्बर इतिहास निर्भीकताका साथ उतारेकी छिन् । पृथ्वीनारायण शाहले प्रतिद्वन्द्वी र युद्धबन्दीलाई कस्तो व्यवहार गर्थे ? कसरी कीर्तिपुरवासीलाई महिनौँ नाकाबन्दी गरी हार्न विवश पारेका थिए ? विजयपश्चात् पनि कीर्तिपुरवासीमाथि किन क्रूर बने ? किन नाक, कान र ओठ काट्नेजस्ता आपराधिक काम भए ? अढाई शताब्दीअगाडिका यस्तै तथ्यलाई सुप्रियाका कुचीले उतारेका छन् ।

नेवारी समुदायकी मानन्धरले इतिहास अध्ययन र खोजका क्रममा शाहवंशीय राजाका यी तथ्यबारे थाहा पाइन् । तर, गोरखाराज्य विस्तार र कीर्तिपुरेमाथि भएको अपराधलाई आजका मानिसले सहर्ष स्वीकार गरेका छन् । त्यति मात्रै होइन, वीरगाथा गानसमेत गाउन भ्याए । जुन गणतन्त्र राज्य नेपालमा अझै जारी छ । 

पृथ्वीनारायण शाहको दुई सय ९७औँ जन्मजयन्ती मनाउँदै गर्दा नेपाली जनता शाहको कुनै पनि कुकृत्य स्विकार्न तयार छैनन् । ‘शाहवंशका कथित एकता उजिल्याउन उनीहरूका अत्याचारलाई गोप्य राखियो, उनै शाहवंशीयको डरले तत्काल ती तथ्य बाहिर आउन पनि सकेन,’ सुप्रिया भन्छिन्, ‘अहिले ती तथ्य बाहिर आउँदा मानिसलाई स्विकार्न गाह्रो भइरहेको छ ।’

पृथ्वीनारायण शाहको उपनिवेशवाद र विस्तारवादी सोचबाट बनेको आजको नेपाललाई एकीकरणको नाम दिन नहुने उनको तर्क छ । युद्धमा मारिएका हजारौँ सैनिक र उनीहरूको पारिवारिक विखण्डनलाई कसरी एकता मान्ने ? उनी प्रश्न गर्छिन् । 

इतिहास सधैँ जित्ने पक्षबाट लेखिन्छ । र, जितेकाहरूले नै लेख्छन् । यसमा उनीहरूलाई आफ्नो कार्यकुशलतामाथि बढाइचढाइ लेख्ने प्रशस्त छुट हुन्छ । इतिहास लेखनमा यो छुटको भरपुर प्रयोग गरिएको छ । आफूले गरेका अन्यायलाई वीरता, कुटनीतिसँग जोडेर हेरिएको छ । त्यसमा पनि नाक काट्ने भनेको खस नेपाली भाषाले इज्जत जानुलाई बुझाएको छ । केही मानिसले सोही बुझाइ कीर्तिपुरेहरूको हकमा पनि लागू गर्न खोजिरहेका छन् । सुप्रिया भन्छिन्, ‘यी सबै शाहवंशीय राजाका अनुयायीले सत्य छोप्न र कथित एकता लागू गर्न जुटाएका प्रमाण हुन् ।’ 

‘आफूसँग जोरी खोज्नेलाई यस्तो हालत गराइन्छ र गोरखाली सैनिक निकै शक्तिशाली छन् भनेर देखाउन कीर्तिपुर विजयपश्चात् पनि त्यहाँका युवाको नाक र ओठ काटेका थिए,’ इतिहासकार बाबुराम आचार्यको भनाइलाई उद्धृत गर्दै सुप्रिया भन्छिन्, ‘उनले पनि यो तथ्य स्वीकार गरेका छन्, तर कति संख्यामा पीडित थिए भन्ने तथ्य यकिन छैन ।’ 

नेपाली इतिहासकार मात्र होइन, केही विदेशीले पनि यसबारे लेखेका छन् । फादर ग्युसेप नामका विदेशी लेखकले आफ्नो लेखमा कीर्तिपरका युवाहरूको नाक र ओठ काटिएको उल्लेख गरेका छन् । अर्का विदेशीले पनि कीर्तिपुरका भरियाहरूको नाक नभएको प्रसंग निकालेका छन् । एकजना मात्र होइन, धेरैजसो भरियाको नाक नभएको देखेपछि उनले खोज गरे र तिनै भरियाले इतिहास बताए भन्ने प्रसंग पनि छ । 

इतिहासमा जति पृथ्वीनारायण शाहको जयजकार लेखियो त्यति प्राथमिकताका साथ उनको ज्यादती लेखिएन । सुप्रियाले यही सत्य बाहिर ल्याउन खोजेकी हुन् । 

दुई वर्षअघि सुप्रियाले बनाएको यो चित्र अघिल्लो वर्ष पृथ्वीजयन्तीकै दिन बहसको विषय बन्यो । सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया पनि आए । विरोधमा जति प्रतिक्रिया आए, ती सबै सतही थिए । मुख्य कुरा विरोध गर्नेले सामाजिक सञ्जालमा मात्र विरोध जनाएनन् । प्रहरीलाई फोटो ट्याग गर्नेदेखि लिएर प्रचारबाजीसम्म गरे । चित्रबारे टिप्पणी बताउँदै उनी भन्छिन्, ‘एक व्यक्तिले त आत्महत्या गर्नुस् पनि भन्न भ्याएका थिए ।’ 

उक्त चित्रबाट मानन्धर बहस सिर्जना गर्न चाहन्थिन् । तर, सोचेजस्तो भएन । यसबाट युवावर्गको बौद्धिक चेतलाई भने राम्ररी नियाल्न पाएको उनी बताउँछिन् । केही सीमित मानिसले सन्तुलित प्रतिक्रिया दिँदै पहिले नउठेको मुद्दा उठाएको भनेर तारिफ गरे । केही मानिसले ‘योभन्दा ज्यादा हुनुपर्ने थियो’ भन्ने आशयका प्रतिक्रिया दिएको उनी बताउँछिन् । 

समयअन्तरालमा उनी आफूलाई पनि राम्रै काम गरेँ जस्तो लागेको बताउँछिन् । इतिहासमाथि प्रश्न गर्न हौस्याउने र न्यायप्रेमीप्रति कृतज्ञ हुँदै उनी बौद्धिकपुस्ताको वैचारिक क्षमतामाथि प्रश्न गर्छिन्– हामीले हाम्रो इतिहास कत्तिको सन्तुलित छ विचार गर्नुपर्दैन ?

  • प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार १५:२६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया