दाङ- पूर्वराष्ट्रपति डा. रामवरण यादवले डरलाग्दो गरी बढेको प्रदूषणले आफूलाई धेरै चिन्तित बनाएको बताएका छन् । उद्योग वाणिज्य संघ दाङले घोराहीमा आयोजना गरेको छलफल एवं स्वागत सम्मान कार्यक्रममा डा. यादवले उद्योगीलाई वातावरणीय अवस्थालाई ख्याल राखेर मात्रै आफ्ना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरे ।
‘दाङ निकै सुन्दर उपत्यका छ, तर यहाँ चार-पाँचवटा सिमेन्ट उद्योग छन्, सुन्दर ठाउँमा किन उद्योग खोलिए ?’ उनले प्रश्न गर्दै भने, ‘यसले यहाँको वातावरण सन्तुलन हुन दिन्छ त ?’
डा. यादवले आफ्नो पालामा सुरु भएको चुरे संरक्षण कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । चुरे क्षेत्रको जंगल मासिनु तथा ढुंगा, माटो उखनन गरिनुले भूक्षय, मरुभूमीकरण र जलसम्पदाको नाश भइरहेकामा दुखेसो व्यक्त गर्दै जलवायु असरको कारणले पनि व्यापार-व्यवसाय र कृषिमा घाटा लागेकाले यसमा चनाखो रहन उद्योगी व्यवसायीलाई आग्रह गरे ।
पछिल्लो समयमा विकासको नाममा जथाभावी डोजर लगाइनुले पनि वातावरण विनाश भइरहेको बताउँदै उनले वातवरणमैत्री विकासको आवश्यकता रहेको धारणा राखे। यसमा नेपालका तीनै तहका सरकार, नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मी सबैको साथ र सहयोगको आवश्यकता रहेकाे उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।