बुद्ध जन्मस्थलमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ सुरु

रुपन्देही– बुद्धजन्मस्थल लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ (बौद्ध अन्तर्राष्ट्रिय भ्रमण मेला) सुरु भएको छ । मार्टको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद्र अधिकारीले गरेका थिए । 

उद्घाटनपछि मन्त्री अधिकारीले भैरहवाको गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न भएपछि लुम्बिनी आउने पर्यटकको संख्या धेरै हुने र आगामी असोज महिनासम्ममा अन्तर्राष्ट्रिय उडान सुरु हुने बताए । उनले भने, ‘सन् २०२० मा २० लाख पर्यटक लुम्बिनी आउँछन् ।’ कार्यक्रममा प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बुद्धसँग जोडिएका कपिलवस्तु, देवदह, रामग्राम लगायतका स्थानलाई जोडेर विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताए । उनले पर्यटन प्रवर्द्धनकै लागि आगामी वर्ष लुम्बिनी भ्रमण वर्षको तयारी गरिएको जानकारी दिए । 

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्रेयले लामो समयमसम्म पनि लुम्बिनीको गुरुयोजना पूरा नभएपछि ग्लोबल बोलपत्र आह्वान गरिएको बताए । उनले अबका दिनमा गुरुयोजना अनुसारका काम अगाडि बढ्ने बताए । पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटाले लुम्बिनीको विकास र पर्यटन प्रवर्द्धनका लागि पर्यटन मन्त्रालयले प्राथमिकता दिएको बताए । 

भारतीय पर्यटन व्यवसायी आशिष गुप्ताले विदेशी पर्यटकको आकर्षक गन्तव्य लुम्बिनी भएकाले नेपाल भारतको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि काम गर्न सकिने बताए । ‘भारतको नालन्दा, कुशीनगर, बोधगया आउने पर्यटकलाई लुम्बिनी आउने वातावरण तयार गर्नुपर्छ,’ उनले भने, ‘बुद्धको जन्मस्थल भएकाले पर्यटक लुम्बिनी आउन चाहन्छन् ।’ 

कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले सरकारी र निजी क्षेत्रको सहकार्यमा लुम्बिनीलाई थप आकर्षक बनाउन सकिने धारणा राखे । पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)ले पहिलोपटक लुम्बिनीमा आयोजना गरेको मेला तीन दिनसम्म चल्नेछ । मेलामा १७ देशका पर्यटन व्यवसायी सहभागी छन् । 

मार्ट सञ्चालनसँगै लुम्बिनी, भैरहवा, तानसेन, पाल्पा, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायत पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको प्रवर्द्धन हुने नाट्टाले विश्वास लिएको छ । मेलामा ‘बिजनेस टु बिजनेस मिटिङ’, बुद्ध पर्यटन प्रवर्द्धनका लागि छलफल, आन्तरिक पर्यटन प्रवर्नलगायत विषयमा छलफल हुने नाट्टाले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार १६:४१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया