जिसस कैलालीको निर्वाचन रोचक बन्दै, निर्णायक स्वतन्त्र उम्मेदवार

कैलाली जिल्ला समन्वय समिति (जिसस) को निर्वाचन सोमबार (भोलि) हुँदैछ । जिसस कैलालीको नेतृत्वका लागि सत्तारुढ गठबन्धन दल एक ठाउँमा र नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिएका छन् । नेतृत्वका लागि दुई गठबन्धन दलहरु गृहकार्यमा छन् ।

कैलालीमा जम्मा मत भार २६ हो । यसमा ८ नेपाली कांग्रेस, ७ नागरिक उन्मुक्ति पार्टी, एमालेका ५, माओवादी केन्द्रका ४, एकीकृत समाजवादी र स्वतन्त्र एक–एक जना मतदाता रहेका छन् । माओवादीको तर्फबाट मोहन्यलमा विजयी भएका अध्यक्षलाई मतदानमा सहभागि गराउने नगराउने अन्योल छ । 

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा १३ जना पुग्छन् भने नागरिक उन्मुक्ति र एमाले मिलेर १२ जना हुन्छन् । मोहन्यालका गाउँपालिका अध्यक्षलाई सहभागि नगराएमा स्वतन्त्र निर्णायक बन्ने देखिन्छन् । धनगढी उपमहानगरपालिका मेयरमा विजयी गोपाल हमालले कसलाई समर्थन गर्ने भन्ने मुख खोलेका छैनन् ।

जिसस प्रमुखका लागि कांग्रेस जिल्ला कार्यसमितिले पदमबहादुर कलेल र केशव पन्तको नाम सिफारिस गरेको छ । नागरिक उन्मुक्ति–एमाले गठबन्धनले प्रमुखमा उन्मुक्ति पार्टीबाट जानकी गाउँपालिका–६ का निर्वाचित वडाध्यक्ष इन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ ।

सहमति अनुसार कांग्रेसले जिसस प्रमुख र एक सदस्य, माओवादी केन्द्रले उपप्रमुख र तीन सदस्य तथा एकीकृत समाजवादीले तीन सदस्य लिने भएका छन् । कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन माग गरिएको छ ।

समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, कैलालीमा निवेदन दिँदै विशेष अदालतको फरार सूचीमा रहेका उपाध्यक्षलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन माग गरेका हुन् ।



नवनिर्वाचित अध्यक्ष उपाध्याय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस अघि उनलाई निलम्बन गर्न सम्बन्धित निकायलाई पत्र काटिसकेको छ । उनको नाम मतदाताको नामावलीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा पनि रिट परेको थियो । 



  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १३:२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया