Mon, 25 Mar, 2019


अर्थराजनतिक विश्लेषक विश्व पौडेलकाे टिप्पणी:  विवेकशील साझाले आफ्नो पुँजी जोगाउन सकेन
विश्व पौडेल
फरकधार / पुस २७, २०७५

काठमाडौं– मैले काठमाडौं विश्वविद्यालयमा पढाउन सुुरु गर्दाताकाको कुरा हो । एक मधेसकी विद्यार्थी थिइन् । पढाइ निकै राम्रो थियो । पढाइ सकेपछि के गछ्र्यौ ? भनेर एक दिन उनलाई सोधेँ । उनले ‘म राजनीति गर्छु’ भनिन् । कुन पार्टी भनेर सोध्दा ‘विवेकशील नेपाली’ भनिन् । त्यो नै मैले उक्त पार्टीको नाम सुनेको पहिलोपटक थियो ।

मधेसकी, बिजनेस पढेकी, महिलालाई राजनीति गर्छु भन्न प्रेरणा दिने त्यो पार्टीको बारेमा मैले पछि धेरै सोचेँ । राजनीति मान्छे जम्मा गरेर होइन, एउटा ‘मुभमेन्ट’ तयार गरेर गरिन्छ । 

साना पार्टीहरू ठूला हुने भनेको शिला खोजेजस्तो यो ‘हिरोइन’, त्यो ‘विज्ञ’, त्यो प्रख्यात फेसन डिजाइनर जम्मा गरेर होइन । एउटा विचारमा आधारित बलियो तुफान सिर्जना गरेर हो । मान्छेहरू विचारको वरिपरि आकर्षित हुन्छन्, अनुहारको वरिपरि होइन । 

कलेज पढ्ने युवाहरूलाई आकर्षित गर्न सक्ने खुबी जुन विवेकशीलको पहिले थियो, त्यो हरायो भने विवेकशील साझा सधैँ बुढाहरूको सानो ‘क्लब’ अनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)जस्तै सानो पार्टी हुन अभिशप्त हुन सक्छ । (नेमकिपालाई धेरैले राम्रो पार्टी हो भन्छन्, तर भोट दिदैनन्)।

अहिलेको खटपटको वेला उहाँँहरूले आफ्नो मुख्य पुँजी के हो भन्ने कुराचाहिँ ख्याल राख्नुहुनेछ भन्ने मेरो सुझाब छ ।

२०४६ को आन्दोलन सकिएपछि बल्ल तत्कालीन नेकपा मालेका नेताहरूलाई (केहीबाहेक) जनताले चिनेका थिए । तत्कालीन मालेको पूर्वरूप को—अर्डिनेसन केन्द्रले पार्टी विस्तार गर्दा कुनै नेता, विज्ञ वा प्रख्यात व्यक्ति देखाएर सुरु गरेको थिएन । गाउँ–गाउँमा कोही शिक्षक भएर गए, कोही गायक भएर गए । अभियान ठूलो भएपछि धेरै ‘ठूला’ मान्छेहरू मालेमा आए ।

मधेसीहरूको मुद्दा लिएर राजनीति धेरैले गरेका थिए । ‘ठूला’ मधेसी नेता पनि थिए । मधेसी मन्त्री, पूर्वराजदूत पनि थिए, तर उपेन्द्र यादवको समाजवादी फोरम सडकबाट आन्दोलनको रूपमा आयो । जब मधेसी युवाहरूले यसमा आफ्नो प्रतिविम्ब देखे, यो अभियान ठूलो भयो र  ‘ठूला’ भनिएका नेता पनि जोडिन आए ।

विवेकशील नेपाली र साझा, नयाँँ शक्तिहरूको फरक बुझ्न यी उदाहरण सहयोगी छन् । विवेकशील नेपाली अभियानको रूपमा थियो । मलाई उक्त अभियानको नाम पहिले थाहा भयो, नेता को हो भन्ने पछि । खासमा उज्ज्वल थापा नेता हुन् कि होइनन् भन्ने पनि थाहा छैन । अमेरिकीहरूले भनेजस्तै ती साधारण (The Guy You Can Have Beer With) देखिन्छन् । चुनावताकाका भिडियोमा पनि उज्ज्वल चुलोचौका गर्ने मान्छे थिए ।

अर्कोतिर साझा र नयाँँ शक्तिको बारेमा मान्छेले भन्दा त्यो रवीन्द्र मिश्रको वा त्यो बाबुराम भट्टराईको पार्टी भनेर सुुरु गर्छन् । आज कुनै पनि युवालाई ऊ विवेकशील साझामा गयो भने मिश्रजीहरूको पछाडि लाइनमा बस्नुपर्छ भने नयाँँ शक्तिमा बाबुरामजीको पछाडि भन्ने सोचाइ छ । नेपालको इतिहासमा नै व्यक्ति अघि लगाएर बढेका पार्टी सफल भएका छैनन् । 

नेकपा बर्मा, मानन्धर, रोहित, वामदेवको छुट्टिएको माले, देउवाको प्रजातान्त्रिक, गच्छदार, इत्यादि । पहिला नेता चुन्ने अनि अभियान भन्ने कुरा हुँदैन । यो उहाँँहरूको पार्टीको विस्तारको लागि ठूलो समस्या हो ।



यो पनि नछुटाउनुहोस्