Mon, 21 Jan, 2019


पृथ्वीनारायण शाहः नायक कि खलनायक ?
फरकधार / पुस २७, २०७५

पृथ्वीनारायण शाहले ‘एकीकरण’ गरेका हुन् कि, गोर्खा राज्य विस्तार गरेका हुन् ? राज्य विस्तारका क्रममा गरिएका युद्धमा उनी कति क्रूर र अमानवीय थिए ? पृथ्वीनारायणको नामसँगै किन राष्ट्रिय एकताको ‘आइकन’ तयार गरिन्छ ? किन पृथ्वीनारायण शाहमाथि प्रश्न गर्नासाथ अराष्ट्रिय भइन्छ ?

पृथ्वीनारायण शाहको नाम सुन्नासाथ किन आममस्तिष्कमा ‘वीर पुरुष’ र ‘श्रेष्ठ’ व्यक्तित्वको विम्ब खडा हुन्छ ? 

किन पृथ्वीनारायण शाहको इतिहासलाई सर्वस्वीकार्य बनाउने प्रयास गरिन्छ ? दायाँ हातको चोरी औँला ठड्याइरहेको तस्बिरले एकता मात्रै देखाउँछ ? वा त्यो औँला खबरदारीको संकेत हो ? त्यहीँ चोर औँलाले कतिलाई अपराधी बनायो ? कतिको जीवन क्षयीकरण भयो ? 

कति जाति, समुदाय ‘एकीकरण’को मूल प्रवाहबाट ओझेलमा पारिए ? भाषिक, सांस्कृतिक किनारामा पारिए ?

मानौँ, ‘राष्ट्रनायक’ पृथ्वीनारायण शाह ‘राष्ट्रिय एकताका’ सूत्राधार नै थिए । उनैको हातबाट आजको नेपाल राज्यको सृष्टि भएको हो, भने राजाहरू अचानक नेपालबाट लोप हुने अवस्था कसरी बन्यो ? यति चाँडै राजतन्त्रका अवशेष संग्रहालयमा किन थन्किन पुगे ?  

‘जनताको नासो जनतालाई नै’ भनेर एकताका हतियार मानिएका राजदण्ड र श्रीपेच नागरिकका हातमा सुम्पने अवस्था कसरी बन्यो ? पृथ्वीनारायणकै उत्तराधिकारी ज्ञानेन्द्र नागार्जुनको डाँडाबाट बोल्न पनि किन पर्व र तिथि कुर्न विवश छन् ?

‘राष्ट्रिय एकता’को रगताम्य आहालको किनारमा पारिएका वर्ग र समुदाय सचेत र संगठित भएपछि नै राजतन्त्रको फेद काटिएको सत्य होइन र ?

प्रश्न उठ्न थालेका छन् । यस्तै प्रश्नले इतिहासमा लुकाइएका क्रूरता र यथार्थलाई हेर्ने बाटो पनि खोल्छन् । राज्य विस्तारको उच्च मनोकांक्षा, हिंसात्मक हर्कत, क्रूर अनि विलासी प्रवृत्तिका शाहलाई दूरदर्शी, साहसी, वीर र पराक्रमीको आवरणमा किन छोपिन्छ ? यी आवरण हटाउने हो भने शाहको चित्र कस्तो बन्छ ?

उनले हजारौँको संख्यामा आजका नेपालीको नै हत्या गरेका थिए भन्यो भने किन कोही स्विकार्न तयार हुँदैनन् । बरु युद्धमा हजारौँ शत्रु मारेका भन्दै उनको वीरगाथा गाइन्छ । नेपाल र नेपालीको अवधारणामा राख्ने हो भने उनले नेपाली नै मारेका थिएनन् र ? यी सबै प्रश्नको जवाफ खोज्ने प्रयत्नै नगरेर किन हामी उनीजस्तै शूरवीर हुनुपर्छ र भन्ने मानसिकता विकास गर्छौं ?

राज्य विस्तारका क्रममा हजारौँको समूहमा मारिएका सैनिक, तिनका परिवारले भोग्नुपरेको विखण्डन, मानिसक यातना अनि युद्धले तत्कालीन सामाजिक व्यवस्थामा पारेको असरको चित्र किन देखाउँदैन इतिहासले ? के इतिहासले हामीलाई शासकको गाथा गाउन मात्रै सिकाउने हो ? खोइ कहाँ छौँ हामी इतिहासमा ? कहाँ छन् हारेकाहरू इतिहासमा ?

युद्ध अपराधको प्रसंगलाई छोप्न, तथ्यहीन तर्क अघि सार्दै भन्ने गरिन्छ, ‘युद्धमा हरेक कुरा जायज हुन्छ ।’ युद्धमा मान्छे मारिन्छन् । मर्छन् । हिन्दी भाषाको सिनेमा ‘जोनी एलएलबी २’मा, यही तर्कलाई खण्डन गर्न भनिन्छ, ‘यदि युद्ध र प्रेममा सबैकुरा जायज हुन्छन् भने, बोर्डरमा सैनिकको टाउको काट्नेहरू पनि जायज हुन् र प्रेमिकामाथि एसिड आक्रमण गर्ने पनि ।’

एकातिर पृथ्वीनारायण शाहको सालिकमा पूजा गर्ने, फूलमाला चढाउने र देवत्वकरण गर्ने, अर्कोतिर युद्धका क्रममा अमानवीय कार्य भएको भन्दै धर्ना पनि बस्ने दोहोरो चरित्र कसरी निर्माण हुन्छ ? कसैले हिंसा गर्दा नेपाल बन्ने अनि कसैले अधिकार माग गर्दै आन्दोलन गर्दा विखण्डन किन हुन्छ ? कसरी यस्तो विद्रुप तस्बिर बनाइन्छ ?

राज्य विस्तारका क्रममा शाहले गरेका हर्कत इतिहासको खाडलमा बेपत्ता बनाइए पनि कीर्तिपुरको कथा भने लुकेको छैन । कीर्तिपुरसँग पटक–पटक युद्ध हारेको पीडाले जन्माएको प्रतिशोधको भावनामा जलेर, शाहले कीर्तिपुरेको नाक, कान र ओठ काटिदिएको घटनालाई शाहकै गुणगानमा गाइएको इतिहासले समेत स्विकार्छ । उनको यो अक्षम्य अपराधलाई वीरताको रूपमा किन अथ्र्याउँछ इतिहास ? 

यही विषयमा डा. कविताराम श्रेष्ठ लेख्छन्– ‘कीर्तिपुरेहरूको नाक ओठ काटिएको ऐतिहासिक वास्तविकतालाई गलत अर्थ दिनेगरी बंग्याउने र लुकाउने चेष्टा गरिँदै छ । घटनाका भुक्तभोगी नेवार जातिलाई यो धृष्टता कत्ति पच्दैन । उल्टो च्वास्स बिझ्छ ।’ ‘नकटापुर’ हुन पुगेको कीर्तिपुरले कसरी शाहलाई एकता र एकीकरणको प्रतीक मान्न सक्छ ?  

जनबोलीमा ‘पृथ्वीनारायण शाहले आफ्ना शत्रुको छाला काढेर नुन–खुर्सानी लगाउँथे’ भनिन्छ । उनको यो क्रूरता किन इतिहासमा वीरताको नाममा सुरक्षित हुन्छ  ?
शाहलाई वीर देखाउन उनको जन्मदेखिको कथालाई ‘ग्लोरिफाइड’ गर्दै उनी सात महिनामै जन्मेकै कारण शूरवीर र तीक्ष्ण बुद्धिका थिए भनिन्छ । व्यक्ति पूजा र दास मानसिकतातर्फ अग्रसर बनाउने यस्तो इतिहासले, वास्तविक इतिहासको रक्षा र विकास हुन सक्ला र ?  

महत्वाकांक्षी शाहका विलासिता र सोखको जालमा कति नारी उनीबाट पीडित भए ? गोरखाभन्दा शक्तिशाली राज्यसँग पारिवारिक/वैवाहिक नाता जोडेर राजनीतिक लाभ लिन पनि पछि नपर्ने शाहले, आफ्नो महत्वाकांक्षा पूरा गर्न कति विवाह गरेका थिए ?  

मकवानपुरे राजाकी १४ वर्षकी छोरी इन्द्र कुमारीले विवाहमा नौलखा हार र हात्ती दाइजो नल्याएको भन्दै छाडेर हिँड्ने र जेठान दिग्बन्धन सेनलाई नौ वर्षसम्म बन्दी बनाउने शाह महिलाप्रति कति अनुदार थिए ?

श्रीमतीभन्दा पनि सम्पत्ति वा राज्य प्यारो ठान्ने, सम्पत्तिको लोभमा श्रीमती त्याग्ने पुरुषलाई साहसी पुरुषको उपमा दिएर महिलामाथि भएको अन्याय ढाक्न खोजिएको हो ?

राज्य विस्तारकै क्रममा शाहले १६ वटा श्रीमती भित्र्याएको कुरा इतिहासमा सगर्व उल्लेख छ । वनारसबाट हात हतियार भित्र्याउन सहज हुने विचारले बेलायती राजाकी छोरीसँग पनि विवाह गर्न तम्सिने शाहलाई आज ‘निष्ठा’ र ‘राष्ट्रवाद’को आवरणमा किन सजाइन्छ ? 

पृथ्वीनारायण शाहको ‘राष्ट्रिय एकताको कोर्स’ले नारीहरूलाई केबल भोग्य र एकताको हतियार मात्रै बनाएको कुरा कता लुकाइयो ? महिला मात्रै होइन, पुरुषका लागि पनि शाह अहिले भन्ने गरिएजस्तो स्तुत्य पुरुष हुन् कि होइनन् ? 

इतिहासले यी प्रश्नको जवाफ किन दिँदैन ? पृथ्वीनारायणलाई युगपुरुष भन्नेहरू उनका अमानवीय हर्कतलाई आज सकार्न तयार छन् ? 

एकता, एकीकरण र राष्ट्रियता भन्दै इतिहासको एकोहोरो रटान गरिरहनु स्वयम् इतिहासलाई नै अपमान गर्नु होइन र ? इतिहासको एक अध्यायलाई छायामा राखेर हामी कसरी पूर्ण हुन सक्छौँ ?
 



यो पनि नछुटाउनुहोस्