युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले युवा जनशक्ति विदेश पलायन हुने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् ।
नेपालमा युवाको बौद्धिकता र श्रमलाई उचित सदुपयोग गर्न नसकिएको उल्लेख गर्दै मन्त्री गहतराजले युवा तथा बौद्धिक जनशक्ति विदेश पलायन हुनबाट रोक्ने खालको रणनीति बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय युवा परिषद् र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)द्वारा आइतबार राजधानीमा आयोजित ‘युथ भिजन, १० वर्षे रणनीतिक योजना तथा राष्ट्रिय युवा नीतिका बारेमा परामर्श गोष्ठी’मा बोल्दै मन्त्री गहतराजले युवा जनशक्तिको पलायन रोक्न ठूलो चुनौती रहेको बताए ।
युवालाई उत्पादनका क्षेत्रमा जोड्नुपर्नेमा जोड दिँदै उनले स्वदेशमै काम गर्न सकिन्छ भन्ने धारणाको विकास गराउनुपर्ने बताए । युवाको विदेश पलायनलाई रोक्न स्वदेशमै श्रम, रोजगार, उद्यमी र व्यवसायी बनाउँदै देशको आवश्यकताअनुसारको जनशक्ति तयार गर्ने खालको युवा नीति बनाउनुपर्ने उनको धारणा थियो ।
राज्यले कृषि क्षेत्रमा वर्षेनी ठूलो लगानी गर्दै आइरहेको तर्फ इंगित गर्दै मन्त्री गहतराजले स्वरोजगारका लागि कृषि नै उत्तम विकल्प रहेको समेत प्रस्ट पारे ।
प्राकृतिक स्रोत र साधनका हिसाबले नेपाल विश्वकै १७औँ धनी देशका रुपमा रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो देशको प्रत्येक नदीमा सुन बगिरहेको छ, उच्चतम प्रविधिको प्रयोग गरेर सुन उत्खनन गरौँ ।’
सम्बोधनकै क्रममा मन्त्री गहतराजले युवाका क्षेत्रमा भएका कार्यक्रमहरू विभिन्न मन्त्रालयमार्फत छरिएर रहेकाले प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको समेत दाबी गरे । युवाका लागि छुट्याइएको बजेटको पनि सदुपयोग हुन नसकेको उनको भनाइ थियो ।
युवा तथा रोजगारसँग सम्बन्धित थुप्रै कार्यक्रम एक–अर्कासँग सम्बन्धित भएकाले ती सबै कार्यक्रमलाई मर्ज गरेर छुट्टै कोष स्थापना गर्नुपर्नेमा मन्त्री गहतराजले जोड दिए ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, सञ्चारकर्मी तथा युवाको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।