‘बृहत् यौनिकता शिक्षा’ बारे धारणा परिवर्तन हुँदै

‘आजभन्दा दुई वर्ष पहिले विद्यालयमा यौन र यौनिकता सँग जोडिएका कुनैपनि विषयमा हामी मात्रै होइन्, शिक्षकहरु पनि यौन शिक्षाका बारेमा हामीलाई खुलेर पढाउन सक्ने अवस्था थिएन । यौनसँग जोडिएर आएका कुराहरु हामी आफ्नै साथीहरुसँग पनि सेयर गर्न सक्दैनथ्यौँ,’ केदारस्युँ गाउँपालिका वडा – ९ झोतामा रहेको भैरव माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा मनिषा धामीले भनिन्, ‘पहिलाको भन्दा अहिले विद्यालयमा यौन र यौनिकता शिक्षा सम्बन्धिको धारणामा निकै परिवर्तन भएको छ । साथीहरु बीचमा पनि यौनिकता शिक्षाको क्षेत्रमा हामी सचेत भएका छौँ ।’

विशेषगरी स्वास्थ्य विषय पढ्दा आफुहरुलाई असहज हुने गरेको शिक्षोदय माध्यमिक विद्यालय बागथालाकी छात्रा स्मृती मल्लले बताइन् । एउटै कक्षामा आफ्नै दाजुभाइसँगै पढ्ने भएका कारण पनि पाठ्यक्रममा यौनिकता र प्रजनन शिक्षा सम्बन्धी पढ्दा निकै अपठ्यारो हुने गरेको मल्लले बताइन् । उनी भन्छिन् ‘कति दिन त हामीहरू कक्षा छोडेर पनि गएका छौँ । यौन शिक्षा भन्ने वित्तिकै लाज लाग्ने वातावरण ग्रामिण विद्यालयमा कायमै थियो ।’ 

तर अहिले भने अवस्था त्यस्तो छैन् । कक्षामा यौन शिक्षा र प्रजनन शिक्षाका बारेमा सबैले चासो दिएर पढ्ने गरेको शिक्षोदय माध्यमिक विद्यालय बागथालामा नै कक्षा १० मा अध्ययनरत सुनिल मल्लले बताए । 

विद्यालयहरुमा विगत केही वर्षदेखि किशोर किशोरी मैत्री सूचना केन्द्र स्थापना पश्चात सञ्चालनमा छन् । जहाँ किशोर किशोरीहरुले यौन तथा प्रजनन शिक्षाका बारेमा ज्ञान प्राप्त गर्ने गर्दछन् भने, उनीहरुको मनमा उठेका यस सम्बन्धी का कौतुहलतासमेत समाधान गर्नका लागी तालिम प्राप्त साथी शिक्षकको समेत विद्यालयहरूले व्यवस्थापन गरेका छन् । 

किशोर किशोरी मैत्री सुचना केन्द्र संञ्चालनमा आएपछि किशोर किशोरीहरु बृहत् यौनिकता तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर आउने तथा जिज्ञासा राख्ने वातावरणको विकास भएको सत्यवादी माध्यमिक विद्यालय भोपुरमा कार्यरत साथी शिक्षक रेखा लुइटेलले बताइन् । महिनावारीका बारेमा समेत राम्ररी खुलेर कुरा नगर्ने छात्रा हरु अहिले निर्धक्क भएर कुरा गर्ने गरेको उनले बताइन् । 

किशोर किशोरी मैत्री सूचना केन्द्रमा विभिन्न पाठ्यसामग्रीको अध्ययन गर्नका लागिसमेत उचित वातावरण भएको भैरव मावि झोताका साथी शिक्षक खगेन्द्र नाथले बताए ।  उनले भने, ‘किशोर किशोरी मैत्री सूचना केन्द्रमा यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विभिन्न छलफल गर्नाले कक्षाकोठामा पठनपाठन गराउनसमेत सजिलो भएको छ । अहिले यौन तथा प्रजननका विषयमा विद्यार्थीहरु खुलेर कुरा गर्ने गरेकोले सामाजिक रुपमा पनि फाइदा पुगेको छ । बालविवाहको क्षेत्रमासमेत फाइदा पुगेको छ ।’ 



किशोर किशोरी मैत्री सूचना केन्द्रले अभिभावक, शिक्षक र विद्यार्थीहरुमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा रहेका गलत धारणा हटाउन मद्दत गरेको शिक्षोदय मावि बागथाका साथी शिक्षक शैलेन्द्र सिंहले बताए । विद्यार्थीहरु यो विषयमा जानकार भएको र किशोर किशोरी मैत्री सूचना केन्द्रले विद्यार्थीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा बुझ्न सजिलो भएको सिंहले बताए । 

जिल्लाका २२ वटा विद्यालयमा अहिले किशोर किशोरी मैत्री सूचना केन्द्र सञ्चालमा हरेकको छ । जसमा जयपृथ्वी नगरपालिकाका ८ वटा, केदारस्युँ गाउँपालिकाका ३ वटा, बित्थडचिर गाउँपालिकाका २ वटा, बुंगल नगरपालिका, तल्कोट र खप्तड छान्ना गाउँपालिकाका १/१ वटा विद्यालय गरी जिल्लाभरका २२ वटा विद्यालयमा यो कार्यक्रम संञ्चालनमा रहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला संयोजक धनबहादुर लम्सालले बताए ।  



  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार ९:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया