औरही गाउँपालिकाका अध्यक्ष साहमाथि शिक्षिकालाई दुर्व्यवहार गरेको आरोप

धनुषाको औरही गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उमाशंकर प्रसाद साहमाथि एक शिक्षिकालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । 
  
गाउँपालिकास्थित श्री मावि परवाहा देउरीमा अध्यापन गराउने एक शिक्षिकालाई नवनिर्वाचित अध्यक्ष साहले विद्यालयपरिसरमै आयोजना गरिएको स्वागत तथा बिदाइ कार्यक्रममा दुर्व्यवहार गरेको बताइएको छ । 
 
पीडित शिक्षिका प्रतिभा झाले कार्यक्रममा महिलाले पनि बोल्न पाउनुपर्ने माग राखेकी थिइन् । उनले संविधानले प्रदत्त गरेको ३३ प्रतिशत अधिकार सुनिश्चित हुनुपर्ने माग गरेलगत्तै अध्यक्ष साहले ‘तँ बस्’ भन्दै उनी बोलिरहेको क्रममा उनको हातबाट माइक खोसेका थिए । 

अध्यक्ष साहले शिक्षिका झाको हातबाट माइक खोस्दै गरेको भिडियोसमेत सार्वजनिक भएको छ । साहले विद्यालय परिसरभित्रै आयोजना गरिएको सार्वजनिक कार्यक्रममा महिलामाथि दुर्व्यवहार गरेको भन्दै उनको चौतर्फी आलोचना भएको छ ।
 
सो क्रममा विद्यालयका हेडमास्टर शशिकुमार सिंहले समेत आफूमाथि दुर्व्यवहार गरेको शिक्षिका झाको आरोप छ । शिक्षिका झा २०७१ सालदेखि सो विद्यालयमा कार्यरत रहेकी छन् ।

शिक्षिका झाले अध्यक्ष साहविरुद्ध जिल्ला अदालत धनुषामा अभद्र गालीगलौज शीर्षकमा मुद्दा दर्ता गराएकी छन् । 
 
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष साहले स्वागत तथा सम्मान कार्यक्रममा शिक्षिका झाले आफूलाई केन्द्रित गरेर अपशब्द प्रयोग गर्न थाल्दा आफूले उनको हातबाट माइक खोसेको स्वीकार गरेका छन् । 

उनले आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना गर्न पनि आफू तयार रहेको प्रतिक्रिया दिएका छन् ।





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १८:२२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया