जिल्ला समन्वय समिति बझाङमा सत्ता गठबन्धन निर्विरोध

जिल्ला समन्वय समिति बझाङको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नर बहादुर बोहरा निर्वाचित भएका छन् । नेकपा एमालेले उम्मेदवारी नै नदिएपछि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माका अनुसार बझाङ जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका नरबहादुर बोहरा निर्वाचित भएका छन् । त्यस्तै, उप–प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्वाचित भए । 

त्यस्तै, जिल्ला समन्वय समितिको महिला सदस्यमा नेपाली कांग्रेसकी अस्मिता देवी चदारा, बाटुली देवी ओड र एकीकृत समाजवादीबाट लक्ष्मी देवी कामी निर्विरोध निर्वाचित भए । 

त्यस्तै, खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौरीशंकर जोशी, टोपबहादुर खड्का र माओवादी केन्द्रबाट गोरखबहादुर सिंह निर्वाचित भएका छन् । यस्तै, दलित सदस्यमा नेपाली कांग्रेसकी रिता कामी निर्वाचित भएकी छन् । 

आइतबार नवनिर्वाचित प्रमुख नरबहादुर बोहरालाई जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीले पद तथा गोपनीयताको सपथ ग्रहण समेत गराए । एक समारोहका बीचमा नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ । 

उप प्रमुखसहित अन्य सदस्यलाई प्रमुख बोहराले पद तथा गोपानीयताको सपथ ग्रहण गराउनेछन् ।



बोहरा ०७४ सालको स्थानीय तहको निर्वाचनमा सुर्मा गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्षसमेत हुन् । सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच जिल्ला समन्वय समितिमा पनि गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएपछि पदाधिकारी निर्विरोध चयन भएका हुन् । 

जम्मा १२ पालिकामध्ये दुई पालिकाको प्रमुख, उप–प्रमुख र एक पालिकामा प्रमुख गरी ५ सदस्य मात्रै जितेको नेकपा एमालेको समन्वय समितिमा बहुमत नपुग्ने भएपछि मनोनयन दर्ता गरेको थिएन। 



१२ पालिका रहेको बझाङमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि २४ जना मतदाता रहेका छन् । जसमा कांग्रेसका ११, एकीकृत समाजवादीका ३, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग ५–५ मतभार थियो । 

  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १९:०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया