आइएसएमटीका पोखरा र चितवन शाखालाई शिक्षा मन्त्रालयले नै दिएको छैन स्वीकृति

बेलायती डिग्री नेपालमा भन्दै शिक्षाको नाममा व्यापार गरिरहेको काठमाडौं तीनकुनेमा रहेको आइएसएमटी कलेजले अवैधानिक रुपमा शाखाहरु विस्तार गरेको खुलेको छ । 

यो कलेजले चितवन र पोखरामा सन्चालन गर्दै आएको आफ्ना शाखाहरुलाई त अहिलेसम्म शिक्षा मन्त्रालयले नै अनुमति दिएको छैन । 

शिक्षा मन्त्रालयको वेबसाइटमा पनि उपलब्ध तथ्यांकअनुसार शिक्षा मन्त्रालयले नेपालमा अहिले ८५ वटा शिक्षण संस्थालाई विदेशी विश्वविद्यालय वा कलेजको सम्बन्धन लिएर अध्यापन गर्न अनुमति दिएको छ । यी कलेजहरुमा तीनकुनेमा रहेको आइएसएमटी कलेजलाई अनुमति दिइएको छ । तर, उसका चितवन र पोखरा शाखा यो सूचीमा छैनन् । 

शिक्षा मन्त्रालयले कसकसलाई दिएको छ त अनुमति ? यो समाचारको अन्त्यमा हेर्नुहोस्, सूची ।

एक त नेपालको शिक्षा ऐनले वर्जित गरेको शाखा सन्चालन गरेर शिक्षाको नाममा व्यापार गरिरहेको आइएसएमटीले गैरकानुनी काम गरिरहेको छ भने अर्कोतिर शिक्षा मन्त्रालयको अनुमतिविना नै आफ्ना चितवन र पोखरा शाखा सन्चालन गरिरहेको छ ।

आइएसएमटीकै विराटनगर शाखा पनि शिक्षण संस्थाले शाखा खोल्न नपाउने प्रावधानअनुसार गैरकानुनी रहेको छ । तर, केही समयअघि यो शाखाले विश्वविद्यालय स्विचिङ गरेको शिक्षा मन्त्रालयले जनाएको छ । उसले कार्यक्रम स्विचिङ मात्र होइन, कलेजको नाम पनि परिवर्तन गरेको हो । 



शिक्षा मन्त्रालयका एक अधिकारीले दिएको सूचनाअनुसार पहिले वेगन एण्ड लाइए कलेजको नाममा स्थापित संस्थाको नाम फेरेर आइएसएमटी राखिएको हो ।

वेगन एण्ड लाइए कलेज नेपाललाई आइएसएमटीले आफ्नाे नाममा ल्याएर सन्डरल्यान्डकाे डिग्री लिएकाे दाबी गरेकाे छ । तर कानुनत: कलेजले शाखा सन्चालन गर्नु गलत हाे । स्राेत: शिक्षा मन्त्रालय



आफ्नो कम्पनीको नामको पछाडि विभिन्न स्थानका नाम जोडेर आइएसएमटीले कानुनी छिद्र प्रयोग गरेर विराटनगर, पोखरा र चितवनमा कलेज सन्चालन गरिरहेको छ । केही दिनअघि मात्र आइएसएमटीले चितवन र पोखराका लागि कलेज सन्चालन गर्न अनुमति दिन शिक्षा तथा विज्ञान मन्त्रालयमा निवेदन दिएको थियो । तर, मन्त्रालयमा यसरी कानुनी छिद्र प्रयोग गरेकाले अनुमति दिने या नदिने विषयमा अहिलेसम्म निर्णय भइसकेको छैन ।

‘हामीले अहिले यो विषयमा कुनै निर्णय गरेका छैनौँ,’ मन्त्रालयका एक अधिकारीले फरकधारलाई बताए, ‘उनीहरुले कानुनी रुपमा यसरी शाखा सन्चालन गर्न पाउँदैनन् ।’

नेपालमा विदेशी सम्बन्धनका कलेजहरुको संघ आइप्यानले यसअघि बारम्बार आइएसएमटीको व्यवस्थापनलाई यस विषयमा सचेत गराउँदै आएको थियो । तर, आइएसएमटीले यसलाई अटेरी गर्दै आएको छ । 

‘एउटै ब्राण्ड नेममा शाखाजसरी नेपालमा कलेज वा शिक्षण संस्था चलाउन पाइँदैन,’ आइप्यानका एक अधिकारीले आफ्नो नाम नलेखिदिन अनुरोध गर्दै भने, ‘हामीले आइएसएमटीका सन्चालकहरुलाई यस विषयमा बारम्बार भन्दै आएका छौँ, तर उनीहरुले यसलाई अटेरी गरेका छन् ।’ उनका अनुसार अब पनि आइएसएमटीले यसलाई अवज्ञा गरेमा आइप्यानबाट नै कलेजलाई हटाउनबारे छलफल अगाडि बढाइनेछ ।

लामो समयदेखि आफूसँग सम्बन्धन नभए पनि आइएसएमटीले आफूसँग हार्टफोर्डसायरको सम्बन्धन रहेको भन्दै विद्यार्थीलाई अन्योलमा राखेर अध्यापन गराउँदै आएको थियो । केही समयअघि बेलायतकै सन्डरल्यान्ड विश्वविद्यालयसँग सम्बन्धन लिएको यो कलेजले अहिले विभिन्न स्थानमा पनि सन्डरल्यान्डको सम्बन्धन छुट्टाछुट्टै लिएको दाबी गरेको छ ।

‘हामीले फरक फरक कम्पनी दर्ता गरेर कम्पनी ऐनअनुसार काम गरेका छौँ,’ कलेजले दाबी गरेको छ । तर, कलेज सन्चालनका लागि कम्पनी ऐनभन्दा पनि शिक्षा ऐन जिम्मेवारी हुने कुरालाई उसले ‘स्किप’ गर्न खोजेको छ ।

यसअघि फरकधारमा प्रकाशित आइएसएमटीबारेका यी समाचार पढ्नुहोस्ः

​शिक्षाको नाममा व्यापारः आइएसएमटीका विराटनगर, पाेखरा र चितवनका कलेज गैरकानुनी

विद्यार्थीलाई अन्योल र भ्रममा राख्दै, गलत सूचना दिएर शिक्षाको व्यापार गर्दैछ आइएसएमटी कलेज

​शिक्षा मन्त्रालयले कुन कुन कलेजलाई सन्चालनकाे अनुमति दिएकाे छ त ? हेर्नुहाेस्, सूची : 

केही समयअघि नाम र कार्यक्रम स्विचिङ गर्न अनुमति पाएका ९ संस्था:

  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार २०:२२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया