योजना छान्नमा व्यस्त जनप्रतिनिधि, नागरिकको सुझाव- कार्यकर्तामुखी नभइ जनता केन्द्रित बजेट ल्याइयोस्

नयाँ आर्थिक वर्षका लागि सरकारले स्थानीय तहका लागि बजेट पठाइसकेको छ । पालिकाहरूले पनि आफूले पाएको आर्थिक वर्ष २०७९/८० को बजेटबाट वडा तहमा समेत प्रारम्भिक चरणको बजेट पठाउने तयारी गर्दैछन् । 

बजेट आएसँगै अहिले जनप्रतिनिधि योजना छनोटमा व्यस्त छन् । टोलटोलबाट आएका योजनालाई एकीकृत गरेर वडाले नगरपालिका तथा केन्द्रमा पठाएका योजनाको छनोट गरिरहेका हुन् ।

केही स्थानीय तहले बजेटलाई लगभग अन्तिम रूप दिइसकेका छन् । केही पालिकामा भने टोल विकास संस्थाहरूमा छलफल भइरहेको छ । टोल विकास समितिले छनोट गरेका योजनाहरूमा बजेट विनियोजनका लागि यतिबेला जनप्रतिनिधि गृहकार्यमा लागेका छन् । 

बझाङको मष्टा गाउँपालिकाका वडा–वडामा टोल विकास संस्थाका अध्यक्ष र पदाधिकारीले बजेटको प्राथमिकता र विकास निर्माणका कामको बारेमा यतिबेला छलफल चलाएका छन् । गाउँमा आवश्यकताका आधारमा योजना छनोटको काम भइरहेको मष्टा गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र रोकायाले बताए । उनले भने, ‘अहिले हामी योजना छनोटको क्रममा छौं, स्थानीयहरू र टोल विकास समितिका पदाधिकारीहरूले छनोट गरेका योजनामा छलफल चलिरहेको छ । स्थानीयको प्राथमिकतामा परेका विषयमा बजेट विनियोजन गरिन्छ ।’

स्थानीयले पनि प्राथमिकताको विषयलाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिएका छन् । तर, केही जनप्रतिनिधिले विकासभन्दा पनि कार्यकर्तामुखी भएर योजना बनाउने गरेका स्थानीयको गुनासो छ । जनप्रतिनिधि आवश्यकताभन्दा पनि आफन्त र कार्यकर्तामुखी हुँदा विकासको गतिले तीव्रता नपाएको नागरिक समाजका अगुवा धर्मजंग सिंह बताउँछन् । 

‘जनप्रतिनिधिमा पार्टी र पहुँचका आधारमा बजेट विनियोजन गर्ने प्रवृत्ति हाबी हुँदै गएको छ । त्यसकारण जनताहरू जनप्रतिनिधिबाट सन्तुष्ट हुनसक्ने अवस्था नै छैन । परिवारवाद र कार्यकर्तामुखी बजेट ल्याउनाले नै जनताहरू स्थानीय सरकारका गतिविधिप्रति रुष्ट छन्,’ सिंहले भने ।



अघिल्लो ५ बर्से कार्यकालमा जनप्रतिनिधिले देखिनेगरी काम गर्न नसकेको स्थानीयको गुनासो छ । स्थानीय पनि कार्यकर्ता खुसी पार्नका लागि बजेट विनियोजना गरेकाले विकास हुन नसकेकोमा जोड दिन्छन् ।

‘जनप्रतिनिधिहरूले कार्यकर्तालाई खुसी पार्नका लागि बजेट विनियोजन गर्दा प्रगति देखिएको छैन । जनप्रतिनिधिहरूले काम गर्नेक्रममा दिगो र जनताको आवश्यकताको आधारमा योजना छनोट गर्नुपर्छ । त्यसले दिगो फाइदा दिने र स्थानीयहरूको आवश्यकता पूरा भएपछि मात्र नागरिक सन्तुष्ट हुन्छन् । तर, हाम्रा जनप्रतिनिधिले जनचाहनाअनुसार काम गर्दैनन्,’ स्थानीय दीर्घराज उपाध्यायले भने ।



जनप्रतिनिधि भने स्थानीयको माग बमोजिम नै योजना निर्माण गरिरहेको दाबी गर्छन् । ‘अहिले गाउँमा चौतर्फी विकासका लागि सबैको राय–सुझाव र नमुना योजना माग गरिरहेका छौं । उहाँहरूकै आवश्यकताका आधारमा अगाडि बढ्छौँ,’ थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले भने, ‘नागरिकबाट आएका योजनाहरू अध्ययन गरी प्राथमिकता र विशेषताका आधारमा अगाडि बढाउने तयारी छ ।’

बझाङमा यसपालि अधिकांश जनप्रतिनिधि यसअघि लागू भएका लोकप्रिय कार्यक्रम र बहुवर्षीय विकास योजनालाई निरन्तरता दिने योजनामा छन् । आफूहरूको मुख्य उद्देश्य जनताका समस्या समाधान हुन् भन्ने उद्देश्य रहेको र त्यहीअनुसार बजेट ल्याउने तयारी रहेको यहाँका जनप्रतिनिधि बताउँछन् ।

‘यसअघिका लोकप्रिय कार्यक्रम र बहुवर्षीय विकास योजनालाई निरन्तरता दिन्छौं । हाम्रो टिम जनतालाई प्रत्यक्ष फाइदा पुग्ने बजेट ल्याउने तयारीमा छ,’ जिल्लाको तलकोट गाउँपालिका अध्यक्ष कलक रोकायाले भने । 

  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १२:४२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया