विमल रायः जसले ‘बलिउड’सँगै ‘हलिउड’मा पनि प्रभाव जमाए

सन् १९५३ मा प्रदर्शनमा आएको भारतीय चलचित्र ‘दो बिघा जमीन’ले संसारभरका फिल्म निर्देशकको ध्यान तान्यो । पहिलोपटक भारतीय चलचित्र क्षेत्रमा ‘निओ–रिअलिजम’लाई सोही चलचित्रबाट प्रस्तुत गरिएको नियो । ‘निओ–रिअलिजम’ अर्थात् ‘नव–यथार्थवाद’ भारतीय सिने क्षेत्रमा प्रयोग गरी विमल रायले बलिउड चलचित्रलाई नयाँ बाटो देखाएका थिए । 

दोस्रो विश्वयुद्धको समयमा फाँसीवादका कारण इटलीको समाजमा निकै भयावय स्थिति थियो । मुसोलिनीको डरले सबैजसो फिल्म निर्देशकले सामान्य काम मात्र गरिरहेका थिए । त्यस्तो समयमा रोबर्ट रोसेलिनी, बित्तोरियो डि सिका, विस्कोन्तीलगायतका केही फिल्म निर्देशकले समाजमा बढिरहेको वर्गसंघर्षको विषयलाई पनि आफ्नो फिल्मको विषय बनाइरहेका थिए । ‘निओ–रिअलिजम’लाई प्रयोग गरेर शोषित र शासकबीचको द्वन्द्वलाई देखाउने गरिएको थियो । जुन द्वन्द्व मेक्सिम गोर्कीको उपन्यास ‘आमा’ वा अप्टन सिक्लैरको ‘जंगल’मा प्रयोग गरिएको थियो । 

भारतको परिपे्रक्षमा भने नव–यथार्थवादको संघर्षलाई पहिलोपटक विमल रायले भिœयाए । रायको चलचित्र ‘उदेर पाथेय’ (सन् १९४४, बंगाली भाषामा) मा नव–यथार्थवादको विषय समेटिएको थियो । यसले बंगाली सिने क्षेत्रमा तुफान ल्याइदियो । स्वभावले शान्त रहने विमल रायलाई फिल्म पत्रकार बुर्जोर खुर्सिदजी करजियाँले ‘साइलेन्ट थन्डर’को उपनाम दिए ।

विमल रायले निर्माता तथा निर्देशक बिएन सरकारको साथ पाएर न्यु थिएटर (कलकत्ता)बाट क्यामराम्यानको रूपमा फिल्मी यात्रा सुरु गरेका हुन् । त्यो समयमा हिन्दी चलचित्रमा बंगाली प्रभाव बढिरहेको थियो । विमल रायका साथी हितेन चौधरीले अभिनेता अशोक कुमारसँग मिलेर ‘बेम्बो टाकीज’ निर्माण कम्पनीका लागि चलचित्र निर्देशन गर्न रायलाई मौका जुराइदिएका थिए । बेम्बो टाकीजको स्थापना देविका रानीका पति हिमांशु राय तथा संतीतकार मदन मोहनका पिता रायबहादुर चुन्नीलालले गरेका थिए । विमलले बेम्बो टाकीजका लागि ‘मा’ (सन् १९५२) को निर्देशन गरे, जुन अमेरिकी चलचित्र ‘ओवर द हिल्स’बाट प्रभावित थियो । 

विगतमा बनाएका चलचित्रको तुलनामा विमलको फिल्म निकै चर्चित भयो । पछि अशोक कुमारको प्रस्तावमा रायले अशोककै निर्माण कम्पनी ‘फिल्मीस्तान’का लागि ‘परिणीता’ (सन् १९५३) निर्देशन गरेका थिए । 

आफूले बनाएका चलचित्रले सफलता पाएपछि रायले ‘विमल राय प्रोडक्सन्स’का नाममा आफ्नै निर्माण कम्पनी स्थापना गरे । आफ्नै निर्माण कम्पनीबाट ‘दो बिघा जमीन’ बनाए । सो फिल्म बन्नुमा ऋषिकेश मुखर्जी पनि मुख्य कारण थिए ।



सन् १९५२ मा मुम्बईमा भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘बायसाइकिल थिब्स’ र ‘रोसोमन’जस्ता चलचित्र प्रदर्शन गरिएका थिए । जुन फिल्मको प्रभावबाट धेरैजसो भारतीय निर्देशक चकित भएका थिए । फर्किंदै गर्दा ऋषिकेश मुखर्जीले रायलाई बलिउडमा किन यस्तो फिल्म नबनेको भन्ने प्रश्न गरेका थिए । रायले कथा नभएको बताउँदा ऋषिले आफूसँग ‘रिक्सावाला’ नाममा कथा भएको बताएका थिए । तर, उक्त कथा केही पाना मात्र थियो । जसलाई ऋषिले २४ पानाको स्क्रिप्टमा रूपान्तरण गरेर रायलाई फिल्म बनाउन बाध्य गराएका थिए ।

दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा भिक्टोरियो डी सिकाको चलचित्र ‘बायसाइकल थिब्स’मा बाबु र छोराको कथा छ, जसमा आफ्नो साइकल चोरी भएपछि उनीहरू खोजीमा निस्किएका हुन्छन् । साइकल नभेटिँदा बाबुले काम गर्न पाउँदैन, जसले परिवारमा संकट आउँथ्यो । विमलको चलचित्र ‘दो बिघा जमीन’मा पनि बाबुछोरा कलकत्ता आएर आफ्नो गाउँको दुई बिघा जमिन बचाउनलाई रिक्सा चलाउने गरेका हुन्छन् । यी दुवै चलचित्रमा बाबुको हार भएको हुन्छ । 



विमल रायको चलचित्रप्रतिको सोचलाई बुझ्न ‘दो बिघा जमीन’सँग जोडिएको किस्सा पनि जान्न जरुरी हुन्छ । बेम्बो टाकीजका मालिक यस फिल्मका कलाकार छान्ने काममा सन्तुष्ट थिएनन् । उनका अनुसार पन्जाबसँग सम्बन्ध राख्ने बलराज साहनी निकै गोरा थिए । अर्कातिर त्यो समयकी नायिका निरुया रायले फिल्ममा देवीको भूमिका मात्र निभाउने गरेकी थिइन् । दुवैलाई ग्रामीण परिवेशमा फिट गर्न सहज थिएन । तर, रायले भने आफ्नो अडान उनीहरूलाई नै अभिनय गराउनेमा राखेका थिए ।

बलराज साहनी समाजवादी विचारधाराबाट प्रभावित थिए । चलचित्रमा पनि सर्वहाराको जिन्दगीलाई देखाइएको थियो । रायका अनुसार बलराज उक्त भूमिकाका लागि उपयुक्त थिए । तर, कमर्सियल फिल्म बनाउने दबाब पनि रायमाथि थियो । उनमा भएको एउटा गुण बक्स अफिसलाई ध्यानमा राख्दै आफूलाई मन लागेको विषयमा फिल्म बनाउनु थियो ।

‘नोकरी’ (सन् १९५४), तथा ‘मधुमती’ (सन् १९५८) यसका नतिजा थिए । ‘मधुमती’ बेम्बो टाकीजको प्रोडक्सनमा बनेको चलचित्र ‘महल’ (सन् १९४९) बाट प्रभावित थियो । पुनर्जन्मको विषयमा बनेको फिल्म ‘मधुमती’ भारतीय मात्र नभएर हलिउडलाई पनि निकै प्रभाव पार्ने चलचित्र थियो । जसको प्रभावकै कारण हलिउडमा ‘द रि–इन्कार्नेसन अफ पिटर प्राउड’ बनेको थियो ।

आगा हश्र कश्मिरीद्वारा लिखित कहानी ‘यहुदी की लडकी’बाट प्रेरित भएर रायले ‘यहुदी’ बनाएका थिए । जातभात तथा छुवाछूतको विषयमा ‘सुजाता’ (सन् १९५९’, लोकतन्त्रको विषयमा ‘परख’ (सन् १९६०) तथा महिलाको विषयमा बनेको चलचित्र ‘बंदिनी’ (सन् १९६३), लगायतका सबैजसो चलचित्रले रायको चलचित्रप्रतिको गुण प्रस्तुत गरेका देखिन्छन् ।

शरदचन्द्रको साहित्यबाट निकै प्रभावित रहेका विमल रायले उनको कथामाथि तीनवटा चलचित्र निर्माण गरे । ‘देवदास’, ‘परिणीता’, तथा ‘बिराज बहू’लाई शरदचन्द्रकै कथामा आधारित भएर बनाएका चलचित्र मानिन्छन् । विभिन्न चलचित्र समीक्षकका अनुसार रायले बनाएको चलचित्र ‘देवदास’ शरदचन्द्रको कथाको सबैभन्दा नजिक रहेर बनाइएको फिल्म थियो ।

फिल्मी क्षेत्रमा निकै योगदान गरेका रायले हिन्दी कला क्षेत्रलाई ऋषिकेश मुखर्जी, ऋत्विक घटक, कमल बोस, नेबेन्दु घोष, रघुनाथ झालानी तथा गुलजारजस्ता नयाँ पुस्तालाई पनि उत्पादन गरेका थिए ।

क्यामराम्यानको रूपमा चलचित्र क्षेत्रमा छिरेका विमलको क्यामराप्रतिको मोह र प्रकाशको ज्ञानकै कारण चलचित्र निर्देशनमा आएको श्याम बेनेगलले एक अन्तर्वार्तामा बताएका छन् । बेनेगलका अनुसार रायमा भएको फोटोग्राफीको ज्ञान र प्रकाशको प्रभावलाई बुझ्न सक्ने क्षमताकै कारण उनले निकै कलात्मक तथा अतुलनीय चलचित्र निर्देशन गरेका हुन् ।

भारतीय चलचित्र क्षेत्रमा सत्यजित रे पछिका महान् फिल्म निर्देशको रूपमा रायलाई लिने गरिन्छ । सत्यजित रेको अगाडि कमर्सियल चलचित्र बनाउने दबाब नभएको कारण पनि उनका चलचित्रलाई निकै कलात्मक दृष्टिकोणबाट हेर्ने गरिएको छ । तर, रायको सन्दर्भमा भने त्यो लागू भएको थिएन । उनलाई आफ्नो इच्छाअनुसारको चलचित्र बनाउनु पनि थियो र चलचित्र कमर्सियल पनि हुनु थियो । जसकारण कलात्मक चलचित्रमा मात्र उनले ‘फोकस’ गर्न नसकेको मानिन्छ । 

तर, अचम्मको कुरा के छ भने भारतीय सिने क्षेत्रमा अतुलनीय योगदान र निकै कलात्मक चलचित्र दिएका तथा नव–यथार्थवादलाई पहिलोपटक प्रयोग गरेका विमललाई हिन्दी भाषाको ज्ञान भने थिएन ।

(एजेन्सीकाे सहयाेगमा)
 

  • प्रकाशित मिति : पुस २८, २०७५ शनिबार ११:५१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया