प्राविधिक शिक्षा पढ्नेलाई गाउँपालिकाले पाँच लाख सहयोग गर्ने

तनहुँको ऋषिङ गाउँपालिकाले एमबिबिएस पढ्ने विद्यार्थीलाई पाँच लाख रुपैयाँ छात्रवृत्ति दिने निर्णय गरेको छ । कार्यपालिकाको पहिलो निर्णयबाट नै उक्त निर्णय गरिएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

 ‘दुर्गममा पढ्ने विद्यार्थी पनि डाक्टर बन्न सक्छन् भनेर हामीले यस्तो निर्णय गरेका हौँ । राम्रो पढ्ने विद्यार्थी पैसा नभएर डाक्टर पढ्नबाट वञ्चित नहुन् भन्ने नै उद्देश्य हो,’ उनले भने, ‘अझै आवश्यकता पर्यो भने रकम थप्न सक्छौँ । अहिलेलाई पाँच लाख भनेर निर्णय गरेका छौँ ।’

यस्तो सेवा लिनका लागि ऋषिङ गाउँपालिकाभित्रकै सरकारी स्कुलमा पढेर एसइई दिएको हुनुपर्छ । ‘यही पालिकाको स्कुलमा पढेको विद्यार्थी हुनुपर्छ । बाबुआमाले बसासराइ पनि नलगेको हुनुपर्छ,’ उनले अघि भने, ‘उच्च शिक्षा भने बाहिर गएर पढेको भए पनि हुन्छ । त्यस्ता विद्यार्थीलाई पालिकाले सहयोग गर्छ ।’ उक्त विद्यार्थीले एमबिबिएस पास गरेपछि कम्तीमा ३ महिना पालिकाभित्रै सेवा दिनुपर्ने सर्त छ । हरेक वर्ष ३ देखि ५ जना विद्यार्थीले एमबिबिएस पढ्न सक्ने पालिकाको अनुमान छ ।

यस्तै, मुस्ताङको लामोन्थाङ गाउँपालिकाले पनि इन्जिनियरिङ र एमबिबिएस पढ्ने विद्यार्थीलाई पाँच लाखका दरले सहयोग गर्ने भएको छ । पालिकामा रहेको दिव्यदीप माविबाट एसइई दिएका विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न चाहेमा पाँच लाखसम्म सहयोग गर्ने निर्णय कार्यपालिकाबाट गरिएको पालिका अध्यक्ष टसिन्हुर्वु गुरुङले बताए ।

 ‘हाम्रो त विकट गाउँ हो । पढेका विद्यार्थी पाउनै गाह्रो छ । त्यसमाथि प्राविधिक शिक्षा पढ्नेहरु निकै कम छन्,’ उनले भने, ‘विद्यार्थीलाई पढाइमा उत्प्रेरणा दिनका लागि छात्रवृत्तिको कार्यक्रम ल्याएका हौँ ।’ त्यहाँ एउटा मात्रै मावि छ ।

पालिकाले एसइई दिएर प्लस टु पढ्न चाहने विद्यार्थीलाई पनि अवस्था हेरेर आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यो सहयोगको रकम भने खुलाइएको छैन । धेरैतिर चर्चाका लागि परिणाम नआउने निर्णय गरिरहँदा गण्डकीका अन्य केही पालिकाले पनि शिक्षामा जोड दिएका छन् ।





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार २०:१२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया