महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वली मुख्यमन्त्रीको संरक्षणमा

एक महिला र नाबालिकालाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् । प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राखेका छन् । मुद्दाको किनारा नलाग्दै अभियुक्त वलीलाई संरक्षण दिएपछि मुख्यमन्त्रीको आलोचना हुन थालेको छ । 

प्रहरी हिरासतमा रहेकी वलीलाई गएराति दाङबाट बुटवल ल्याइएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी सुरक्षाका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री केसीको निवासमा ल्याइएको हो । अहिले विमला वली मुख्यमन्त्री निवासमै छन् । आफू अस्वस्थ भएको बताएकाले उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

कुटपिटमा परेकी पीडित मीना भण्डारी बस्नेतले मन्त्री वलीविरुद्ध मंगलबार दाङमै किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरी परेपछि मुख्यमन्त्री केसीले दाङका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई बारम्बार फोन गरी हिरासतबाट छुटाएर बुटवल ल्याउन दवाव दिएका थिए । मुख्यमन्त्रीको दवाबपछि वलीलाई प्रहरी हिरासतबाट छुटाएर बुटवल ल्याइ मुख्यमन्त्री निवासमा राखिएको हो ।

मंगलबार बिहान करिब ८ बजे अंगरक्षक सहित झण्डावाला गाडी लिएर दाङ तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी उनकी पत्नी मीना र नावालिक छोरीलाई कुटपिट गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो ।

राज्यमन्त्री वलीले आफ्नो फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तथा पैंसासमेत नदिएकोले आवेगमा आएर बस्नेतको घर पुगेको प्रहरीसमक्ष बताएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

पीडित मिनाले वलीविरुद्ध उजुरी दिए पनि दर्ता भएको छैन । हदम्याद भित्र प्रहरीले उजुरी दर्ता गर्ने प्रहरी स्रोतले बताएको छ । बहालवाला मन्त्रीलाई पक्राउ गर्न र थुन्न पाउने कानुन नभएकाले दर्ता नभएको प्रहरीको दावी छ । “व्यवस्थापिका संसद चलिरहँदा सभामुखको पत्र वा आदेशबिना हामीले केही गर्न सक्ने अवस्था रहँदैन”–एक प्रहरी अधिकारीले भने ।



प्रशासन र सभामुखबाट पत्राचार वा समन्वयमा मात्रै उजुरी दर्तालगायतका प्रक्रिया अगाडि बढ्ने प्रहरीले बताएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले वलीलाई मन्त्री र सांसद पदबाट बर्खास्त गर्न र कानुनी कारवाही गर्न माग गरेको छ । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आपराधिक कार्य गरेकाले  वली नैतिक रुपमा पदमा बस्न नमिल्ने भन्दै बर्खास्त गर्नुपर्ने माग गरे । 



  • प्रकाशित मिति : असार १, २०७९ बुधबार ९:५२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया