राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा भाग लिँदै लिङ्देनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका हुन् ।
‘केही समयमा सो निर्वाचनको मिति घोषणा हुने भएकाले प्रजातन्त्रप्रति विश्वास छ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामाथि विश्वास छ भने वर्तमान सरकार स्वतन्त्र चुनावी सरकार गठन गर्न सहमत हुनुपर्छ,’ उनले भने, ‘हामी आफ्नो कार्यकालको अन्तिम अधिवेशनमा छौं । यो सरकारलाई प्रजातन्त्रप्रति, स्वतन्त्रताप्रति, निष्पक्षताप्रति विश्वास छ भने अब केही समयमा आम निर्वाचनको मिति घोषणा हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट म माग गर्न चाहन्छु– निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि स्वतन्त्र चुनावी सरकारको गठन होस् ।’
लिङ्देनले राष्ट्रियतालाई फेरि पनि संकटमा पार्ने गरी अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपिसी) ल्याएको भन्दै तत्काल रोक्न पनि सरकारलाई पटकपटक सचेत गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।