एक्सनमा धनगढीका मेयर हमाल, अतिक्रमित खोलानालामा डोजर

कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोापल हमाल एक्सनमा उत्रिन थालेका छन् । पदभार ग्रहण गरेको एक महिनामै उनले धनगढीको अतिक्रमित नालाहरूमा डोजर लगाएका छन् । उनले जेठ ९ गते पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरेको एक महिना पुग्न लाग्दा विकास लगायत विभिन्न विषय वस्तुसँग सरोकार राख्ने व्यक्तिहरुसँग भेटघाट मै बढी समय बिताएका छन् ।

बुधबार मात्र धनगढीको सबै भन्दा समस्याका रुपमा लिइएको डुबान समस्याका लागि उनले काम सुरुवात गरेका छन् । उपमहानगरपालिका वडा नम्बर ५  तारानगर क्षेत्रका नालाहरूको अतिक्रमण हटाउन सुरु गरिएको नगर प्रमुख हमालले बताए । धनगढी डुबानको मुख्य कारण खोलानाला अतिक्रमण भएकाले खोलानाला अतिक्रमण नहटाउँदा सम्म धनगढी डुबानको समस्या समाधान नहुने भन्दै धनगढी उपमहानगरपालिका वडा -५ तारानगर बालविहानीबाट खोलानाला अतिक्रमण हटाउने कार्य प्रारम्भ गरेको नगर प्रमुख हमालले बताए ।

‘धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारा नगरस्थित बालविहानीबाट खोलानाला अतिक्रमण हटाउने कार्य प्रारम्भ भएको छ,’ मेयर हमालले भने, ‘सम्पूर्ण धनगढीवासीमा खोलानाला अतिक्रमण हटाउने कार्यमा सहयोग गरिदिन अपिल गर्दछु ।’ डुबानको समस्या धनगढीमा सबैभन्दा ठुलो समस्याको रुपमा देखिएको हमालले बताए । ‘प्राकृतिक बहावलाई रोक्ने गरी बनाइएका संरचना सूचना दिएर नै भत्काउन सुरु गरेका छौँ,’ उनले भने, ‘डुबानको समस्यालाई समाधन गर्नका लागि सबैभन्दा पहिले प्राकृतिक कुला र खोलालाई पुरानै बहावमा बग्न दिन आवश्यक छ ।’ 

हमालले उपमहानगरवासीलाई अतिक्रमित क्षेत्र आफैँ हटाउन पनि आग्रह गरे । धनगढीलाई डुबानबाट जोगाउने उपमहानगरपालिकाको अभियानमा साथ दिन पनि उनले आग्रह गरे । खोलानालामाथि भएको अतिक्रमणले धनगढी उपमहानगर क्षणभरको वर्षामै डुबान हुने गरेको छ । 

धनगढीको कैलाली खोला सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको छ । नाला अतिक्रमण हटाउनमा उपमहानगरको वडा नम्बर ५ का वडा अध्यक्ष गजेन्द्र शाहीको पनि सक्रियता रहेको छ । पदभार ग्रहण गरेको भोलिपल्ट देखि नै काममा खटिएका हमालले धनगढीका मुख्य बजारका खाल्डाखुल्डी पुर्न लगाएका थिए । 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १४:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया