Sun, 21 Apr, 2019


परम्परा त्यागेर साँच्चै हामी चम्किएकै हौँ त ?
वैरागी काइँला
फरकधार / पुस २८, २०७५

हाक्पारे नेपाली लोकगीतको एउटा महत्वपूर्ण अंग हो । हाक्पारेलाई विशिष्टीकरण गरेर भन्दा पूर्व नेपालका लिम्बू जातिमा विद्यमान गीति परम्परा हो । हाकक्पारेलाई बाजाहरूसँग गाइने चलन छैन । किनभने यो अरूलाई सुनाउन गाएकै होइन । आफ्नै मनको बह, आफूसँगै भएका साथी या उपस्थित भएका जनसमूहलाई सुनाउन मात्रै गाइने गरिन्छ ।

हाक्पारे भनेको टिकट काटेर स्टेजमा गीत गाएजस्तो होइन । स्टेजमा प्रस्तुत गर्ने पनि एउटा विशिष्ट कला हुन्छ । लिम्बू जातिमा प्रचलित हाक्पारे, धान नाचको पालम आफैँले गाउने परम्पराका गीत हुन् । यसरी गाइएका गीत कसैले सुन्छ भने त्यो उसको खुसी हो ।  

आफ्नै लागि गाइने हाक्पारे गीतमा २०–२५ जना केटा–केटी मिलेर एउटै लर्कोमा बसेर गाइरहेका हुन्छन् । हेर्दा यो  सामूहिक गीत गाएको हो किजस्तो पनि लाग्छ । तर, होइन । एउटा केटीले गीत गाइरहेकी छे भने, उसले आफूले समातेको तन्नेरीलाई मात्रै आफ्नो कुरा भनिरहेकी हुन्छे । अर्थात्, हुलमा पनि आफू–आफू मात्रै गाइरहेका हुन्छन् ।  

सृष्टिको क्रममा मान्छे विकसित भइसकेपछि मान्छेको जीवनमा दुःखदायी घटना हुन थाले । र, ती घटना पर्घेल्ने काम पनि हुन थाले । यस्ता कुरा जान्ने मान्छेले आफ्नो जनसमूहलाई अवसर विशेषमा सुनाउन थाले । यसरी नै यो गायन परम्परा विकास भयो । 

लिम्बू जातिले मान्ने एक देवतालाई रातभरि गीत गाएर उपासना गर्नुपर्छ । यसले लिम्बू जातिमा गीतको परम्परा प्राचीनकालदेखि सुरु भएको हो भन्ने कुरा देखाउँछ ।हाक्पारे गाउने क्रममा सुरुमा उपस्थितहरूलाई सम्बोधन गरेर बक्साउनुपर्दो रहेछ । उपस्थितहरूको मान राखेर गीत गाउनुपर्दो रहेछ । आफ्नो कुरा राख्नुअघि त्यो कुरा कसरी भयो भनेर बताउनका लागि यो सृष्टी, ब्रह्माण्डको सुरुवातदेखिको कुरा संक्षेपमा भन्दा रहेछन् ।

मलाई निकै अगाडि एकजना लिम्बू महिलाले सोध्नुभएकाे थियाे– ‘किन हाम्रो गीत यति सारो विरहलाग्दो हुन्छ ? केटा र केटी एक अर्काको हात समातेर गीत गाइराछन् भने त खुसी पो हुनुपर्ने होइन र ? अनि उनीहरूले गाएको गीतमा किन त्यो व्यथा ? मुटुभित्र घोचिराखेको अनुभूति किन हुन्छ ? सुन्ने मान्छेलाई पनि किन विरक्त लाग्छ ?’ 

लिम्बू जातिको जीवन र जगत्लाई हेर्ने दृष्टिकोणसँग हाक्पारेको सम्बन्ध छ । मान्छेको सृष्टि भइसकेपछि सृष्टिको कर्म पूर्ण भयो । तर, मान्छे मरणशील भएको कुरामा सृष्टिकर्तालाई पनि चित्त बुझेन । उसको सारा प्रयत्न निष्फल भएजस्तो लाग्यो । ईश्वरलाई पनि विरक्त लाग्यो । र, सृष्टिको यही दुःखान्त मानवजीवनमा सुरु भयो ।लिम्बूको दर्शन पनि यही हुनाले खुसीमा गाइरहेको गीतमा पनि विरह अनि व्यथाको रंग, चोट, चिमोट्याइ विद्यमान रहँदो रहेछ । आखिर यत्रो सफलतापछि पनि मान्छे चिर जीवन पाउने प्राणी हुन सकेन । 

हामी जति गर्छौं, एक छिनका लागि मात्रै हाे। एक दिनको समयसम्म बाँचेर गर्ने रहेछौँ भन्ने चेतनाले नै होला लिम्बूमा यस्तो विरह भएको ।

विश्व इतिहास हेर्ने हो भने, सायद १९५० अघि नै ‘सर्च फर द रुट’ भनेर अभियान सुरु भएको हो । हाम्रोमा विसं २०५० को हाराहारीमा पहिचानको कुरा भयो । जति छिटो हामी ग्लोबलाइज्ड हुन थाल्यौँ उत्ति नै छिटो हामीले लोकलाइजेसनको कुरा गर्न थाल्यौँ । आफ्नो पहिचानको कुरा गर्न थाल्यौँ । 

अमेरिका नै अहिले तर्सेर आफू मात्रै बाँच्नुपर्छ भन्न थाल्यो । युनाइटेड किंगंडमले ब्रेक्जिटको माध्यमबाट इयुबाट आफूलाई पन्छाएर आफ्नो अस्तित्व कायममा लागिसक्यो । हाम्रो पहिचान जोगाउन ग्लोबलाइजेसनको रफ्तारले असर गरिरहेको छ । ग्लोबलाइजेसनको यही रफ्तारमा हामीले आफ्नो पहिचान जोगाउन पनि सतर्क हुनैपर्छ ।

हाम्रो नेपाली संस्कृतिमा निकै ठूलो संकट आएको छ । अहिले धेरै कलाकार साहित्यकार यसमा लागिरहेका छन् । वेला–वेलामा हामी मौलिक र आफ्नै भाषामा गीत गायौँ भनेर मक्ख परिरहेका छौँ । तर, अब जाँच्नुपर्यो हो कि होइन भनेर । एउटा सानो उदाहरण म दिन चाहन्छु । सिनेकर्मी नवीन सुब्बाले एक ठाउँमा के भनेका रहेछन्, ‘एकचोटि नेपाली सिनेमालाई हिन्दी भाषामा अनुवाद गरौँ त, अनि त्यो नेपाली हो कि हिन्दी अनि छुट्टिन्छ ।’

हामीले मातृभाषामा गाएको गीतमा मातृभाषा मात्रै त छैन ? हामीले गाएको मातृभाषाको गीतमा जाति र भाषाको रीतिथिति, संस्कृतिको प्रतिविम्ब छ त ? भनेर जाँच्नुपर्यो । रैथाने संगीतले प्रतिनिधित्व गर्ने चिज भनेको संस्कृति र जीवनशैली हो । यसको अभावमा हामीले जतिसुकै फुर्ती लगाए पनि मनोरञ्जनको साधन त होला, तर त्यसमा निहित रैथानेपन भने हटेको हुन्छ ।

कुनै समय मै पनि परम्पराको विरुद्धमा उठेँ । कविता लेखेँ । कराएँ । यो परम्परा भनेको थोत्रे चिज हो भन्यौँ । एकछिन फुर्ती लगायौँ । अनि एक दिन इन्द्रबहादुर राईलाई सोधेँ, ‘यसरी परम्परा त्यागेर साँच्चै हामी चम्किएकै हौँ ?’

अनि उहाँले भन्नुभयो, ‘कुरा त ठीकै हो । तर, बुझ्नु कि खोला छङ, छङ, छङ बग्दै आउँछ । त्यही खोलाबाट एउटा थोपा पानीको कस्तो मज्जाले उछिट्टिन्छ र त्यसमा इन्द्रेणी देखिन्छ । राम्रो देखिन्छ । त्यसलाई देखेर सबैले एक छिन मन पनि पराउँछन्, खुसी हुन्छन् । तर, उछिट्टएको पानी एक ठाउँमा त खस्नुपर्छ । र त्यो पानी माथि भित्ताको ढुंगामा ट्याप्प बस्छ  । तर, कतिन्जेल ? चर्को घाम लागेपछि सुक्छ । नसुक्नका लागि त्यही खोलामा पस्नुपर्छ ।’

अर्थात्, जतिसुकै हामीले क्रान्तिको कुरा गरे पनि हाम्रो परम्पराभित्र हामी सम्मिलित हुन सकेनौँ भने र त्यो परम्परालाई नयाँपन दिन सकेनाैँ भने हाम्रो मिहिनेत फजुल भएर जान्छ । हामी क्रान्ति गर्छौं, विद्रोह गर्छौं, तर अन्ततः एउटा मुलुकको, एउटा समाजले हिँडेको परम्पराको राम्रो गुण लिएर जानैपर्छ ।

अहिले आएर हामीले नेपाली आधुनिक र अति आधुनिक भनिएका गीतले पनि आफू जीवन्त र लोकप्रिय हुनको लागि लोकलयलाई माध्यम बनाएका छन् । उपयोग गरेका छन् । भनेपछि अन्ततः हामीलाई बचाउने चिज त यही लोकलय नै रहेछ नि !

(पौष २४ गते वैरागी काइँलाले शिल्पी थिएटरमा आयोजित रैथाने संगीत शृंखला १ मा दिएको मन्तव्यको सम्पादित अंश)



यो पनि नछुटाउनुहोस्