अमेरिकाविरुद्ध नेपालले हार बेहोर्नुका प्रमुख तीन कारण

आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज बिहान सम्पन्न खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३९ रनले पराजित भयो । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा २४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २०६ रनमा मात्र बनाउन सक्यो । 

नेपालका लागि आरिफ शेखले ७६ बलमा तीन चौकासहित सर्वाधिक ६३ रन बनाए । सोमपाल कामीले ४७ रनको योगदान दिए । अन्य ब्याटरले भने ठूलो पारी खेल्न सकेनन् । अमेरिकाविरुद्ध पनि नेपालले पुरानै गल्ती दोहोर्यायो । 

अमेरिकाविरुद्ध नेपाल हार्नुको मुख्य तीन कारण 

कमजोर फिल्डिङ

नेपालको फिल्डिङ अमेरिकाविरुद्धको खेलमा मात्र नभएर सिरिजमै कमजोर रह्यो । फिल्डिङ नेपालको प्रमुख चिन्ताको विषय बन्न पुगेको छ । नेपाली खेलाडीको खराब फिल्डिङको फाइदा उठाउँदै सिरिजमा विपक्षी ब्याटरले सजिलै रन बनाए ।  

अमेरिकाविरुद्धको खेलमा अन्तिम १० ओभरमा नेपालले निकै खराब फिल्डिङ गर्यो । फलस्वरूप  अमेरिकाले नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य दिन सफल भयो । यदि अमेरिकाले दिएको विकेट लिने मौकालाई फिल्डरले सदुपयोग गर्न सकेको भए नेपालले खेल जित्ने सम्भावना बलियो थियो । 



बलिङमा लय कायम राख्न नसक्नु 

बलिङ नेपालको बलियो पक्ष मानिन्छ । अमेरिकाविरुद्ध पनि नेपालले बलिङमा राम्रो सुरुवात गर्‍यो । तर, टोली त्यसलाई निरन्तरता दिन भने चुक्यो । यदी नेपालले राम्रो सुरुवातलाई निरन्तरता दिन सकेको भए अमेरिकालाई सस्तैमा समेट्न सक्थ्यो । 



कुनै समय अमेरिकाले आठ रन जोड्दा महत्वपर्ण दुई विकेट गुमाएको थियो । तर,  तेस्रो विकेटका लागि सुशान्त मोदानी र आरोन जोन्सले ८८ तथा पाँचौ विकेटका लागि गजानन्द सिंह र साइतेजा मुक्कामल्लाले ८५ रनको साझेदारी गरे । उनीहरूको साझेदारी तोड्न नेपाली बलरलाई समय लाग्यो । यी दुई ठूला साझेदारी नै नेपालको हारको कारण बन्न पुग्यो ।  

ब्याटिङमा ओपनिङ र फिनिसिङ कमजोर

ब्याटिङ नेपालको परम्परागत समस्या हो । अमेरिकाविरुद्धको खेलमा पनि त्यसले निरन्तरता पायो । २४६ रनको लक्ष्य पछ्याउनका लागि राम्रो सुरुवात र फिनिसिङ आवश्यक हुन्छ । तर, अमेरिकाविरुद्ध नेपाल सुरुवात र अन्त्यमा चुक्यो । 

१७ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपाल कुनै समय ९३/५ को कमजोर स्थितिमा थियो । छैटौं विकेटका लागि आरिफ शेख र सोमपाल कामीले १०६ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको पारी उकासेका थिए । 

४४.४ ओभरमा आरिफ आउट भएपछि नेपाललाई ३२ बलमा ४७ रन आवश्यक थियो । एकदिवसीयमा यसलाई खासै ठूलो मानिँदैन । क्रिजमा सोमपाल कामी र करण केसी थिए । यी दुवै राम्रो फिनिसिङ गर्ने क्षमता राख्छन् । 

फिनिसरका रूपमा चिनिएका आदिल अन्सारी पनि ब्याटिङमा आउन बाँकी थियो । यस्तो अवस्थामा नेपालले जित हात पार्ने सम्भावना उच्च थियो । तर, ४४.६ ओभरमा सोमपाल रन आउट भए । यो नै खेलको ट्रनिङ प्वाइन्ट बन्न पुग्यो । सोमपाल आउट भएपछि दबाबमा आएका नेपाली ब्याटरले खुलेर खेल्न सकेनन् । 

फिनिसिङमा चुकेको नेपालले मात्र सात रन बनाउँदा अन्तिम पाँच विकेट गुमाएको थियो । ४४ं.४ ओभरमा १९९/५ को अवस्थामा रहेको नेपाल ४७.४ ओभरमा २०६ रनमा अल आउट भयो । खराब सुरुवातका बाबजुद पनि जित नजिक पुगेको नेपालका लागि फिनिसिङमा चुक्नु नै हारको प्रमुख कारण बन्न पुग्यो । 

  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १२:११:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया