अति सीमान्तकृत पिछडिएको समुदायका रुपमा रहेका चेपाङ जातिको लामो समयदेखि उठाउँदै आएको माग पूरा भएको छ । बागमती प्रदेश सरकारले धादिङ, मकवानपुर र चितवनलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्दै आवश्यक बजेट विनियोजन गरेको छ ।
बुधबार आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले आगामी आव २०७९–०८० को बजेट भाषणमा तीन जिल्लाका चेपाङ जाति बाहुल्य रहेको क्षेत्रलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याइने घोषणा गरेका हुन् ।
अति विपन्न र पिछडिएको जातिको रुपमा रहेको वनकरिया, चेपाङ, माझी र जिरेल जातिको लागि विशेष कार्यक्रम ल्याइने घोषणा पनि बजेटमा गरिएको छ ।
चेपाङ समुदायबाट मुलुकमै पहिलोपटक मन्त्री पाएको बागमती प्रदेशले उनै मन्त्री अर्थात् भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको पहलमा चेपाङ संरक्षित क्षेत्र घोषणा गरेको हो ।
राज्यमन्त्री प्रजाले सीमान्तकृत चेपाङ समुदायको हितको लागि चेपाङ संरक्षित क्षेत्र घोषणासहित आवश्यक बजेट विनियोजन गर्न मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रीलगायतलाई आग्रह गरेका थिए ।
प्रदेश सरकारले अब चेपाङ संरक्षित क्षेत्रम्बन्धी कार्यविधि बनाई बजेट कार्यान्वयन गर्ने राज्यमन्त्री प्रजाले बताए । संविधानको भाग ४ राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तरगत धारा ५१ (च) ९ मा अल्पसंख्यक समुदायलाई आफ्नो पहिचान कायम राखी सामाजिक र सांस्कृतिक अधिकार प्रयोगको अवसर र लाभका लागि विशेष व्यवस्था गर्ने भनी उल्लेख गरिएको छ ।
यसै गरी सोही धाराको (च), ११ मा उत्पीडित तथा पिछडिएको क्षेत्रका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण विकास र आधारभूत आवश्यकता परिपूर्तिका अवसर तथा लाभको लागि विशेष व्यवस्था गर्ने उल्लेख छ ।
सोही कानुनी व्यवस्थालाई टेक्दै सीमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको क्षेत्रलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी सामाजिक र आर्थिक विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्न चेपाङ अगुवा एवं अधिकारकर्मीले माग गर्दै आएका थिए ।
चेपाङ संरक्षित क्षेत्र घोषणाको अलवा प्रदेश सरकारले आगामी आर्थिक वर्षमा धादिङ, मकवानपुर र चितवनमा बसोबास गर्ने अति विपन्न चेपाङ समुदायको आवास निर्माणका लागि चेपाङ एकीकृत बस्ती निर्माणका लागि ५ करोड रुपैयाँसमेत छुट्याइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।