हाम्राे समाजमा पुरुषमात्रै सही ठहरिन्छ, छविसँग सम्बन्धविच्छेद हुँदा सबैले मैमाथि प्रश्न उठाए: रेखा थापा
रेखाकाे निष्कर्ष: सिनेमा उद्योगमा गुटबन्दी मौलायो

हरेक महिनाको अन्तिम शनिबार आयोजना हुने आह्वान सम्वादमा शनिबार अभिनेत्री तथा निर्माता रेखा थापा उपस्थित थिइन् । थापासँग आह्वानकी संस्थापक लेखक अर्चना थापाले कुराकानी गरिन् । त्यही कार्यक्रममा भएको कुराकानीको सम्पादित अंशः 

२०१८ मा तपाईंले देखेका सफल चलचित्र कुन–कुन हुन् ?

यो प्रश्नलाई म दुई तरिकाले हेर्छु । एउटा साँच्चिकै कथा वस्तु उठान गरेका चलचित्र र अर्को व्यावसायीक रुपमा सफल भएका चलचित्र ।म व्यावसायीक रुपमा सफल भनिएका चलचित्रलाई सफल मान्दिनँ । व्यावसायीक रुपमा सफल नभएपनि राम्रो कथा वस्तु उठान गरेर समाजमा राम्रो प्रभाव पारेको सिनेमा सफल सिनेमा हो, मेरो लागि । यस हिसाबले हेर्दा धेरै चलचित्र देखिन्न्न तर व्यवसायी रुपमा सफल भनिएका चलचित्र भने थुप्रै छन् ।

तपाईं सिनेमा क्षेत्रमा प्रवेश गर्नुभएको १८ वर्ष पुग्यो । यो अवधिमा के कस्ता परिवर्तन देख्नुभयो ?

परिवर्तन ठूलो हिस्सामा भएको छ । तर, पात्रहरु भने अझै परिवर्तन भएको मैले देखेकी छैन ।  प्रविधि, कथा र अन्य केही कुरामा परिवर्तन आएपनि पात्र र प्रवृतिमा भने परिवर्तन भएको छैन । जुन गोरेटो यो क्षेत्रमा आउँदा मैले कोर्ने प्रयास गरेकी थिएँ त्यसमा आज पनि केही परिवर्तन भएको दख्दिनँ । फराकिलो हुँदै जानुपर्ने बाटो बरु कन्जस्टेड हुँदै गएको छ ।

कन्जस्टेड कुन अर्थमा ?



कन्जेस्टेड यस अर्थमा कि, अहिले सबैले आफुभित्र भएको कला, प्रतिभाबाहिर ल्याउन सकिरहेका छैनन् । आफुसँग भएको सामथ्र्य त्यसरी बाहिर आउन नसक्नुमा धेरै कारणहरु छन् । ती तमाम कारण मध्ये एउटा हो गुटबन्दी । आजभोलि चलचित्र क्षेत्रमा पनि गुटबन्दी देखिन थालेको छ । हाम्रो समयमा हामी सबैसँग मिलेर काम गर्थ्यौ । सबैसँग एउटै व्याहार र समान आदर गरेर सहकार्य गरेर काम गर्थ्यौ ।

तर आजभोलि सबैके आआफ्नो गुट छ । समूह छ । एउटाले अर्काे समुहसँग सहकार्य गरेर काम नगर्ने, एउटाले अर्काेसँग सहकार्य गरेर काम गर्नु पर्दा यो मेरो समूहको होइन भनेर फरक तरिकाको व्यवहार गर्ने । यस्तो प्रवृतिले एउटा कलाकारलाई मात्र होईन सम्पूर्ण सिने जगतलाई नै नोक्सानी हुन्छ ।



त्यसो भए गुटबन्दी फिल्मको प्रचार प्रसारको हकमा पनि देखिन्छ ? 

मैले आफैले यो कुरा नभोगे पनि, तपाईंले भनेको कुरा केही हदसम्म सत्य चाँहि हो । 

तपाईंले अघि पात्र र प्रवृति नफेरिएको कुरा गर्नु भयो । एउटा हिरोले हिरोइनलाई दसबाह्र जना गुन्डाहरुसँग लडेर जोगाउने । हिरोइनलाई ग्लायमरको लागि मात्रै प्रस्तुत गर्ने प्रवृति अझै छ भन्न खोज्नु भएको हो ? तपाईंले बनाउने सिनेमा पनि त्यस्तै प्रवृति दोहोरिन्छ कि केही फरक हुन्छ ?

मेरो पात्र छनोट फरक छ । मैले निर्माण गर्ने सिनेमाको कथावस्तु पनि फरक छ । यही समाजबाट कथा उठाउनुपर्ने भएकाले पनि त्यति धेरै फरक नहोला । तर, थोरै भएपनि फरक चैँ छन् ।

अहिलेसम्मको प्रवृतीलाई हेर्न हो भने नारीलाई एउटा सधैँ शृङ्गार गरेर राम्री वस्तुको तवरमा मात्रै प्रस्तुत गर्ने गरिन्छ । जब कि उनीहरुमा धेरै क्षमता हुन्छ । उनीहरु पनि सक्षम छन् भन्ने कुरालाई पुष्टि गर्न उनीहरुलाई आफ्नो चलचित्रमा मुख्य पात्र बनाएर उनीहरुको क्षमता र आक्रोशलाई बाहिर पोख्न सक्ने पात्रको रुपमा मैले प्रस्तुत गर्छु । उनीहरु पनि विद्रोह बोल्न सक्छन् र समाजमा उनीहरु पनि धेरै कुरा गर्न सक्षम छन् भन्ने देखाउने प्रयास गर्छु ।

उनीहरु पनि आफूमाथि हुने हिंसा र अत्याचारविरुद्ध बोल्न र प्रतिकार गर्न सक्छन् र सक्नुपर्छ भनेर उनीहरुको कथालाई फरक तरिकाले प्रस्तुत गर्छु । यस अर्थमा मेरा सिनेमा फरक र मेरा सिनेमाका पात्रहरु फरक रुपमा प्रस्तुत हुन्छन् । मैले आजसम्म बनाएका सबै सिनेमाहरुमा यीनै विषयलाई उठाएकी छु ।

तपाईंका फिल्ममा महिला एकातर्फ सक्षम, आत्मनिर्भर, बौद्धिक हुन्छन भने अर्कातर्फ उसले गरेको विद्रोह अनि किक फाइट हेर्दा उसका तपाईंले पुरुषत्वको नेचर हाल्दिनु भएको जस्तो किन लाग्छ ? महिलालाई अलि फरक र बौद्धिक पात्रका रुपमा प्रस्तुत गर्न सकिँदैन ?

मैले कुनै पनि फिल्म बनाउँदा कसको लागि बनाउँदै छु र कस्तो जमातको मान्छेका लागि बनाउँदै छु भन्ने कुरा ध्यान दिनु पर्ने हुन्छ । यस अर्थमा भन्नु पर्दा मेरा सिनेमाका अधिकांश दर्शक ग्रामिण भेगमा बस्छन् । उनीहरुको शैक्षिक अवस्था उनीहरुको समस्या के हो भन्ने कुरा बुझेर पनि मैले सिनेमा बनाउनुपर्ने हुन्छ ।मैले शहरमा बस्ने मान्छे वा शिक्षित मान्छेका लागि सिनेमा बनाउनु पर्छ जस्तो लाग्दैन ।

तपाईंले भनेको जस्तै मैले मेरो सिनेमाको पात्रलाई शिक्षित बनाए र उसले बौद्धिक रुपमा आफूमाथि भएका अन्याय विरुद्ध लड्न लगाएँ रे । के त्यसो गर्दा यो देशमा भएको अधिकांश दर्शकले मन पराउँछन् ? के त्यो फिल्ममा उनीहरुले आफूलाई त्यो फिल्ममा पाउन सक्छन् ? मलाई लाग्छ जसका लागि सिनेमा बनाउने हो, उनीहरुकै कथा, उनीहरुकै परिवेशमा कथा भन्नुपर्छ ।सिनेमा निर्माणका सबैजसो पक्षमा पुरुषको सहभागिता धेरै देखिन्छ । पुरुषको धेरै सहभागिताको त्यो प्रभाव लेन्स हुँदै सिनेमासम्म कत्तिको आईपुग्छ ?

नेपाली सिनेमा जगतमा काम गर्ने पुरुषको संख्या बढी छ र पुरुषको दवदवा बढी छ, यो सत्य हो । सम्पूर्ण कुरामा पुरुषकै कन्ट्रोल छ जस्तो लाग्दैन । किनभने यो सिर्जनाको क्षेत्र हो ।

तपाईं नायिका, निर्मात्री र निर्देशको भूमिकामा देखिइसक्नु भएको छ । त्यही भएर  तपाईंका सिनेमामा नारीवादी अन्डर टोन छ कि रेखावादी अन्डर टोन छ

नारीवाद र रेखावाद एक अर्काका परिपुरक हुन् । म आफैंपनि नारीवाद र समाजको प्रतिनिधि पात्र हुँ । मैले समाजमा जे देख्छु, अनुभव गर्छु त्यसैलाई कथाको माध्यमबाट पर्दामा उतार्ने प्रयास गर्ने हो । तर, रेखावाद होइन ।सिनेमाको बजार, आफ्नो नाम अनि सिनेमाको गुणस्तर कसरी ब्यालेन्स गर्नुहुन्छ ?मलाई रामप्यारीसम्म सिनेमा सुपर हिट होस, धेरै आम्दानी होस, सिनेमामा मैले प्रस्तुत गरेको इस्युले पनि राम्रो प्रभाव पारोस् जस्तो लाग्थ्यो । तर, रुद्रप्रिया पछि चैँ मलाई के लाग्यो भने सबै कुरा पैसा या नामको आँखाले हेर्नु हुँदो रहेनछ ।

मैले यतिका वर्ष काम गरेर नेम र फेम पाएँ तर मैले रिर्टनमा के दिए ? पछिल्ला २ वर्षमा मैले व्यवसाय भन्दा पनि समाजलाई पहिलो प्राथमिकतामा राख्छु । वास्तविक पात्र र कथा बाहिर ल्याउँदा सिनेमाको व्यावसायीक रुप राम्रो भएन पनि होला । झुटो सपना बेचेर मलाई पैसा कमाउनु छैन । तपाईले पछिल्लो समय निर्माण निर्देशन गर्नुभएका, केही सिनेमा यथार्थपरक विषयवस्तु सहित आएका छन् ।

तर पनि ती त्यति धेरै चल्दैनन किन ?

मलाई लाग्छ मान्छेलाई वास्तविक जीवनदेखि विरक्त लागेको छ । किनकी सिनेमा हेरिरहँदा साढे दुई घण्टा मान्छे आफूलाई भुल्न चाहन्छन् । मान्छे मनोरञ्जनको प्याकेज हेरेर निस्कन चाहन्छन् । फिल्म भनेको मनोरञ्जन मात्रै हो भन्ने बुझाई छ । मलाई पनि केही वर्ष अगाडिसम्म यस्तो लाग्थ्यो । नेपालमै पनि यथार्थपरक विदेशी सिनेमा नेपालमा चल्दा करोडौ पैसा कलेक्सन गरेर जान्छन ।

तर, कर्णालीको कथा वा तराईको कथा हामीले सिनेमा उतार्दा चल्दैन । किनभने मान्छेलाई आफ्नै वास्तविकता हेर्नु छैन । मान्छेहरु आर्टिफिसियल भैसकेकाछन् । 

बलिउड र हलिउडमा मि टु ले निकै चर्चा पायो । तर नेपाली सिनेमा उद्योगमा भने विषयमा केही कुरा पनि बाहिर आएन । किन कोही बोलेनन ? के यति हिँसा मुक्त छ हाम्रो सिनेमा उद्योग ?

एउटा पुरुष कहिल्यै पनि दोषी मानिँदैन । बरु उल्टै पीडित महिलाले पुरुषको पूजा गरिरहेका हुन्छन् । उदाहरणको लागि ७÷८ वषै अगाडी मैले छवि ओझासँग सम्बन्ध विच्छेद गरे । ति व्यक्तिको अगाडी नै दुई/तीन वटा विवाह असफल भईसकेका थिए तर दोष कसलाई लगाईयो ? मलाई ।

रेखा थापा गलत भन्ने भयो ।हाम्रो समाजको संरचना र सोच नै छोरी मान्छेको लागि बनेको छैन । जसरी पनि महिलालाई प्रश्न गरिन्छ । हामी छौँ, तिमी बोल भन्नेगरि हामी युनाईटेड छैनौ । यस्तो नहुँदासम्म यो कुरा यस्तै चलिरहन्छ ।

हामी कुन समाजामा छौँ ? मिटुको कुरा गर्नुहुन्छ तपाईहरु ? मानिलिनुहोस कोही केटीले मिटुको कुरा ल्यायो रे तपाईहरु सबैले साथ दिन सक्नुहुन्छ ? उसको त करियर जान्छ, सबैकुरा जान्छ । त्यो पुरुष सधैँ गाईको दुधले नुहाएको जस्तो भइरहन्छ ।

  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार ३:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया