हेटौंडामा साइकल लेन बनाउँदा स्थानीयले किन गरे मेयर लामाको आलोचना ?

हेटौंडा बजारको पार्किङ समस्या जिउकातिउँ छ । सडक उस्तै, उत्रै छ । सडकमा गुड्ने सवारी बाहेक हेटौंडा बजार क्षेत्रमा सडक बढ्न र विकास हुन सकेको छैन । दिनहुँ बढ्दो सवारी चापले अस्तव्यस्त बनाएको हेटौंकाका सडकमा बनेको हरियो पाटामा सेतो साइकलको चित्रले राम्रो त देखिएको छ । तर यसको अर्थ के भन्ने बुझ्न कठिन नै छ । 

साइकलको लेनमा पार्किङ गरेर राखिएको मोटरसाइकल, अटो, ट्याम्पो लगायतका सवारीले साइकलको चित्रण गरेर बनाइएको उक्त लेनको अस्तित्व नै खलल बनाएको त छ नै । त्यसमा पनि उपमहानगरपालिकाको बजेट बालुवामा पानी जस्तै भएको भन्दै स्थानीय सरकारसँग हेटौंडाका नागरिकहरूले आक्रोश नै पोख्न थालेका छन् । सामाजिक सञ्जालमा अहिले भर्खरै निर्माण भएको साइकल लेनको चर्चा परिचर्चा हुने गरेको छ । 

आइतबारदेखि सुरु हेटौंडाको मुख्य बजार क्षेत्रमा साइकल लेन बनाउन सुरु गरियो । हेटौंडा उपमहानगर पालिकासँगको सहकार्यमा हिमालयन राइडर्स सोसाइटीले साइकल लेन निर्माण गरेको हो । हेटौंडाको मुख्य बजार क्षेत्र बुद्ध चोकदेखि पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतर्फ साइकल लेन निर्माण गरिएको छ । ४ सय २ वर्ग मिटर बराबरको करिब ५६ वटा साइकल लेन बुझाउने सङ्केत चित्र तयार पार्ने काम काम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको ५ लाख रुपैयाँ बजेट तथा हिमालयन राइडर्स सोसाइटीको समन्वयमा साइकल लेन निर्माण गरिएका उक्त साइकल लेन ‘बाँदर को पुच्छर लौरो न हतियार’ भनेझैँ भएको भन्दै स्थानीयहरूले आलोचना गरिरहेका छन् । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको सडक छेउमा बनाइएको साइकल लेनको अहिले चर्चा चलेको छ ।  

स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा नवनिर्वाचित मेयर मीनाकुमारी लामाले सुरुवात गरेको नयाँ अभ्यास अहिले चर्चाको विषय बनेको हो । ‘ग्रिन एन्ड क्लिन सिटी’ हेटौंडामा साइकल लेनले हेटौंडाका सडकलाई थप आकर्षित बनाउनुको साथै साइकल चलाउन समेत सही गन्तव्यको रूपमा मंगलबार हेटौंडाको मुख्य बजार क्षेत्रमा साइकल लेन बनाउन सुरु गरियो । करिब ३ किलोमिटर सडकको दायाँबायाँ साइकल लेनको रेखाङ्कन गरिएको छ । लगभग २ देखि ३ दिनको बिचमा सडकका छेउमा तयार भएको साइकल लेनको उपयोग भन्दा पनि दुरुपयोगमा आएको भन्दै स्थानीयहरूले मेयरको पहिलो काम नै बालुवामा पानी खन्याए जस्तो भएको आरोप लगाएका छन् । हेटौंडा उपमहानगरपालिकाले साँघुरो सडकमा साइकल लेन बनाएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । साइकल लेनको आवश्यक छ तर साँघुरो सडकमै साइकल लेन बनाउनु उपयुक्त नभएको सर्वसाधारण बताउँछन् ।

पछिल्लो समय हेटौंडामा साइकलको प्रयोग गर्ने क्रम बढ्दै गएको र साइकलको प्रयोगलाई संस्कृतिकै रूपमा विकसित गर्न मुख्य राजमार्ग क्षेत्रमा साइकल लेन निर्माण गर्नु महत्त्वपूर्ण भएको र आगामी दिनमा नगरका सडकहरूलाई साइकल मैत्री बनाइने नगर प्रमुख लामाले प्रतिबद्धता जनाउँदै साइकल लेनको सुरुवात गरेकी थिइन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्च दरमा भइरहेको बेला स्वास्थ्य, वातावरण र आर्थिक रूपमा सस्तो हुने साइकलको प्रयोगमा जोड दिन पनि नगर प्रमुख लामाले आग्रह गरिन् । तर साइकल लेनको रेखाङ्कन नै नसकिँदै स्थानीय स्तरबाट मेयर लामा आलोचित हुनुपर्‍यो । बजार क्षेत्रको साँघुरो सडकका कारण वर्षौँदेखि पार्किङको समस्या भोग्दै आएका हेटौंडाका नागरिकहरु पार्किङ व्यवस्थापनमा ध्यान नदिएर झन् सडक साँघुरो पार्ने काम उपमहानगरपालिकाले गरेको भन्दै आक्रोशित समेत भएका छन् ।  

यस विषयमा मेयर लामा सँग थप जानकारी लिन खोज्दा साइकल लेनको बारेमा भन्ने नागरिकहरूलाई आफूले केही नभन्ने र धन्यवाद दिने बताइन् । ‘म यो विषयमा केही बोल्दिनँ, धन्यवाद भन्छु,’ उनले यसो भन्दै यो विषयमा थप बोल्न नपर्ने बताइन् ।





  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार १०:५१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया