मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर १३ कि ६५ वर्षीया बेल्किसरा बोहरा निःशुल्क आँखा उपचार हुन्छ भनेर जिल्ला आँखा उपचार केन्द्र मुगुमा आइन् ।
रेडियोमा निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना सुनैकै भरमा शिविरमा भर्ना भएकी बेल्किसरा मोतियाविन्दुको सफल उपचारपछि खुसी भएकी छन् । ‘आँखाको अपरेसन निःशुल्क भयो । अब अरूले झैँ राम्ररी देख्न र हेर्न पाउने भएँ,’ आँखाको ज्योति पुनः पाएपछि उनले खुसी हुँदै भनिन् ।
नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना हिमालय आँखा अस्पताल घाँरीपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लामा निःशुल्क आँखा चेकजाँच गरिएको हो ।
तीनदिने निःशुल्क आँखा शिविरबाट ९१ जना आँखाका बिरामीको मोतियाबिन्दु गरिएको छ । जसमा ९०४ जना आँखाका बिरामीलाई निःशुल्क चेकजाँच गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले बताए ।
आँखाको उपचारका लागि हजारौँ रकम खर्चेर ठूला सहर धाउनुपर्ने बाध्यता हटेको सुनाउँदै बोहराले अरुबेला यस्तै उपचार गर्नुपरे सुर्खेत, नेपालगन्ज, काठमाडौंजस्ता ठूला सहरमा जानुपर्ने गरेको बताए । तर, शिविरमा आँखाको उपचार सित्तैमा पाइँदा खर्च पनि जोगिएको उनको भनाइ छ । जोगिएको खर्चले आँखालाई आवश्यक पर्ने पौष्टिक खाना र फलफूल खाने उनले सुनाइन् ।
स्वास्थ्य उपचारका शिविर गाउँगाउँमा सञ्चालन गरिए ग्रामीण भेगका सर्वसाधारणलाई ठूलो राहत पुग्ने उपाध्यक्ष मल्लले बताए ।
बुधबारबाट सुरु भएको तीनदिने शिविरमा मोतीबिन्दु, मासु पलाएको रोगको निःशुल्क शल्यक्रियालगायत आँखासम्बन्धी सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिएको हिमालय आँखा अस्पतालले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।