‘जनयुद्ध’ र जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी
फरकधार / ४ असार, २०७९
यो सामग्री सेयर गर्नुहोस्

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका छन् । 



राष्ट्रिय युवा परिषदअन्तर्गतको सहिद तथा बेपत्ता योद्धा सन्तति युवा सञ्जाल काभ्रेले धुलिखेलमा आयोजना गरेको दुईदिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री गहतराजले समाज रुपान्तरणका लागि ज्यानको आहुति दिने सबैलाई राष्ट्रिय सहिदका रुपमा सम्मान दिनुपर्ने बताए । 
 
सहिद तथा बेपत्ता परिवारका युवा लक्षित नेतृत्व तथा क्षमता विकाससम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री गहतराजले व्यवस्था परिवर्तनका लागि आफ्नो जीवनको बलिदानी दिने महान् सहिद तथा बेपत्त योद्धाहरुकै कारण नेपालमा गणतन्त्र स्थापना भएको उल्लेख गरे । लामो संघर्षपछि प्राप्त व्यवस्था उल्टाउन पछिल्लो समय भित्री तथा बाहिरी तत्व लागिपरेको जिकिर गर्दै मन्त्री अथकले प्राप्त सम्पूर्ण उपलब्धि जोगाउने जिम्मेवारी युवाको काँधमा आएको बताए । 
 
पुष्पकमल दाहाल (प्रचण्ड) पहिलोपटक प्रधानमन्त्री हुनेवेला नै जनयुद्ध तथा जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरे पनि हालसम्म उक्त निर्णय लुकाइएको भन्दै मन्त्री गहतराजले वर्तमान सरकारले नै उक्त निर्णय प्रक्रियालाई पूर्णता दिने प्रस्ट पारे । 
 
आफ्ना पुर्खाहरुले जीवन त्यागेर दिलाएको उपलब्धिप्रति युवाहरुले गर्व गर्न सक्नुपर्ने मन्त्री गहतराजको भनाइ थियो । उनले सहिद तथा बेपत्ता योद्धा सन्तति युवा सञ्जाललाई सबैको साझा सञ्जालका रुपमा विकास गर्दै नेपालमा भएका सबै संघर्षका घाइते, अपांग तथा तिनका सन्ततिलाई गोलबद्ध गर्नसमेत सुझाव दिए । 
 
सहिद तथा बेपत्ता योद्धा सन्तति युवा सञ्जालका अध्यक्ष आरती शर्माको अध्यक्षतामा सञ्चालन गरिएको कार्यशाला गोष्ठीमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा खेलकुद मन्त्रीका स्वकीय सचिव नरेन्द्र पाण्डे (जेम्स)लगायत विभिन्न जिल्लाबाट उपस्थित २५ भन्दा बढी युवाको सहभागिता रहेको थियो ।











  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार २०:३०:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया