जिल्लामा तस्करी नियन्त्रण गरिएको धनुषा प्रहरीको दाबी

धनुषा प्रहरीले जिल्लामा तस्करीलाई नियन्त्रण गरिएको दाबी गरेको छ । आफ्नो क्षमता र जनशक्तिले भ्याएसम्म जिल्लाका विभिन्न नाकाहरूमा तस्करी नियन्त्रणमा रहेको प्रहरी अधिकृतहरूले दाबी गरेका हुन् । नेपाल प्रहरीले तस्करीलाई सीमा क्षेत्रमा नियन्त्रण गर्ने रणनीति नै अपनाएको उनीहरू बताउँछन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जिल्लामा तस्करी नियन्त्रणमा रहेको दाबी गरेका छन् । ‘खुला सिमाका कारण घरायसी प्रायोजनका लागि छिटपुट सामानहरू व्यवहारिक रुपमा भित्रिएका होला । तर, ठूलो मात्रामा चोरी निकासी भएको छैन,’ उनले भने ।

उनले दैनिक रुपमा चोरी तस्करीका सामानहरू बरामद भइरहेको दावी गरेका छन् । धनुषा प्रहरीले तस्करीका सामान नियन्त्रण गरिरहेको तथ्यांक पनि उपलब्ध छ । डीएसपी क्षेत्रीले दैनिक रुपमा मातहतका प्वाइन्टहरूले अवैध सामान फेला पारी पक्राउ गरी कारबाही प्रक्रियासमेत अगाडि बढाइएको जानकारी दिएका छन् । 

धनुषा प्रहरीले तस्करीका सामानहरू बरामद गरी विगतको तुलनामा राजश्व रकमसमेत करिव दोब्बर बढाएको डीएसपी क्षेत्रीको दावी छ । धनुषा प्रहरीले आर्थिक वर्ष २०७५/७६ मा अवैध चोरी निकासीका सामानहरू जिल्लाका विभिन्न नाकाहरूबाट बरामद गरी २ करोड ६५ लाख १० हजार ३३२ रुपैयाँ राजश्व संकलन गरेको तथ्यांक छ । 

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ३ करोड ९ लाख २१ हजार ६७४ रुपैयाँ राजश्व संकलन गरिएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा सो रकम बढेर ४ करोड १६ लाख २८ हजार ६०९ पुगेको देखिन्छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्रै धनुषा प्रहरीले जिल्लाका विभिन्न नाकाहरूबाट अवैध चोरी निकासीका सामानहरू पक्राउ गरी ४ करोड ८० लाख ८४ हजार ४९९ रुपैयाँ राजश्व संकलन गरेको तथ्यांक छ । 

धनुषा प्रहरीले अवैध रुपमा तस्करी भईरहेको चाँदी, लत्ता कपडा, पितल, किराना सामग्री, अवैध मदिरालगायतका सामानहरू जिल्लाका विभिन्न नाकाहरूबाट पक्राउ गरेर गत चार आर्थिक वर्षमा कूल १४ करोड ७१ लाख ४५ हजार ११४ रुपैयाँ राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 



सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्षेत्रमा खटिने सादा पोशाकका सुरक्षाकर्मीले नियन्त्रण गर्ने गरेको धनुषा प्रहरीको दाबी छ । प्रहरीले तस्करीका सामान भण्डारण गरेर राखेका गोदाममा समेत छापा हान्ने काम गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको सूचना शाखाले जनाएको छ ।

तस्करी नियन्त्रणका लागि प्रहरीले निरन्तररूपमा तस्करी गर्ने पुराना तस्करको निगरानी गर्ने र तस्करी गरेको सूचना आउनासाथ नियन्त्रण गर्ने काम भएको डीएसपी क्षेत्रीले जानकारी दिए । जिल्लाका सीमा क्षेत्रमा अहिले दैनिक लाखौंको तस्करीका सामान नियन्त्रण हुने गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय धनुषाले भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा तस्करी नियन्त्रण गरिएको जनाएको छ ।



सीमा क्षेत्रका प्रहरी चौकीलाई विशेष गरेर रातको समयमा उच्च सतर्कतामा राखिएको डीएसपी क्षेत्रीले बताए । उनले तस्करहरू अहिले आत्तिएको अवस्था  रहेको दावी गरेका छन् । अवैध चोरी निकासीमा संलग्न दर्जनौं व्यक्तिहरूलाई पक्राउसमेत गरिएको प्रहरीले दावी गरेको छ । 

धनुषामा विशेष गरेर भारतीय बजारबाट भन्सार छलीका कपडा, सुर्ती, जुत्ता चप्पल, छालाका सामान, खाद्यान्न, किराना तथा हार्डवेयरका सामान, मोटरपार्टस्, मेसिनरी सामान अवैधरूपमा आउने गरेको जनकपुर भन्सार कार्यालयले जनाएको छ । 

  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १५:११:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया