५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि आइपुग्यो २२ लाख मात्रा फाइजर खोप

५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने फाइजर खोप (बायोएन्टेकको पेडियाट्रिक) नेपाल आइपुगेको छ। अमेरिकी सहयोगमा आइतबार बिहान २२ लाख ३ हजार २ सय मात्रा फाइजर खोप नेपाल आइपुगेको हो।

त्यसका लागि चाहिने २ लाख २० हजार ८ सय भायल घोलक दुई दिन अगाडि आइपुगेको खोप आपूर्ति शाखाका सुरेन्द्र चौरासियाले जानकारी दिए। नेपालले कोरोनाविरुद्धको खोपमा उल्लेख्य प्रगति गरेको भन्दै कोभ्याक्सले बालबालिकाका लागि निःशुल्क फाइजर खोप दिएको हो। 

सरकारले पहिलो चरणमा २७ जिल्लामा अभियान सञ्चालन गर्ने भएको छ। कोभ्याक्स सुविधामार्फत ८४ लाख मात्रा खोप आउने भएको हो। यसअगाडि सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो।

पहिलो चरणमा २७ जिल्लाका १९ लाख १९ हजार ४० जनालाई असार ९ देखि १५ गतेसम्म दिइने भएको छ। त्यस्तै, पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा २ साउन देखि ८ सम्म लगाउने कार्यतालिका बनाइएको छ।

बाँकी रहेका ५० जिल्लामा पहिलो चरण भाद्र ५ देखि ११ सम्म सञ्चालन हुने छ। त्यस्तै, दोस्रो चरण भदौ २७ देखि असोज १ गते सम्म सञ्चालन हुनेछ। 

पहिलो चरणमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिल्वस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र डडेल्धुरामा खोप कार्यक्रम सञ्चालन हुनेछ। 



५ देखि ११ वर्षका बालबालिकाका लागि शून्य दशमलब २ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजर कम्पनीले जनाएको छ। १२ वर्षभन्दा माथिका सबै उमेर समूहमा शून्य दशमलव ३ एमएलका दरले दुई डोज लगाइएको थियो। 

सरकारले ‘पेडियाट्रिक’ फाइजर खोप सञ्चालन गर्न आवश्यक पर्ने सबै तयारी पूरा गरेको छ। स्वास्थ्यकर्मीलाई तालिमसमेत दिइसकेको छ।



  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार २२:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया