सरकारलाई अनशनस्थलबाट डा. गोविन्द केसीका ५ प्रश्न

काठमाडौं– इलाममा अनशनरत डा. गोविन्द केसीले सरकारलाई पाँच प्रश्न गरेका छन् । मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि १६औँ पटक अनशन बसेका केसीले सत्तासीन कम्युनिस्ट पार्टी पनि शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक विषयलाई व्यापारीकरण गर्न केन्द्रित भएकोप्रति दुःख व्यक्त गर्दै सरकारलाई पाँच प्रश्न गरेका छन् । 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको नाममाथि नै प्रश्न गर्दै केसीले प्रश्न गरेका छन्, ‘के हो कम्युनिस्ट भनेको ? तपाईंहरूको व्यवहार हेर्दा त लाग्छ पुँजीवादको पनि विकृत रूप ‘क्रोनी क्यापिटलिज्म’को पर्यायवाची शब्द साम्यवाद वा ‘कम्युनिजम’ हो । कुरा यही हो त ?’

चिकित्सा शिक्षा ऐन र आयोगबीच अन्योल देखिएको भन्दै केसीले अर्को प्रश्न गरेका छन्, ‘चिकित्सा शिक्षा ऐनले अब बन्ने चिकित्सा शिक्षा आयोगलाई निर्देशित गर्ने हो कि आयोगका निर्णय ऐनका प्रावधानभन्दा माथि हुने हुन् ?’

चिकित्सा शिक्षा ऐनले चिकित्सा क्षेत्रमा सुधारभन्दा व्यापार बढाउने भन्दै केसीले सरकरालाई प्रश्न गरेका छन्, ‘तपाईंहरूले ल्याउन खोजेको ऐनको नियत चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउने हो कि यस क्षेत्रको व्यापार–व्यवसाय प्रवद्र्धन गर्ने हो ? खास व्यवसाय प्रवद्र्धनकै लागि देशको कानुन बनाउन मिल्छ ?’

सत्तासीन नेताहरू मतदाताको मतप्रति नै अनुत्तरदायी देखिएको भन्दै केसी अर्को प्रश्न गर्छन्, ‘तपाईंहरूलाई मतदाताले कसको काम गर्नका लागि चुनेका हुन् ? तपाईंहरूको आफ्नै, तपाईंका आसेपासे व्यवसायीहरूको वा आमनागरिकको ?

देशमा पानीको अभावमा मानिस मर्ने गरेको समयमा सरकार भने स्वास्थ्यको व्यापारमा लागेको तर्क दिँदै केसीले अर्का प्रश्न गरेका छन्, ‘अहिले पनि यही देशको भूगोलमा त्यस्ता बस्ती छन् जहाँ जीवनजलको अभावमा मानिसको मृत्यु हुन्छ । 



तपाईंहरूको प्राथमिकता त्यहाँ स्वास्थ्य सेवा पु¥याउने (त्यसका लागि दुर्गमसमेतका विपन्न र जेहेन्दार विद्यार्थीलाई निःशुल्क चिकित्सा विषय पढाएर परिचालन गर्ने अनि भौतिक पूर्वाधार पुर्याउने) हो कि यो क्षेत्रको व्यापार सहजीकरण मात्रै गरिरहने ?’ 

चिकित्सा शिक्षा विधेयक व्यापारमुखी भएको केसीले आरोप लगाएका छन् । स्वास्थ्य क्षेत्रलाई व्यापारभन्दा पनि जनमुखी बनाउन आफूले सोधेका प्रश्नको जवाफ दिन पनि उनले सरकारलाई आग्रह गरेका छन् । 



  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार १२:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया