युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले सिंहदरबारभित्र खेलकुदलाई सामान्य गतिविधिको रूपमा मात्रै लिइने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आज मन्त्री गहतराजले देशको प्रमुख प्रशासनीक निकायको प्राथमिकतामा खेलकुद नपर्ने बताएका हुन् ।
`खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र हो भन्ने बुझाइ छ,´ उनले भने, `सिंहदरबारभित्र त्यही बुझाई छ, तर खेललाई चार/पाँच हिसाबले बुझ्नुपर्छ ।´
खेलकुद उद्यम भएको बताउँदै मन्त्री गहतराजले भने, `हामीले त्यो बुझाउनु पर्ने आवश्यकता पनि छ । ठूला देशले अन्तर्राष्ट्रिय स्तरमा लबिङ गरिरहेका छन् । हाम्रो देश जुन प्राकृतिक रूपमा सुन्दर छ । हामीले खेललाई पर्यटनसँग जोड्नुपर्छ । हाम्रोजस्तो सानो देशले अन्तर्राष्ट्रिय सम्बन्ध सँग जोड्नुपर्छ । जसलाई स्पोर्ट्स डिप्लोमेसीका रुपमा पनि बुझ्नुपर्छ ।´
उनले आज नै हुने एन्फा चुनावकाे नतिजाले नेपाली फुटबललाई नयाँ स्थानमा पुर्याउने आशा व्यक्त गरे । `आजको नतिजाले नेपालको फुटबललाई नयाँ ठाउँमा पुर्याउन सकोस् । यसलाई देशव्यापी बनाउन सकियोस् । यो ऐतिहासिक दायित्व पुरा गरेपछि । त्यसलाई पनि विगतको कामको समीक्षा गरेर नयाँ कार्य दिशा दिनुपर्छ,´ उनले भने ।
`लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व छनोट गर्नुहुनेछ । सबैले आआफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । मलाई लाग्छ यी दुई काम गरिसकेपछि साधारण सभाको ऐतिहासिक दायित्व पूरा हुन्छ । कार्ययोजनालाई निरन्तर फलो गर्न र कार्ययोजना कार्यान्वयनको सन्दर्भमा सबै प्रतिनिधिले झकझक्याउनुपर्ने हुन्छ,´ मन्त्री गहतराजले थपे ।
उनले अहिले खेलाडी र प्रशिक्षकबीच भइरहेकाे विवादमा सरकारी निकायले हस्तक्षेप गर्न नमिल्ने बताए । `याे एन्फाकाे अन्तरिक विषय हाे । हामीले त्यो विषयमा सिधा हस्तक्षेप गर्नु हुँदैन । एएफसी र फिफाको नियमका कारण त्यो गर्न पनि मिल्दैन,´ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।