अन्तर्राष्ट्रिय बजारमा नै बढेर आएपछि सरकार पेट्रोलियमको मूल्य बढाउन बाध्यः मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । 

पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले बाहिरबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्न सक्ने अवस्थामा सरकार नरहेको भन्दै मन्त्री बडूले सरकारले बढेर आएको मूल्यमा कर घटाएर १० रुपैयाँ मूल्य कम गरेको बताए । 

सरकारले विगतमा लगाएको कर कम गरेर उपभोक्तालाई अझ सस्तोमा तेल दिने प्रयास गरिरहेको उल्लेख गर्दै उनले तत्कालका लागि १० रुपैयाँभन्दा बढी घटाउन सक्ने स्थितिमा सरकार नरहेको जिकिर गरे । 

असार २ गते आएको मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा पुगेकोमा सरकारले १० रुपैयाँ घटाएर १९९ रुपैयाँ कायम गरिएको उनको भनाइ छ । मन्त्री बडूले पेट्रोल र डिजेलमा मूल्य बढाए पनि ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यासको मूल्य नबढाएको उनले बताए । आयल निगमलाई अहिले प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको उनले दाबी गरे । 

उद्योगमन्त्री बडूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशभित्र भएका उद्योगको क्षमता विकास र रुग्ण उद्योग सञ्चालन गर्ने गरी आएको दाबी गरे । अहिले नेपालमा भएका राष्ट्रिय उद्योगहरु ७० प्रतिशतभन्दा बढी क्षमता चल्न नसकेको अवस्था रहेकाले उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आए मात्रै राष्ट्रिय उत्पादन बढ्ने बताए । 

उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सम्भव भएमा उद्योगीको मागलाई सम्बोधन गर्न सरकार तयार रहने उनले बताए । सरकारको नीति तथा कार्यक्रमअनुसार नयाँ चालू आर्थिक वर्ष लागेको एक महिनाभित्र नै रुग्ण उद्योग सञ्चालन मोडालिटी ल्याउने तयारी भइरहेको मन्त्री बडूले बताए । 



उद्योग मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले सरकारले चिनी उद्योगको संरक्षण गर्ने नाममा भन्सार दर बढाउँदा बजारमा मूल्यवृद्धि भएको दाबी गरे । देशमा भएका चिनी उद्योगको उत्पादनले माग धान्न नसक्ने अवस्था नभएको बताउँदै सचिव पाण्डेले मूल्यवृद्धि कम गर्नका लागि सरकार आफैँले चिनी आयात गरेर बजारमा पुर्याउनुपर्ने आवश्यकता औँल्याए । 

सचिव पाण्डेले सरकारले किसानहरुलाई सहज रुपमा जनतालाई मल उपलब्ध गराउन भारत सरकारसँग कुराकानी भएको र भारत नेपाललाई चाहिने मल दिन तयार भएको उनले बताए । 
 



  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १८:१२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया