सुर्खेतमा असार ९ गतेदेखि १५ गतेसम्म ११ वर्षमुनिकालाई फाइजर खोप लगाइने

सुर्खेतमा ११ वर्ष कम उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । यही असार ९ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वर्षदेखि ११ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्वको फाइजर खोप लगाइने भएको हो । 

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार जिल्लाका ५ वर्षदेखि ११ वर्षमुनिका ४९ हजार ६१९ जना बालबालिकालाई फाइजर खोप लगाइनेछ । कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले भने, ‘यसका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीलाई तालिम पनि दिइसकिएको छ ।’ 

अहिले असार ९ गतेदेखि १५ गतेसम्म विद्यालयमै बालबालिकालाई खोप लगाइनेछ भने छुटेकालाई अन्तिम दिन स्वास्थ्य केन्द्रमा खोप लगाइने उनले बताए । पहिलो खोप लगाएको २१ दिनदेखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइने उनले जानकारी दिए ।

कार्यालयको तथ्यांकअनुसार जिल्लाको कूल जनसंख्या तीन लाख ६१ हजार ८३५ मध्ये ५ वर्षदेखि ११ वर्षमुनिका बालबालिकाको संख्या ४९ हजार ६ सय १९ रहेको छ । 

पालिकामा के छ अवस्था ?

सुर्खेतको चिंगाड गाउँपालिकामा तीन हजार १६ जना, गुर्भाकोट नगरपालिकामा ६ हजार ६ सय ७५ जना, लेकवेशी नगरपालिकामा चार हजार तीन सय ३८ जना, पञ्चपुरी नगरपालिकामा पाँच हजार चार सय ४७ जना र सिम्ता गाउँपालिकामा चार हजार २४ जना बालबालिकालाई खोप लगाइने कार्यालयले जनाएको छ । 



बराहताल गाउँपालिकामा चार हजार २४ जना, भेरीगंगा नगरपालिकामा ६ हजार ६९ जना, वीरेन्द्रनगर नगरपालिकामा ११ हजार पाँच सय ५२ जना, चौकुने गाउँपालिकामा चार हजार चार सय ७६ जना बालबालिकालाई फाइजर खोप लगाइनेछ । 

तोकिएको उमेर समूहका बालबालिकालाई अनिवार्य रुपमा खोप लगाई रोगविरुद्ध ढुक्क हुन आग्रह गरिएको छ । 



यता, खोप समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले तोकिएको उमेर समूहका बालबालिकालाई खोप लगाउन सम्पूर्ण क्षेत्रले प्रेरित गर्न आग्रह गरेका छन् ।

  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १८:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया