गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस रंगेलीमा ‘भाँडभैलो’ मच्चिएको छ । निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई नेताहरू हराउन लागेको भन्दै ‘भाँडभैलो’ मच्चिएको हो ।
कांग्रेस रंगेली–७ ले पार्टीका महासमिति सदस्यसहित क्रियाशील सदस्यसम्मलाई कारबाहीका लागि सिफारिस गरेको छ । वडा समितिले महासमिति सदस्य बजरंग अग्रवाल, क्षेत्रीय प्रतिनिधि अभिषेक अधिकारी, नरेशकुमार साह, मुन्नाकुमार साह, वडा उप–सभापति नवल प्रसाद गुप्ता, वडा समिति सचिव सगर कुमार साह, कोषाध्यक्ष निरजकुमार साह, क्रियाशील सदस्यहरु रमेश कुमार साह, अशोक कुमार साह, आकाश कुमार साह, मनोजकुमार साह, ओमबाबु साह, रचना श्रेष्ठ, पुनम पौडेल श्रेष्ठलाई कारबाहीका लागि सिफारिस गरेको हो ।
त्यस्तै, पार्टीको अधिकारिक उमेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने राधा मण्डल र सञ्जीव श्रेष्ठलाईसमेत कारबाहीका लागि सिफारिस गरिएको वडा समितिले जनाएको छ । उनीहरूलाई कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाहीको लागि माग गरिएको कांग्रेस रंगेली–७ का वडासभापति महेन्द्रप्रसाद साहले जानकारी दिए ।
निर्वाचनमा कांग्रेसका तर्फबाट मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यका आधिकारिक उम्मेदवारहरूलाई पराजित गर्न भूमिकाका कारण क्रियाशील सदस्य र उमेदवारहरूको निवेदनका आधारमा कारबाहीका लागि सिफारिस गरिएको वडा सभापति साहले बताए ।
उनले कारबाहीका लागि नामसहित वडास्तरबाट, नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई पत्र पठाइएको बताए । कांग्रेसको गढ मानिँदै आएको रंगेलीमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन गरेपनि कांग्रेसले लज्जास्पद पराजय बेहोरेको थियो ।
सो निर्वाचनमा कांग्रेसका कुनै पनि उम्मेदवार निर्वाचित हुन सकेनन् । निर्वाचनमा कांग्रेसहित पाँच दलीय गठबन्धनको तर्फबाट जसपाले ६ नम्बर वडाको एउटा सदस्यबाहेक सवै उम्मेदवार पराजित भएका थिए ।
रंगेलीमा एमाले ६ नम्बर वडामा एउटा सदस्य बाहेक सवै पदमा विजयी भएको थियो । आफ्नै गढ मानिँदै आएको पालिकामा पनि लज्जास्पद पराजय भोगेको भन्दै कांग्रेसका स्थानीय नेता कार्यकर्ता आरोप प्रत्यारोपमा उत्रँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।