यस्ता छन् नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङका योजना

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले सबै पक्षलाई मिलाएर बढ्ने बताएका छन् । 

सोमबार भएको साधारण सभाबाट अध्यक्षमा विजयी भएपछि उनले भने, ‘उहाँहरू पराजित हुनुभएको छैन, उपविजेता हुनुभएको हो । यसलाई स्वभाविक रूपमा लिनुपर्छ । नेपाली फुटबलको विकासका निम्ति उहाँहरूको सुझाव हामी सधैं अपेक्षा गर्छौं । सही सुझावलाई लिएर अघि बढ्नेछौँ ।’

उनले खेलाडी–प्रशिक्षकबीचको विवादबारे पहिलो बैठकबाटै निर्णय गर्ने र एन्फासँग बिग्रेका सबै सम्बन्धहरू सुधार्ने समेत बताए । नेम्वाङ ४५ मत पाउँदै अध्यक्षमा निर्वाचित हुँदा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले ३९ मत प्राप्त थिए ।

एन्फामा निर्वाचित १९ केन्द्रीय सदस्यहरूमध्ये नवनिर्वाचित अध्यक्ष नेम्वाङ प्यानलबाट १२ र शेर्पा प्यानलबाट सात जना छन् । चार जनाले बराबर भोट ल्याएका छन् ।

बराबर मत पाएकाहरूमध्येबाट दुईजना केन्द्रीय सदस्यको टुंगो अर्को साधारण सभाबाट मात्र लगाउने एन्फाले जनाएको छ । 

अध्यक्षमा निर्वाचित भएपछि नेम्वाङले सुनाएका योजना :



बिग्रिएको सम्बन्धलाई सुधार गर्ने

एन्फा र जिल्ला, एन्फा र क्लब तथा एन्फा र खेलाडीबीचको सम्बन्ध राम्रो छैन । फिफा र एएफसीसँगको सम्बन्ध अगाडि लैजानु । सबै बिग्रेको सम्बन्धलाई एउटा माला बनाएर, एकजुट गरेर, सम्बन्ध सुमधुर गरेर मिलाएर अघि लानुपर्छ । यो नै हाम्रो तत्कालिन योजना हो । 



खेलाडी र प्रशिक्षकबीचको विवाद पहिलो बैठकबाटै निर्णय 

खेलाडी र प्रशिक्षकको विवादको पहिलो बैठकबाट हामी निर्णय गर्छौं । छानविनको समितिको प्रतिवेदन छ । त्यसमा बृहत छलफल गर्छौं । हामी सबैसँग छलफल गरेर त्यो समस्या समाधान गर्छौं ।

स्वेतपत्र जारी गर्ने

हामी श्वेतपत्र जारी गर्छौं । चार बर्से कार्यकालमा आर्थिक, प्रशासनिकदेखि लिएर के कति कमजोरी रह्यो त्यसका लागि एउटा समिति बनाएर स्पष्ट रुपमा सबैका सामु ल्याउँछौँ र अघि बढ्छौँ ।

 चुनौतीलाई पन्छाएर अघि बढ्छौँ

चुनौतीहरु अहिले यो कार्यसमितिमै यो साधारण सभामै हामीले अडिट रिपोर्ट पेस गर्न सकेनौँ । अहिले थुप्रै दायित्वहरू हामीसामू छ । त्यसलाई हामी क्रमशः पूरा गर्दै जान्छौं ।

अहिले प्रमुख कुरा भनेको फिफा र एएफसीसँग सम्बन्धित छ । अहिले फिफाको प्रारम्भिक आर्थिक प्रतिवन्ध जस्तै अवस्था छ । त्यसलाई फिफासँग कुराकानी गरेर हामी समाधान गर्न लाग्छौं । एएफसीसँगको सम्बन्ध अगाडि लानुपर्छ ।

एन्फामा भएको विवाद

विवाद भएको थिएन । यसलाई हामीले सही सुझाव दिइराथ्यौं । नेतृत्वले त्यसलाई नलिँदा हामीले नोट अफ डिसेन्ट लेखेका थियौं । आवाज उठाइराथ्यौं । संस्थाप्रति सही सुझाव दिएका मात्र हौं । यसलाई अतिरञ्जित तरिकाले विवाद खडा गर्‍यो भनेर प्रचार गरिएको मात्र होे । हामीले कहिल्यै विवाद खडा गरेनौं । संस्थाका लागि सही सुझाव दिएका हौं ।

साफ च्याम्पियनसिप जित्ने लक्ष्य

हामीले पहिलेदेखि भनेका छौं– हाम्रो कार्यकालमा साफ च्याम्पियनसिप जित्छौँ । ग्रासरुट, युथ, महिलाको कार्यक्रम हुन्छ ती सबै गर्छौं । लिग राम्रो गर्छौं । राष्ट्रिय लिग सुरु गर्छौं ।

एनएसएल

एनएसल बारे तपाईंहरुलाई थाहै छ । केही क्लबहरुको आफ्नो रिजर्भेसन छ, आफ्नो माग छ । एन्फा र एनएसएलको जुन सम्झौता भइराछ केहीमा क्लबको ध्यानाकर्षण भइराछ । हाम्रो पनि ध्यानाकर्षण भइरहेको छ । सबै पक्षहरुसँग छलफल गरेर त्यसको समाधान निकाल्छौं ।

महिला फुटबल एकेडेमी सञ्चालनका लागि पहल 

रौतहटमा महिला फुटबल एकेडेमी सञ्चालन गर्न सकेका छैनौं । त्यसबारे तुरुन्त नयाँ कार्यसमितिले निर्णय गरेर यसलाई सञ्चालन गर्न पहल गर्नेछौं ।

  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १०:३०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया