कोहलपुर–सुर्खेत प्रसारण लाइनलाई वन क्षेत्र प्रयोगको अनुमति
प्रतीकात्मक तस्वीर

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति प्राप्त भएको छ ।

असार ६ गते बसेको संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।
कोहलपुर–सुर्खेत प्रसारण लाइनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोगको अनुमति पाएसँगै अब यस आयोजनाका काम तीव्र रूपमा अघि बढ्ने आयोजना प्रमुख रविकुमार चौधरीले बताउँछन् ।

आयोजना अन्तर्गत जग्गा अधिग्रहण तथा सव–स्टेशन निर्माण प्रक्रियासमेत सुरु भइसकेको छ । आयोजनाले सुर्खेतको भेरीगंगा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र बाँकेको कोहलपुर क्षेत्रमा जग्गा अधिग्रहण कार्य सम्पन्न गरि जग्गा प्राप्ति गरिसकेको छ । 

आयोजना प्रमुख चौधरीले भने, ‘बाँकेको कोहलपुर, सुर्खेतको छिन्चु तथा वीरेन्द्रनगर क्षेत्रमा जग्गा अधिग्रहण प्रक्रिया सम्पन्न भएको छ । बाँकेको केही क्षेत्रमा भने विवादका कारण जग्गा अधिग्रहणको काम केहि समयका लागि ढिला हुने देखिन्छ ।’ 

आयोजना प्रमुख चौधरीका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको १ र ४ नम्बर वडामा जग्गा अधिग्रहणका विषयमा विवाद छ ।

आयोजना प्रमुख चौधरीका अनुसार कोहलपुर र सुर्खेतमा सव–स्टेशन निर्माणका लागि टेण्डर प्रक्रिया समेत अघि बढिसकेको छ । उनले भने, ‘वीरेन्द्रनगर–११ क्षेत्रमा सवस्टेशन निर्माणका लागि टेण्डर प्रक्रिया समेत अघि बढाएका छौँ । अहिले उक्त क्षेत्रमा सव-स्टेशनका विषयमा योजना निर्माणलगायतका काम भइरहेका छन् ।’



यसका साथै कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत् प्रसारण लाइन विद्युत् विस्तार गर्दा १३ हजार ५६ वटा रूख काटिने भएको छ । 

आयोजना क्षेत्रमा पर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र लेकबेँसी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका रूख कटान हुने भएका हुन् ।



कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारका लागि निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले तयार पारेको प्रतिवेदनले कटान हुने रूखको संख्या १३ हजार ५६ रहेको आयोजना प्रमुख चौधरीले बताए । 

‘आरएस इन्फ्राप्रोजेक्ट प्रालिले तयार पारेको प्रतिवेदन सरकारलाई पेस गरिएको थियो । आयोजना क्षेत्रभित्र पर्ने रूख काट्नका लागि सरकारसँग गत महिनामै अनुमति मागेका थियौँ’ उनले भने ।

प्रतिवेदनअनुसार सुर्खेतमा ६ हजार आठ सय २०, बर्दियामा तीन हजार तीन सय २० र बाँकेमा दुई हजार नौ सय १६ वटा रूख कटान हुनेछन् । 

आयोजना अन्तर्गत पर्ने रूख कटान अनुमति आएसँगै आयोजनाको सम्पूर्ण काम तीब्र रूपमा अघि बढ्ने आयोजना प्रमुख चौधरीको भनाइ छ । 

उनले भने, ‘रूख कटान अनुमति आएसँगै काम तीब्र रूपमा अघि बढ्छ । आयोजना अन्तर्गतका पोल निर्माणलगायतका कार्य रूख कटान अनुमतिका कारण रोकिएका थिए ।’

कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत् प्रसारण लाइन विस्तार गर्दा एक सय ६० पोल निर्माण हुनेछन् । तीमध्ये एक सय ३० वटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० वटा पोल व्यक्तिको जग्गामा पर्ने आयोजना निर्माण कम्पनीले जनाएको छ । 

कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत् प्रसारण लाइनको निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपैयाँमा ठेक्का पाएको हो ।

कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत् प्रसारण लाइनका लागि करिव ९९ हेक्टर जमिन टावर निर्माण, सव–स्टेसन तथा क्षेत्राधिकारका लागि आवश्यक पर्नेछ । 

आयोजना अन्तर्गत कोहलपुरदेखि सुर्खेतसम्म रहने कुल एक सय ६० वटामा २६ वटा एंगल टावरहरू निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका अनुसार प्रसारण लाइनले ७० हेक्टर जमिन वनको क्षेत्र ओगट्नेछ । 

यसैगरी १६ हेक्टर खेतीयोग्य जमिन र दुई हेक्टर बाँझो जमिन, तथा ११ हेक्टर अन्य भागले ओगट्ने प्रतिवेदनमा उल्लेख  छ ।

जसमध्ये करिव चार हेक्टर जमिनमा स्थायी रूपमा सव–स्टेसन निर्माणका लागि र तीन हेक्टर टावरको जग निर्माणका लागि अधिग्रहण गरिनेछ भने बाँकी करिव ९२ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गरिनेछ । 

आयोजनाको कुल लम्बाइ करिब ५१.४६२ किमि डबल सर्किटको रहने प्रस्ताव गरिएको छ । हाल सुर्खेतसहित कर्णालीमा ३२ केभिए विद्युत लाइन सञ्चालनमा छ ।

यसअघि सुर्खेतसहित कर्णाली प्रदेशमा १३२ केभिए विद्युत् लाइन विस्तारका लागि ‘कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन’ आयोजनाले काम थालेको थियो । २०४५ सालमा नेपाल विद्युत् प्राधिकरणले सुर्खेतमा १३२ केभिए विद्युतलाई विस्तार गर्ने योजना बनाएको थियो । 

तर, लामो समयसम्म विद्युत् लाइन विस्तारको काम अघि बढ्न सकेको थिएन । झण्डै ३२ वर्षपछि आयोजनाको काम अघि बढेको हो ।

  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १५:३०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया