मकवानपुरमा साढे चार प्रतिशत मात्रैले बुझाए निर्वाचन खर्च विवरण

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भाग लिएका मकवानपुरका १ हजार ९ सय ३१ जना उम्मेदवारमध्ये ८९ जनाले अर्थात् ४.६ प्रतिशत उम्मेदवारले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । 

हेटौंडा उपमहानगरपालिकाको मेयर पदको १८ जना उम्मेदवारमध्ये ६ जनाले मात्रै खर्च विवरण बुझाएको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिकामा प्रमुख पदमा १८ जना सहित ३८७ जना उम्मेदवार थिए ।

निर्वाचनमा उम्मेदवार बनेर विजयी भएकाहरुले खर्च विवरण बुझाउनमा झनै अरुचि देखाएको देखिएको छ । कार्यालयका अनुसार मकवानपुर जिल्लाको १० स्थानीय तहहरु मध्ये स्थानीय तहको प्रमुख पदमा विजयी भएका २ जनाले मात्रै आफूले निर्वाचनको क्रममा भएको खर्चको विवरण निर्वाचन कार्यालयलाई उपलब्ध गराएका छन् ।

मकवानपुरगढी गाउँपालिकामा अध्यक्ष विजयी भएका दोर्जे लामा स्याङतान र राक्सिराङ गाउँपालिकामा अध्यक्ष विजयी भएका राजकुमार मल्लले खर्च विवरण बुझाएका हुन् । 

अन्य ८ स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा विजयी भएकाहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्लाको १० स्थानीय तहमा प्रमुखको पदमा मात्रै ७३ जनाको उम्मेदवारी थियो जसमा २ विजयी सहित १५ जनाले मात्रै विवरण पठाएका छन् ।

निर्वाचन कानुन अनुसार निर्वाचन खर्चको विवरण पेस गर्नु पर्ने दायित्व भएको राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले तीस दिनभित्र तोकिएको ढाँचामा आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने हुन्छ । 



तर, मकवानपुरमा विवरण बुझाउने अन्तिम मितिसम्म जम्मा ४ प्रतिशतले मात्रै आफ्नो खर्च विवरण बुझाएका हुन् ।



  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १८:१४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया