अस्ट्रेलियाविरुद्वको एकदिवसीय सिरिज घरेलु टोली श्रीलंकाले हात पारेको छ । कोलम्बोमा गएराति भएको चौथो खेलमा चार रनको रोमाञ्चक जित निकाल्दै श्रीलंकाले पाँच खेलको सिरिज एक खेल अगावै जितेको हो ।
२५९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५४ रन मात्र बनाउन सक्यो । उसका डेविड वार्नरले ९९ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ११२ बलमा १२ चौका प्रहार गरे ।
प्याट कमिंसले ३५, ट्रभिस हेडले २७ र मिचेल मार्शले २६ रन जोडे । श्रीलंकाका लागि चामिका करुणारत्ने, धनन्जय डि सिल्भा, जेफ्री वान्डरसेले दुई/दुई, महेश थिक्शणा, दुनिथ वेललागे, वानिन्दु हसरंगा र दासुन शनाकाले एक/एक विकेट हात पारे ।
त्यसअघि आर प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २५८ रन बनाएको थियो । उसका लागि चारिथ अस्लंकाले शतकीय तथा धनन्जय डि सिल्भाले अर्धशतकीय पारी खेले ।
१०६ बलको सामना गर्दै ११० जोडेका अस्लंकाले १० चौका र एक छक्का प्रहार गरे । सिल्भाले ६१ बलमा सात चौकासहित ६० रन बनाउँदा वानिन्दु हसरंगा २१ रनमा अविजित रहे ।
अस्ट्रेलियाका लागि मिचेल मार्श, प्याट कमिन्स र म्याथ्यू कुहनेमनले दुई/दुई तथा ग्लेन म्याक्वेलले एक विकेट हात पारे । यो जितसँगै श्रीलंकाले सिरिजमा ३–१ को अग्रता लिएको छ । पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।