हिन्दू ‘सौभाग्यको प्रतीक’ उत्पादन गर्ने मुसलमानको बजार
तस्वीर: युवराज भट्टराई

काठमाडौं– मान्छेको हुलले कहिल्यै छोड्दैन असन बजारलाई । काठमाडौंवासीको पुरानो किनमेल थलो हो असन । घरायसी सामग्रीदेखि शृंगारका सामान किन्न अधिकांश काठमाडौंवासी असनवरपरको बजार नै रोज्छन् । असननजिकै इन्द्रचोकमा एउटा अर्को बजार छ । बेहुलीजस्तै झकिझकाउ इन्द्रचोकाको कस्मिरी बजार रंगीविरंगी पोतेहरुले सजिएको छ ।

इन्द्रचोकको कस्मिरी पोते बजार मल्लकालदेखि चलिआएको मानिन्छ । इतिहास हेर्दा मल्लकालीन समयमा भारतबाट नेपालमा व्यवसाय गर्न आएका मुसलमानहरुले पोते बनाउँन सुरु गरेका हुन् । यो बजारसँग नेपाल आएर व्यवसाय गरेका मुसलमानहरुको ३०० वर्षको इतिहास जोडिएको छ । व्यवसाय राम्रोसँग चलेपछि उनीहरु यतै बस्न थाले । पुस्तौँदेखि चलिआएको बजार अहिले पनि उत्तिकै चलेको देखिन्छ । अहिले कस्मिरी बजारमा रहेका अधिकांश पसल पाते बनाउने पुर्ख्यौली पेसालाई अनुशरण गर्दै नयाँ पुस्ताले चलाएका छन् । कस्मिरी बजार असनजत्तिकै पुरानो मानिन्छ ।

हिन्दू धर्मग्रन्थहरुका अनुसार पोतेको आफ्नै महत्व छ । कुमारी कन्या बिहे गरेर वरको घर जाँदा बढ्ने जिम्मेवारी, कुमारित्व भंग हुँदा हुने शारीरिक तथा मानसिक पीडालाई कम गर्न पोते लगाउने संस्कार रहेको हिन्दू धर्मग्रन्थका जानकार बताउँछन् । पोते लगाउँदा शीतलता प्राप्त हुने तथा विवाह मंगलकार्य भएकाले मंगलकारक सूत्रको रुपमा पोते लगाउने प्रचलन हिन्दू समुदायमा चलिआएको छ ।

हिन्दू समुदायमा निकै महत्वका साथ लिइने पाते कस्मिरी बजारका मुसलमानले बनाउँछन् । मुसलमान समुदायमा भने पोतेको कुनै प्रयोग छैन । 

सदिऔँदेखि पोतेको लागि प्रसिद्ध इन्द्रचोकमा अहिले ५०/५३ वटा पसल रहेको बताउँछन् इन्द्रचोकमै पोते पसल चलाइरहेका नरसिम खान । रोजगारीका लागि विदेश पसेका उनी फर्किएर पुख्र्यौली पेसालाई नै अंगाल्दै पोते बनाउने व्यवसायमा लागेका हुन् । उनी भन्छन्, ‘३ वर्ष दुबईमा काम गरेँ । त्यसपछि, बाबुबाजेले गरेको पोते बनाउने काममा लागेको हुँ ।’

एकजनाले दैनिक चारदेखि पाँचवटासम्म पोते बनाउन सक्ने उनी बताउँछन् । ‘कति लुङको पोते बनाउने, त्यसले पनि फरक पार्छ,’ उनी भन्छन् ।



हिन्दू महिलाले ‘सौभाग्यको प्रतीक’को रुपमा लगाउने पोते बनाउनेमा अधिकांश मुसलमान रहेको बताउँछन्, नरसिम । उनी भन्छन्, ‘मुसलमानहरुले नै थालेको बजार हो । अहिले केही पसल अन्य समुदायका पनि छन् । तर, सबैजसो पोते भने मुसलमान नै बनाउँछन् ।’

तस्वीर: युवराज भट्टराई/फरकधार



पोतेको मूल्य २० रुपैयाँदेखि सुरु हुने बताउँछन्, इन्द्रचोकका अर्का व्यापारी अब्दुल खान । ‘आयातित समानको गुणस्तर अनुसारको मूल्य हुन्छ,’ उनी भन्छन्, ‘२० रुपैयाँदेखि २००/३०० सम्मका पोते छन् ।’

कस्मिरी बजारका अधिकांशले खुद्रामै पोते बेच्ने गरेका छन् । केही भने होलसेल पनि गर्छन् । अब्दुलका अनुसार अधिकांश पोतेको खपत यही बजारबाटै हुन्छ । उनी भन्छन्, ‘यहाँ बनेका पोतेले नै सिजनमा बजार धान्न सक्दैन । धेरै कामदार राखेका पसलबाट भने बाहिर पनि होलसेलमा पोते बेच्ने गरेका छन् ।’

सिजनमा मात्र नभई अन्य महिनामा पनि पोतेको खपत राम्रै हुने गरेको नरसिम बताउँछन् । ‘सिजनको समयमा भने निकै खपत हुन्छ,’ उनी भन्छन्, ‘उत्पादनले माग धान्नै गाह्रो हुन्छ ।’ साउन महिनामा सबैभन्दा धेरै पोते खपत हुने उनी बताउँछन् । साउनसँगै मंसिर महिनामा पनि बढी खपत हुने गरेको छ । हिन्दू परम्पराअनुसार महिलाका मुख्य चाड साउनमा भएकाले पोतेको खपत पनि साउनमै ज्यादा हुने गरेको छ । 

तर, पोते बनाउँन चाहिने सामग्री भने नेपालमा बन्दैन । अब्दुलका अनुसार आयातित सामग्रीलाई धागोमा उन्ने काम मात्र कस्मिरी बजारमा हुन्छ । उनी भन्छन्, ‘जापान, चीन तथा चेक रिपब्लिक लगायतबाट सामग्री आयात हुन्छ ।’

एकातिर हिन्दू संस्कृतिको अभिन्न अंग मानिने पोते मुसलमानले बनाउने गरेका छन् भने अर्कातिर पोतेको लागि चाहिने सामग्री क्रिचियन मुलुकमा उत्पादन हुने गरेको अब्दुल बताउँछन् । उनी भन्छन्, ‘क्रिचियनले बनाएको सामग्रीलाई मुसलमानले तयार गर्छन् र हिन्दूले प्रयोग गर्छन् ।’
 

  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार १:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया