यस्ता छन् एन्फा अध्यक्ष नेम्वाङका चुनौती

चार वर्षअघि सुशासन, सामूहिक निर्णय–नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित ‘चेन्ज एन्फा’ को नाराबाट कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङसहितको समूह अखिल नेपाल फुटलब संघ (एन्फा) को नेतृत्वमा आयो । यस समूहले दुई दशकदेखि एन्फाको शासन सत्ता चलाइरहेका गणेश थापा र उनको समूहलाई ढालेको थियो । 

यसपछि एन्फाको नेतृत्वमा आयो कर्माछिरिङ र पंकज विक्रमको समूह । सामूहिक नेतृत्व र आर्थिक पारदर्शितासहित विभिन्न नारा बोकेको यो समूह आन्तरिक द्वन्द्व र स्वार्थगत राजनीतिमा डुब्दै दुई समूहमा ध्रुवीकरण भयो । 

एकै समूहबाट नेतृत्वमा आएको यस टिम चार वर्ष पनि टिक्न सकेन र अन्त्यमा एक अर्कालाई उक्काउन लाग्यो । उपाध्यक्ष भएको एक वर्षपछि मात्रै विभिन्न लडाइँका साथ वरिष्ठ उपाध्यक्ष पाएका पंकजविक्रम नै एन्फा अध्यक्षमा प्रत्यासी रहे । 

अन्त्यमा कर्माको चिरप्रतिद्वन्द्वी बन्दै एन्फामा पंकजको ​उदय भयो । गत सोमबार (६ असार) मा भएको एन्फाको साधारणसभामा नेतृत्व चयनका लागि भएकाे चुनावमा ६ मतले कर्मालाई पछि पार्दै एन्फाको नयाँ अध्यक्षको रुपमा पंकज निर्वाचित भए । 

कर्मा सत्तामा रहँदा नेतृत्वलाई असहयोग गर्दै आएका, नोट अफ डिसेन्ट बुझाउँदै आएका पंकजलाई अबको चार वर्षे कार्यकालमा एन्फा हाँक्न पक्कै सहज हुने छैन । कर्माकै भाषामा असहयोग गर्दै आएका पंकजलाई गर्नुपर्ने काम र चुनौतीका ठूला चाङ छन् । 

खेलाडी-प्रशिक्षक विवाद, नेपाल सुपर लिग (एनएसएल) र असन्तुष्ट ए डिभिजन लिग क्लब विवाद, रोकिएको राष्ट्रिय लिग, नियमित र व्यवस्थित सहिद स्मारक लिग, रौतहटमा रोकिएको महिला एकेडेमी, कास्कीको भेडाबारीमा टेण्डर आह्वान गरिसकेको बहुउद्देश्यीय खेलग्राम, फिफाले एन्फालाई गरेको आर्थिक नाकाबन्दी लगायत निकै चुनौती छन् ।



यी त भए देखिने चुनौती, अझ भित्रीरूपमा हेर्ने हो भने यहाँ क्लब, जिल्लाको बिग्रिएको सम्बन्ध सुधार गर्नुछ । कहिले विदेश भ्रमण त कहिले भत्ताका विषय, यसले समेत समूहबीच नै टकराव ल्याउन सक्छ । अझ एन्फामा हुने विभिन्न योजना आफ्नो र आफू अनुकूलको टेण्डर पार्न सबैभन्दा धेरै हानथाप र लडाइँ हुने गर्दछ । 

एन्फाको अध्यक्ष निर्वाचित भएसँगै नेम्वाङले कर्मा टिम पराजय नभएको र उपविजेता भएको प्रतिक्रिया दिएका थिए । यस्तै उनले फिफाको आर्थिक प्रतिबन्ध फुकुवा गर्नु, एन्फा र जिल्लाबीच बिग्रिएको सम्बन्ध बनाउनु आफ्नो चुनौती रहेको बताएका छन् । 



‘एन्फा र जिल्लाबीचको सम्बन्ध राम्रो छैन । सबै बिग्रिएको सम्बन्धलाई एउटै मालामा एकजुट भएर सम्बन्ध बनाउने छौं ।  हामी अहिले फिफाको प्रारम्भिक आर्थिक प्रतिबन्धमा छौं, त्यसलाई फिफासँग कुरा गरेर समाधान गर्नेमा लाग्छौं,’ ५१ वर्षीय नेम्बाङले भनेका छन् । 

यस्तै उनले एनएसएलमा केही क्लबको रिजर्भेसन रहेको र केही बुँदामा ध्यानाकर्षण भएकाले त्यसलाई छलफल गर्ने समाधान निकाल्ने बताएका छन् । 

सोमबार भएको निर्वाचनमा पंकज समूहले ‘क्लिन स्विप’ भने गर्न असफल भयो । यद्यपि कार्यसमितिमा बहुमत भने बनाएको छ । अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, चारमध्ये तीन उपाध्यक्ष आफ्नै समूहबाट पाएको छ । यस्तै ६ सदस्यमा समेत पंकज समूहका नै छन् । 

अब, आफ्नो समूह र पराजित कर्मा समूहलाई मिलाएर अगाडि बढ्नु पंकजका लागि ठूलो चुनौतीको विषय छ । 

  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १३:३७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया