पुस्तक विमाेचनमा प्रचण्डकाे मन्तव्य : संघर्षको अर्को नाम नै जीवन हो


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघर्षको अर्को नाम नै जीवन भएको र मानिस संघर्षबाटै सफल हुने बताएका छन् ।

आइतबार दिउँसो नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको पुस्तक विमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । आफूले अब १० वर्ष सक्रिय राजनीति गर्ने भन्दै प्रचण्डले  त्यो समय जनताको समृद्धिकै लागि व्यतीत गर्ने बताए ।

कार्यक्रममा साहित्यकार बाबा बस्नेतको खण्डकाव्य ‘सेतो फरियो’को विमोचन गरिएको थियो । सो अवसरमा समाजका विविध क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो ।

यस्तो छ, प्रचण्डले कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश :

साहित्यकार, संगीतकार तथा लेखकको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको छ । एउटा मान्छेले निष्ठाका साथ आफूलाई समर्पित गर्दै लग्यो भने तमाम प्रतिकूलताहरु हुँदाहुँदै पनि प्रगति गर्न सक्दोरहेछ । जसले  राष्ट्रका लागि ठूलो योगदान दिन सक्दो रहेछ भन्ने कुरा बाबा बस्नेतको सक्रियताले देखाएको छ । म उहाँलाई विशेष रुपले धन्यवाद भन्न चाहन्छु । शुभकामना व्यक्त गर्न चाहन्छु । कुनै पनि काममा निरन्तर लागिरह्यो भने राष्ट्रलाई प्रभावित पार्न सकिन्छ र समाजका लागि योगदान गर्न सकिन्छ भन्ने प्रेरणा बाबा बस्नेतले दिनुभएको छ । 

आज विमोचित सेतो फरिया साहित्यिक र सौन्दर्य चेतको हिसाबले साहित्य जगत्मा ल्याएको म महसुस गर्दछु । तर, यो नेपाली समाजमा महिलाहरुले भोगेका प्रतिरोधको एउटा राम्रो अपिल पनि हो । यो महिला सशक्तीकरण र महिला अधिकारका निम्ति र महिला मुक्तिका लागि उहाँले गरेको एउटा ठूलो योगदान हो भन्ने म ठान्छु । हामी महिलामुक्तिको नयाँ ठाउँमा पनि छौँ । गणतन्त्र मञ्च र बाबाजीले जे मिहिनेत गरिरहनुभएको छ, त्यसले महिलामुक्ति र समग्र परिवर्तनकै आन्दोलनमा योगदान गरेको छ ।



अब देशमा राजनीतिक रुपमा ठूलो समस्या छैन । सरकार पनि दुईतिहाइको छ, बलियो छ । राजनीतिक स्थायित्व छ । एजेन्डा पनि सबैले भन्ने गरेको विकास र समृद्धि नै हो । तर पनि दीगो रुपमा स्थायित्व भयो भन्ने ठाउँमा हामी छैनौँ । यो राजनीतिक परिवर्तन जबसम्म साहित्यिक, सांस्कृतिक रुपले भावात्मक रुपान्तरण हुँदैन, तबसम्म राजनीतिक परिवर्तन दीगो हुँदैन । साहित्य त्यस्तो साधन हो, जसले मानिसहरुलाई सामथ्र्य प्रदान गर्छ, उसको अन्तरहृदयमा तरंग पैदा गरेर एउटा नयाँ संस्कार दिने, नयाँ शक्ति प्रदान गर्ने, भावनात्मक रुपले नै अर्को ठाउँमा पुर्याउने भूमिका खेल्छ ।

जबसम्म राजनीतिले साहित्यलाई, संस्कृतिलाई, कलालाई, संगीतलाई भावात्मक गति दिन सक्तैन, तबसम्म राजनीतिक परिवर्तन लर्खराउने र ढल्ने खतरा भइरहन्छ । त्यस अर्थमा बाबा बस्नेतको सेतो फरिया र म आफैँले नेतृत्व गरेको आन्दोलनको केन्द्रविन्दुमा महिलामुक्तिको कुरा थियो, र छ । त्यो पनि हजारौँ गाउँका महिलाले बलिदान गरेका छन् । चुलोचौकामा कैद भएका महिलाहरु समाज रुपान्तरणका निम्ति भनेर बन्दुक लिएर युद्धमा होमिनु भनेको सानो कुरा होइन । 



नेपालको राजनीतिक आन्दोलनमा निकै ठूलो बलिदानी भयो, हजारौँ हजारको संख्यामा । दुई/चार सय होइन, १५/१७ हजारको बलिदानी हुनु सामान्य कुरा होइन, त्यो बलिदानीमा मुख्यतः पिँधमा पारिएका जाति, लिंग र समुदायका मान्छे थिए । तिनीहरुको योगदानबाट देशमा परिवर्तन भयो । यो तथ्य हामीले बिर्सनै मिल्दैन, यो सामान्य संघर्षबाट प्राप्त गरेको चिज होइन ।

अहिले महिलाहरु चुलोचौकोबाट उठेर नीतिनिर्माणको तहमा छन् । ‘बिथ फाइभ’ (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामूख) मध्ये ‘बिग थ्री’ महिला भएको इतिहास हामीसँग छ । यो सामान्य बल र संघर्षले भएको होइन ।

हामीले नेपालमा ठूलो सशस्त्र क्रान्तिको नेतृत्व गर्यौं । संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक मान्यताजस्ता मुद्दालाई स्थापित गर्यौं । अबको हाम्रो मिसन समृद्धि हो, समृद्धि मुखले भन्ने कुरा मात्र होइन, त्यो जनताको जीवनमा देखिनुपर्छ । जनताको जीवनमा परिवर्तन आउनुपर्छ । हामीले जनताको जीवनमा परिवर्तन ल्याउन सकेनौँ भने कम्युनिस्टको के काम ? हामी कम्युनिस्ट हौँ, समानताका पक्षधर हौँ भनेर मात्र हुनेवाला छैन, त्यो परिवर्तन जनताको जीवनमा देखिनुपर्छ । कम्युनिस्टहरु सत्तामा पुगेपछि जनताको जीवन बदल्न नसकेका घटनाबाट हामीले पाठ सिक्नुपर्छ ।

म नै त्यस्तो पात्र हुँ, जसले सशस्त्र युद्धको पनि नेतृत्व गरेँ, हजारौँ मानिसहरुले हाँसीहाँसी बलिदानी गरे । मेरै नेतृत्वमा देशमा शान्तिप्रक्रिया सफल भयो, त्यो पनि विश्वलाई सन्देश दिने सफल शान्तिप्रक्रिया । सशस्त्र युद्धको नेतृत्व गरेको पार्टी चुनावमा पनि ठूलो पार्टी बन्यो, म आफैँ प्रधानमन्त्री भएँ, म आफैँले संविधाननिर्माणको नेतृत्व गरेँ । मेरै नेतृत्वमा संविधान कार्यान्वयन हुने वातावरण बन्यो । हिमाल, पहाड र मधेसबीच सुदृढ एकता कायम गरेर हामी निर्वाचनमा गयौँ । यो सामान्य कुरा होइन ।

अहिले हामी ठूलो वामपन्थी दलका रुपमा सरकारमा छौँ । जनताले हामीबाट ठूलो अपेक्षा गरेका छन् । अहिले समृद्धिको नेतृत्व गर्ने जिवम्मेवारी पनि हाम्रै काँधमा आएको छ । मैले सार्वजनिक रुपमै भनेको छु, ‘अबको सम्पूर्ण जीवन समृद्धिका निम्ति खर्चिन्छु, जनताको जीवनमा परिवर्तन ल्याउन खर्चिन्छु ।’ यो मेरा लागि अवसर र चुनौती दुवै हो । आखिर संघर्षको अर्को नाम नै जीवन हो, सम्भवतः अबको १० वर्ष नै मेरो सक्रिय राजनीतिको अवधि हुनेछ, त्यो समय समृद्धिमै लगाउँछु ।
 

  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार २१:२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया